मतदाता हिँडे रोजगारी खोज्न

भीमबहादुर सिंह

जाजरकोट — पहिलो चरणको निर्वाचन नजिकिँदै गर्दा दलका नेता कार्यकर्ता र उम्मेदवारलाई भोट बटुल्न आमसभा, बैठक र घरदैलो गर्न भ्याई नभ्याई छ । उनीहरू भोट माग्न विकट गाउँगाउँ पुगेका छन् । तर, गाउँका मतदाताले भने रोजगारी खोज्न जिल्ला छाड्ने गरेका छन् । रोजगारको अवसर नहुँदा मतदाताले कमाइका लागि जिल्ला छाड्न बाध्य भएका हुन् ।

चुनावकै मुखमा जिल्लाका विभिन्न गाउँबाट ५ हजारभन्दा बढी मतदाता रोजगारीको लागि बाहिरिएको एमाले श्रम तथा रोजगार विभाग सचिव निरज आचार्यले बताए । रोजगारका लागि यहाँका अधिकांश युवायुवती भारत, मलेसिया, कतार, अरबलगायत देशमा धाउने गरेको सचिव आचार्यले बताए । यतिबेला स्थानीय बासिन्दा कमाइ गर्न भारत र नेपालकै सिन्धुपाल्चोक, रामेछाप, नुुवाकोटलगायत जिल्लातर्फ गएको उनले बताए । भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, छेडागार नगरपालिकाका मतदाता रोजगारी खोज्न जिल्ला बाहिर गएको आचार्यले बताए ।

स्थानीय तहको भन्दा आगामी १० गते हुने निर्वाचनमा कम मत खस्ने देखिएको उनले बताए । ‘स्थानीय तहको चुनावमा ७१ प्रतिशत मत खसेको जाजरकोटमा आगामी निर्वाचनमा ६५ प्रतिशत नपुग्ने देखिन्छ,’ उनले भने । चुनावी मैदानमा उत्रिएका उम्मेदावरले मतदातालाई चुनावका लागि रोक्न नसकेको उनले बताए ।

गाउँघरमा रोजगारी नहुँदा रोजीरोटीको गुजारा गर्न जिल्ला बाहिर जान लागेको त्रिवेणी नलगाड नगरपालिका ५ का जनक खत्रीले बताए । ‘चुनावमा भोट हाल्न कुर्दा उल्टै रोजीरोटी हराउँछ । काम खोज्न नगए घरपरिवारलाई कसरी पाल्ने ? खेतीपातीले ३ महिना खाना पुग्दैन,’ खत्रीले भने । काम पाउने सिजन भएकाले हतारहतारमा भारतको सिम्ला जान लागेको उनले बताए । ‘नेतालाई भोट हालेर मात्र के गर्नु ? गरिबका लागि हुने केही छैन । भोट हालेर जितेदेखि नेताको अनुहार देख्न पाउँदैन,’ उनले भने, ‘नेताहरू जनताको मतले पदमा पुग्छन् । तर, जनताका लागि केही गर्दैनन् ।’ भोट हाल्न कुर्नुभन्दा काम पाइने ठाउँमा जाँदा फाइदा हुने उनले बताए ।

चुनावको मुखमा रोजगारीका सिलसिलामा जिल्ला बाहिर जानेको संख्या बढेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । गत कात्तिक दोस्रो सातादेखि जाजरकोटबाट दैनिक २ सयभन्दा बढीका दरले रोजगारीका लागि बाहिरिने गरेको निरीक्षक अवस्थीले बताए । विगतका चुनाव जितेर पदमा पुगेका नेताले ठूला आयोजनाको निर्माण, उद्योग स्थापना, कृषिमा आधुनिकीकरण गर्नेलगायत कार्यमा ध्यान नदिँदा बेरोजगारी बढेको उनले बताए । यस जिल्लाका ९/१० देखि स्नातकोत्तरसम्मका विद्यार्थी पनि भारतीय बजारको कमाइबाट पढाइ खर्च जुटाउन बाध्य भएको उनले बताए । अविकास, गरिबी र परम्परागत कृषि प्रणालीका कारण बेरोजगारी बढेको आचार्यको भनाइ छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?