कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तल्लो सेतीको अध्ययन सुरु

प्रताप रानामगर

दमौली — ऊर्जा मन्त्रालयबाट तीन साताअघि सर्वेक्षण अनुमति लिएको तल्लो सेती तनहुँ जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । प्रस्तावित १ सय ५ मेगावट क्षमताको उक्त आयोजनाको जाइकाको प्राविधिक टोलीले स्थलगत अध्ययन अवलोकन गर्दै सर्भेको काम सुरु गरेको हो ।

न्युजेक्क परामर्शदाताको ६ जनाको प्राविधिक टोलीले प्रारम्भिक स्थलगत अध्ययन गरेको तनहुँ हाइड्रो पावर लिमिटेडका उपप्रबन्धक श्यामजी भण्डारीले बताए ।

‘टोलीले आयोजनाको बाँध रहने स्थल, भौगर्भिक बनोट, वातावरणीय तथा सामाजिक क्षेत्रमा पार्ने प्रभावबारे सामान्य अध्ययन गरेको छ,’ उनले भने, ‘बाँध र पावरहाउसको किसिम, उचाइ, आयोजनाको दूरी र सम्भाव्यताबारे पनि सर्भे गरेपछि प्रतिवेदन तयारी गरिनेछ ।’ परामर्शदाताको प्राविधिक टोलीले प्रारम्भिक अध्ययनको प्रतिवेदन दिइसकेपछि विस्तृत सर्भेको काम अगाडि बढ्ने उनले बताए ।

विस्तृत सर्भेबाट आयोजनाको कुल लागत, बाँधको किसिम, वातावरणीय तथा सामाजिक प्रभावलगायतबारे अन्तिम प्रतिवेदन तयार पारिनेछ ।

सर्भे अनुमतिपत्र लिएको मितिले ढिलोमा दुई वर्षभित्र आयोजनाको विस्तृत सर्वेक्षण प्रतिवेदन तयार पारिसक्ने आयोजनाले जनाएको छ ।

तनहुँ हाइड्रोपावरको पावरहाउसबाट निस्कने पानी र मादी नदीको पानीलाई सदुपयोग गरी तल्लो सेती जलविद्युत् आयोजना निर्माण गरिनेछ । टेल रेसबाट लगभग १८ किलोमिटर दूरीको तल तल्लो सेती जलविद्युत् आयोजनाको बाँध बनाउने प्रस्ताव छ ।

तल्लो सेती आयोजनाको बाँध हाल निर्माणाधीन तनहुँ हाइड्रोपावरको विद्युत्गृहबाट करिब २० किमि तल्लो तटीय क्षेत्रमा पर्ने केशरटारमा हुनेछ । उक्त स्थान त्रिशूली र सेती नदीको दोभानभन्दा करिब १९ किमि माथिल्लो तट तथा चितवनको नारायणगढबाट करिब ३३ किमिको दूरीमा पर्छ । प्रस्तावित आयोजनाबाट वार्षिक करिब ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको अनुमानित लागत करिब २२ करोड अमेरिकी डलर छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?