चुनावको मुखमा नक्कली नोटको बिगबिगी

घनश्याम खड्का

म्याग्दी — प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा जिल्लामा एक हजार र पाँच सय दरका नक्कली नोट देखिन थालेका छन् । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला परेपछि यहाँको चुनावी सरगर्मी बढेको छ ।

चुनावको मुखमा नक्कली नोटको बिगबिगी

बैंकहरुका अनुसार फेला परेका नोटहरुमामा एउटै नम्बर च/२५ ४३९१३३ रहेको छ । सामान्यतया: सेक्युरिटी थ्रेट, वाटरमार्क, पेपरक्वालिटी, प्रिन्टक्वालिटी, आकार, नोटका विभिन्न हातले छाम्न सकिने संकेत, नोटको रङमा फरक परेको जस्ता नोटहरु नक्कली मानिन्छन् । पटक–पटक बैंक तथा वित्तीय संस्थामा यस्ता नक्कली नोट फेला परे पनि यस्ता नक्कली नोट कहाँबाट, कस्ले, कसरी आए भन्ने कतै छानबिन भएका छैनन् ।

 
‘स्थानीय तह निर्वाचनमा पनि केही ५ सय दरका नक्कली नोट फेला परेका थिए । अहिले पनि अन्य बैंक/वित्तीय संस्थाहरुमा जस्तै सामान्य सेवाग्राहीबाट छुट्टाछुट्टै दिनमा एक हजार दरका नक्कली नोट फेला परेका हुन्’गरिमा विकास बैंकका शाखा प्रबन्धक कमल ढुंगानाले भने, ‘स्थानीय तह निर्वाचनमा फेला परेका ५ सय दरका फेक नोट मुख्यालयमा पठाएका थियौं, बजारमा चर्चा नहुँदा अहिले फेरि हजारका नोट बजारमा आएको हुनुपर्छ ।’

चुनावी प्रतिस्पर्धा तीव्र र कडा बन्दै जाँदा सामाजिक सञ्जालहरुमा वाम गठबन्धन पक्षधरले मतदाता प्रभावित बनाउन लोकतान्त्रिक गठबन्धनबाट नक्कली नोट बाँडिएको भन्दै आरोप लगाएका छन् । त्यसैगरी लोकतान्त्रिक गठबन्धन पक्षधर सामाजिक सञ्चाल प्रयोगकर्ताले नक्कली नोकको हल्ला फिँजाएर आफूले बाँडेको प्रत्यारोप गरेका छन् । 

वाम गठबन्धनले चुनाव प्रभावित बनाउन लोकतान्त्रिक गठबन्धनबाट नक्कली नोट गाउँगाउँमा बाँडेको आरोप लगाएको छ । ‘प्रहरीको चुनावी अभियानमा व्यस्तताको फाइदा उठाउँदै गिरोहले नक्कली नोट बजारमा पुर्‍याएको छ । फेला परेका ‘नक्कली नोट’ फरेन्सी ल्यावमा पठाउने तयारीमा छौं’ प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘मतदानको संघारमा फेला परेका नक्कली नोटले चुनावी माहोल नै बिगार्न सक्ने भएकोले सचेत छौं । स्थानीय निर्वाचनदेखि नै नक्कली नोट बनाउने गिरोह पश्चिम क्षेत्रमा सक्रिय भएको देखिन्छ ।’

प्रहरीले केही दिनयता विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा नक्कली नोटहरु फेला परेको पुष्टि गरेको छ । स्थानीय तह निर्वाचन र त्यसयता गिरोहले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, बाग्लुङ हुँदै भित्रिबाटो म्याग्दीमा नक्कली नोट फिँजाएको प्रहरीले दाबी गरेको छ ।
 
चार वर्ष अघि पनि सदरमुकाम बेनीका बैंकहरुमा ५ सय र एक हजार दरका ८ हजार नक्कली नोट फेला परेको थियो । छुट्टै प्रहरीले १० हजार ५ सय दरका नेपाली नक्कली नोटसहित जिल्लाको पश्चिम ताकममा फ्रेसहाउस चलाई बस्ने भारतीय नागरिक रवी गुप्तालाई पक्राउ गरेको थियो । 

प्रकाशित : मंसिर ५, २०७४ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?