कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कतार जानुअघि कामदारको हातमा सक्कली करारपत्र

भिसा पाइसकेका कामदारको मेडिकल र फिंगरिङ काठमाडौंमै हुने
होम कार्की

काठमाडौं — कतार पुग्नुअघि नै सक्कली करारपत्र कामदारको हातमा पार्ने व्यवस्था हुने भएको छ । करारपत्रका साथै आवासीय अनुमति (कतारी परिचयपत्र) कामदारलाई दिलाउने गरी कतारको आन्तरिक मन्त्रालयले आइतबार एक सिंगापुरे कम्पनीलाई जिम्मा लगाएको छ ।

यो कम्पनीले कतारमा कामदार पठाउने नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, टयुनिसिया र फिलिपिन्समा आफ्नो कार्यालय स्थापना गरी सहजीकरण गर्नेछ । कतार जाने विदेशी कामदारमा ८० प्रतिशत यिनै देशबाट जाने गरेका छन् । 

‘चार महिनाभित्र श्रीलंकामा सुरु हुन्छ,’ कतारको राहदानी विभागका महानिर्देशक बिग्रेडियर मुहम्मद अहमद अल अटिकले भने, ‘त्यसपछि बाँकी ७ देशमा सुरु हुन्छ ।’ यो व्यवस्था लागू भएपछि कानुनको फाइदा उठाउँदै कामदारलाई छल गर्ने कतारका कम्पनीहरू बञ्चित हुनेछन् । अहिले नेपालमा श्रम स्वीकृति लिएर कतार पुग्ने कामदारसँग सक्कली करारपत्र साथमा हुँदैन । म्यानपावरले दिएको करारपत्र कतार पुग्नसाथ कम्पनीले लिइदिने र भिसा लगाउने वेला अर्को करारपत्रमा जबर्जस्ती हस्ताक्षर गराउने चलन छ । त्यसले गर्दा नेपालमा भनिएको तलब र सुविधा फरक पर्छ ।

मेडिकल परीक्षण र फिंगरिङ (औंलाको छाप लिने) काठमाडौंमै गर्ने व्यवस्थाले अनुपयुक्त र कालोसूचीमा परेका कामदार कतार जानबाट रोकिनेछन् । अहिले कतारमा मेडिकल जाँच गर्दा नेपालमा ‘मेडिकल फिट’ भएर गएकाहरू ‘अनफिट’ भई फर्किरहनुपरेको छ । यसरी फर्केका कामदारहरू म्यानपावर तथा स्वास्थ्य परीक्षण संस्थाबाट क्षतिपूर्ति लिनबाट वञ्चित हँुदै आएका छन् । 

त्यस्तै फिंगरिङमा फेल भएकाहरू पनि कतारबाट फर्किनुपर्ने अवस्था छ । कतारमा गैरकानुनी ढंगले बसेका वा गैरकानुनी काममा संलग्न भई डिपोर्टमा परेकालाई कतारले पुन: आवासीय अनुमति दिने गरेको छैन । बिग्रेडियर अटिकले आवासीय अनुमति लिनका लागि कम्पनीले सहजीकरणको मात्रै काम गर्नेछ । ‘कतार आउनुअघि नै आवासीय अनुमतिको सबै प्रक्रिया स्रोत देशमै पूरा हुन्छ,’ उनले भने, ‘यो प्रक्रिया कामदारको हित र उनीहरूको अधिकार सुरक्षित गर्ने पक्षमा छ । यो प्रक्रिया सकेर कतार आउनासाथ कम्पनीले काम दिनुपर्छ । पहिलो महिनाको तलब नै बैंकबाट भुक्तानी गर्नुपर्छ ।’ 

कतारले नेपालसँग सहजीकरणको लागि काम सुरु गर्ने विषयमा अनुमति लिइसकेको छैन । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले सहजीकरणको विषयमा विस्तृत जानकारी दिइनसकेको बताए । ‘नेपालसहित ८ एसियन देशमा सहजीकरण गर्ने विषय मिडियामा आएको छ । केही दिनअघि कतारी निकायसँग भेट हुँदा सामान्य छलफल भएको थियो,’ कोइरालाले कान्तिपुरलाई भने, ‘हामीलाई पूर्ण एक्सन प्लान दिएको छैन । 

प्रकाशित : मंसिर ५, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?