नेप्सेमा सामान्य सुधार

काठमाडौं — मंगलबार सेयर कारोबार मापक नेप्सेमा ३.०८ अंकले सुधार भएको छ । अघिल्ला ४ कारोबार दिन लगातार रूपमा घटेको नेप्से मंगलबार सुधारिएको हो । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से करिब ०.२१ प्रतिशतले बढेर १ हजार ४ सय ७२.२४ विन्दुमा उक्लिएको हो ।

सुरुमा बजार खुल्दा ओरालो लागेको नेप्से मध्याह्नदेखि सुधारको बाटोमा देखिएको थियो ।

कारोबारमा रहेकामध्ये विकास बैंक, वित्त कम्पनी, उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । करिब ४ हजार ३ सय कारोबारबाट १ सय ५९ कम्पनीका ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए । उक्त किनबेचबाट ३५ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । उक्त दिन कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढयो, ५६ कम्पनीको सेयर मूल्य घटयो भने बाँकी २१ कम्पनीको सेयर मूल्य स्थिर छ ।
‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.३ प्रतिशत र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.३५ प्रतिशतले सकारात्मक रहे । परिसूचक बढेपछि कुल बजार पुँजीकरण पनि सामान्य रूपमा बढेर १७ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ ।
मंगलबार व्यापार (ट्ेरडिङ) समूहको परिसूचक सबैभन्दा बढी ७.६८ प्रतिशतले बढयो । यसैगरी बैंकिङ समूहको परिसूचक ०.४४, होटलको ०.४४, जलविद्युतको ०.३६, बिमाको ०.१९ र लघुवित्त समूहको ०.१९ प्रतिशतले बढे । तर, ‘अन्य’ समूहको परिसूचक ०.६६, उत्पादन तथा प्रशोधनको ०.६, वित्त कम्पनीको ०.३१ र विकास बैंक समूहको ०.१९ प्रतिशत ऋणात्मक रहे ।

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?