‘खेती–किसानीले जीवन धान्नै गाह्रो’

देवनारायण साह

मोरङ — विराटनगर १४ का शंकर यादव ४ बिघा खेत जोत्छन् तर खेतीबाट भएको आम्दानीले छोराछोरीलाई उच्च शिक्षा पढाउने सामथ्र्य छैन । वृद्ध आमाबुवाको राम्ररी स्वास्थ्योपचारसमेत गराउन नसक्ने अवस्था उनको छ ।


‘खेतीबाट भएको आम्दानीले छोराछोरीलाई उच्चतहसम्म पढाउनु भनेको सपना मात्रै हो,’ उनले भने, ‘आकासे–पानीको भरमा खेती गरेर बर्सेनि खडेरी नै भइरहेको छ, त्यसमा पनि समयमा कृषि मल, गुणस्तरीय बीउबिजन, कृषि मजदुरको अभावले किसानको समस्या विकाराल छ ।’
धन, गहुँको खेती गर्ने किसान बर्सेनि घाटा व्यहोर्दै आएका छन् । ‘खेत जोताइ, बीउ, मल, मजदुर गरेर धान खेती गर्न प्रतिकट्ठा २ हजार २ सय लगानी गरेपछि धेरैमा २५ सयसम्मको २ देखि अढाइ मन धान फल्छ,’ उनले भने, ‘खडेरी हुँदा किसानको लगानी पनि डुब्छ । त्यसैलै सिँचाइको प्रभावकारी व्यवस्था हुनुपर्छ ।’ उनले यसरी खेती गरेर किसानको कहिल्यै पनि प्रगति नहुने भएकाले वैज्ञानिक तरिकाले व्यावसायिक खेती प्रणाली लागू गर्ने उम्मेदवारलाई यसपालि आफूहरूले भोट दिने बताए । 
यस्तै रतुवामाई ६ का किसान मित्रलाल पौडेलले मुलुकमा सबभन्दा विकराल समस्या किसानकै भएको बताए । ‘मल, उन्नत बीउ, सुलभ ब्याजदरमा सहज तरिकाले ऋण, उपकरण र तालिम केही किसानले पाइरहेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा किसानको यो मुलुकमा मर्नु नबाँच्नुको अवस्था कसैले बुझ्न सकेको छैन ।’ सरकारले बर्सेनि कृषिमा बजेट पनि बढाउँदै लगेको छ तर त्यो किसान लक्षित छैन । सरकारी बजेटमा कृषि माफियाहरूको मात्रै पहुँच रहेको उनले गुनासो पोखे । 
जिल्ला कृषि विकास कार्यालयहरूमामार्फत यसअघि दिँदै आएको सेवा सुविधा कर्मचारीलाई घूस नदिएसम्म कुनै पनि किसानले नपाएको उनले सुनाए । ‘किसानलाई ठूलो समस्या परेपछि जग्गा बिक्री गरेर समाधान गर्नुको विकल्प हुँदैन तर त्यो बिक्री गर्न पनि अड्डा अदालतमा घूस नदिई नहुने अवस्था छ,’ उनले भने, ‘यी यस्ता किसानको समस्या सुधार गरेर आयस्तर उकास्ने योजना ल्याउने उम्मेदवारलाई नै यसपटक आफूहरूले भोट दिने उनी बताउँछन् । 
सुनबर्सी ७ का किसान आमोद हुसेनले सरकारले किसानलाई सहज रूपमा ऋणसमेत उपलब्ध गराउन नसकेकाले गाउँका साहु महाजनसँग सयकडा ३ रुपैयाँको दरले ऋण लिएर आकासेपानीको भरमा खेती गर्न बाध्य रहेको गुनासो पोखे । ‘सरकारले बैंकहरूलाई सीमित प्रतिशत कृषिमा लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ तर कुन किसानले ऋण पाइरहेको छ त्यो हेर्ने निकाय खोई ?’ उनले भने, ‘ठूला कुनै कृषिजन्य उद्योगमा वा पुरानै ऋणीलाई ऋण दिनेबाहेक सामान्य किसानले ऋण पाउन सकेका छैनन् ।’
कृषि विकास कार्यालय मोरङका बागबानी विकास अधिकृत काशीकुमार चौधरीले मुलुकमा सबभन्दा पीडित किसान रहेको बताए । ‘किसानको समग्र परिवर्तनका लागि कुन गाउँ/क्षेत्रमा के बाली उपयुक्त हुन्छ त्यसको परीक्षण गरेर सोहीअनुसार बाली बल्क प्रणाली लागू हुनुपर्छ,’ उनले भने, ‘उक्त प्रणालीमा कृषि मल, गुणस्तरीय उन्नत जातको बीउ, सिँचाइ सुविधा, लागतअनुसारको कृषिजन्य उत्पादनको मूल्य निर्धारण गरी बजारको व्यवस्थापनसमेत हुनुपर्छ ।’
त्यति भएपछि मात्रै किसानको परिवर्तन हुने हो, होइन भने ‘काग कराउँदै गर्छ, पिनास सुक्दै गर्छ’ भनेजस्तै हुने उनले बताए । ‘अहिलेसम्म सरकार किसानप्रति गम्भीर हुन सकेको छैन,’ उनले भने, ‘अहिलेसम्म कृषि क्षेत्र नेताहरूको पनि पहिलो प्राथमिकतामा पर्न सकेको छैन ।’ उनले बाढीपीडित किसानका लागि सरकारले ल्याएको राहत विशेष योजना पूर्ण रूपमा अव्यावहारिक भएको सुनाए ।
पूर्वाञ्चलका १६ जिल्लामा कुल खेती भइरहेको ९ लाख ७४ हजार ७ सय ३५ हेक्टर जग्गामध्ये ४ लाख ९१ हजार ६ सय २२ हेक्टर सिँचित रहेको उनले बताए । उनले बाह्रै महिना सिँचाइ हुनेमा २ लाख ६७ हजार ७ सय २१ र मौसमी सिँचाइ हुनेमा २ लाख २३ हजार ९ सय १ हेक्टर जग्गा रहेको बताए ।

