चुनावले आर्थिक कारोबार बढायो

प्रतीक्षा काफ्ले

स्याङ्जा — भीरकोट नगरपालिकाको बयरघारी बजारस्थित सिद्धार्थ पार्टी प्यालेसमा कामदारलाई यतिबेला भ्याइनभ्याई छ । बिहान उठेदेखि कामधन्दामा व्यस्त भएका कामदारहरू अवेरसम्म सुत्न पाउँदैनन् । कामदार मात्र होइन प्यालेस सञ्चालकलाई पनि दौडधुप छ ।

‘हामीलाई पो लागेको छ चुनाव,’ सञ्चालक मीनप्रसाद कोइरालाले भने, ‘आरामले खाने–सुत्ने फुर्सदसमेत छैन ।’ निर्वाचनले आफ्नो मात्रै नभई बयरघारी बजारकै आर्थिक कारोबार बढाएको उनले बताए । अर्का सञ्चालक अनील कार्की अरू बेला चल्नेभन्दा चुनाव लागेपछि व्यवसाय बढेको बताउँछन् । ‘हल सधैं पार्टीहरूकै सभा, भेलाले बुक भइरहेको छ,’ उनले भने, ‘चुनावले व्यस्त बनाएको छ ।’
पुतलीबजार ३ का तिलबहादुर श्रेष्ठ पनि चुनावी सरगर्मी बढेसँगै आफ्नो व्यवसाय बढेको बताउँछन् । ‘एक दिनमा १७ हजार बचत भयो,’ उनले भने, ‘खर्च कटाएर १७ हजार रुपैयाँ बचत हुनु भनेको मेरा लागि ठूलो कुरा हो ।’ चिया, दुनोट, तरकारी र बिस्कुट मात्र लिएर बेच्न बसेका उनीकहाँ अघिपछि भने दिनको २ हजारको व्यापार हुन पनि गाह्रो हुन्छ । ‘यहीँका मानिसभन्दा पनि बाहिरबाट आवतजावत गर्ने ग्राहकबाट आम्दानी हुने हो,’ उनले दोहोर्‍याए, ‘चुनावको अवधिमा खर्च कटाएर एक–डेढ लाख रुपैयाँ बचत गर्ने विचार गरेको छु ।’ उनी यतिबेला आफ्नो सानो व्यवसाय भए पनि खुब उत्साहित छन् । हेर्दा पनि सानो र मान्छे गए बस्ने ठाउँसमेत नभएको उनकामा यति राम्रो कारोबार भएको छ भनेर कसैले अन्दाजसमेत गर्न सक्दैनन् । श्रेष्ठ भन्छन्, ‘हामीलाई त दसैं पो आयो । यस्तै–यस्तै समय आउँदा व्यवसाय गरेकामा गर्व लाग्छ ।’
खाजा पसलहरूमा मात्र होइन चुनावले पान पसलहरूमा पनि आर्थिक कारोबार उत्तिकै बढाएको छ । दु:ख गर्न सके आत्मसन्तुष्टि मिल्छ भन्ने उदाहरण यति बेला साना व्यवसायीले दिएका छन् । पानीपुरी, चटपट, चाटको व्यापार पनि उस्तै फस्टाएको छ ।
बजार क्षेत्र मात्र नभई ग्रामीण भेगका पसलका मालिकलाई बोल्ने फुर्सदसमेत छैन । ‘व्यापारको चटारो छ,’ भीरकोट नगरपालिका ५ का गुप्तबहादुर थापा भन्छन्, ‘बल्ल व्यापारीजस्तो भइएको छ ।
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदा पनि राम्रै आम्दानी भयो । त्यसलगत्तै निर्वाचनले छोयो ।’ अघिपछिको समय शून्य जस्तै हुने उनको पसलमा यति बेला निकै चहलपहल बढेको छ । भीड पनि उस्तै देखिन्छ । ‘आउने ग्राहकलाई बसालेर खाजा खुवाउने ठाउँ छैन । सामान किन्न आउने पनि उठेर फर्किने हो ।’

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?