 

प्रकाशित : मंसिर ५, २०७४ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाली क्रिकेटका ‘पञ्चकन्या’

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाली क्रिकेटका लागि काँकडभिट्टा ज्यादै उर्वर छ । एक दर्जनजति अन्र्तराष्ट्रिय क्रिकेटर जन्माएको यो सीमा सहरमा पाँच जना त राष्ट्रिय महिला क्रिकेटर नै छन् । नेपाली क्रिकेटका ‘पञ्चकन्या’ हरूले सोमबार थाइल्यान्डमा सुरु ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा सँगै खेलेका छन् ।

स्थानीय काँकडभिट्टाको मैदानमा सँगै अभ्यास गर्ने यिनीहरूले अन्तर्राष्ट्रिय मैदानमा देशका लागि खेल्ने छन् ।

राष्ट्रिय टोलीमा परेका कप्तान रुबिना क्षेत्रीसहित काजोल श्रेष्ठ, सवनम राई, संगीता राई र यसपल्ट छानिएकी रोमा थापा मेचीनगर नगरपालिका ६ निवासी हुन् । ‘एउटै वडाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच खेलाडी सहभागी बन्नु सिंगो झापाका लागि गर्वको पक्ष हो,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा भन्छन्, ‘नेपाली महिला क्रिकेटका पञ्चकन्या हुन् उनीहरू ।’ 

कुनै बेला क्रिकेटरद्वय मनोज कटुवाल र लाक्पा लामा सिंगो झापाका सान थिए । यी दुई खेलाडीको प्रेरणावाटै जन्मिएका हुन् रुबिनाहरू । केही वर्षअघि झापामा रुबिनामात्रै एक्ली महिला क्रिकेटर थिइन् । छोटो समयमा यिनले क्रिकेटमा अप्रत्यासित छलाङ मारिन् ।
नेपाली महिला क्रिकेटकी कमान्डर रुबिना अहिले एक्ली छैनन् । उनीपछि काजोल, सवनम, संगीता र रोमाहरू जन्मिइसकेका छन् । महिला क्रिकेटकी कप्तान बन्नुअघि रुबिनाले सन् २००९ मा मलेसियामा भएको टान्टी–२०महिला क्रिकेटमा सिंगापुरविरुद्ध खेलेर डेब्यू गरेकी हुन् । डेब्यूमै उनले ५ विकेट लिँदै विश्व कीर्तिमान गरेकी थिइन् । 

महिला क्रिकेटको भविष्यप्रति बेला बेला ज्यादै निरास हुन्छिन् यी अलराउन्डर । खास गरी महिला क्रिकेटलाई राज्यले गरेको चरम उपेक्षाबाट आफू आजित बनेको रुबिना गुनासो पोख्छिन् । काजोलले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान बनाउँदै छिन् । उनले आधा दर्जन बढी मुलुकमा आफ्नो खेलकौशल देखाइसकेकी छन् । 

गत वर्ष हङकङमा भएको आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा रुबिनासहित काजोल र सवनम एकैपल्ट मैदान ओर्लिएका थिए । यसपल्ट पाँच जना ‘गाउँले खेलाडी’ ले थाइल्यान्डमा आफ्नो कौशल देखाउने छन् । सवनमले रुबिनाको सहयोगका कारण आफू क्रिकेटमा छिरेको बताउँछिन् । काजोलको भनाइ पनि सवनमको जस्तै छ । भन्छिन्, ‘रुबिना दिदीकै प्रेरणा र हौसलाले क्रिकेटमा हाम्रो क्रेज बढेको हो ।’ 

कक्षा ८ मा पढै गर्दा सवनमले पहिलो पटक क्रिकेटको ब्याट र बल समातेकी थिइन् । स्थानीय मैदानमा अन्तरमावि क्रिकेट आयोजना भएको थियो । उनले नर्थ प्वाइन्ट स्कुलबाट खेलेकी थिइन् । सवनम सामान्य परिवारकी सदस्य हुन् । सुरुमा उनलाई क्रिकेटको ब्याट वल किन्न पनि गाह्रो थियो यिनलाई । तर, जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनको इच्छासामु सबै अभावहरू परास्त भए । परिवारको भरपूर सहयोगले खेल्न थप हौसला थप्यो । 

काजोलले सन् २००९ बाट क्रिकेट खेल्न थालिन् । सन् २०१३ मा थाइल्यान्डमा भएको प्रतियोगितामा डेब्यू गरिन् । त्यसपछि दक्षिण कोरियामा एसियन गेम्स र भर्खरै हङकङमा विश्वकप छनोट खेलिन् । त्यसयता यिनले पछाडि फर्केर हेर्नुपरेको छैन । सधंै टिममा स्थान सुरक्षित गरिरहेकी छन् । उनी नेपाली टोलीकी उत्कृष्ट ब्याट्सवुमन हुन् । त्यस अलवा राम्रो विकेटकिपिङ गर्छिन् । 

संगीताले पनि गत वर्ष थाइल्यान्डको बैंककमा आयोजित एसिया कप क्रिकेटवाट अन्र्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी हुन् । यसअघि पटक–पटक क्याम्पमा पर्दै अन्तिममा छनोटबाट वन्चित उनी गत वर्ष पहिलोपल्ट टोलीमा परेकी हुन् । रोमाले यसपालि पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुल्दै छिन् । गत वर्ष उनी पनि क्याम्पमा त परिन् तर टोलीमा पर्न सकेकी थिइन् । अघिल्लो पटक टोलीमा पर्न नसके पनि निरास थिइनन् उनी । ‘अघिल्लो पटक राम्रो प्रदर्शन गर्न चुकेकी थिएँ,’ भन्छिन् ‘अर्को वर्ष पर्नेगरी खेल्छु भन्ने प्रण गरेकी थिएँ ।’ सबै खेलाडी स्थानीय मिलन क्रिकेट क्लबका उत्पादन हुन् । 

‘राष्ट्रिय टोलीमा एउटै वडावाट पाँच खेलाडी पर्नु हाम्रो क्षेत्रकै गौरव हो,’ पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटुवाल भन्छन्, ‘सबै अब्बल छन्, उनीहरूले राम्रो प्रदर्शनमा ढुक्क छु ।’

 

प्रकाशित : मंसिर ५, २०७४ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT