३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५२ वर्षपछि बढ्यो तलब

शंकर आचार्य

महुवन (पर्सा) — सामान्यतया सरकारी कर्मचारीको तलब दुई–चार वर्षभित्रै बढ्छ । यहाँस्थित गुठी संस्थान अधीनस्थ पारसनाथ महादेव मठका कर्मचारीको तलब भने संस्थानले ५२ वर्षपछि बढाएको छ ।

५२ वर्षपछि बढ्यो तलब

हाल सखुवाप्रसौनी गाउँपालिका ५ अन्तर्गत पर्ने यो मठका कर्मचारीले तलब वृद्धिको माग गरेपछि संस्थानले सुनुवाइ गरेको हो । बढेको तलबमान सुन्दा झनै पत्यार लाग्दैन । यसअघि पुजारी सुदामा मिश्रले मासिक ५ रुपैयाँ तलब थाप्दै आएकामा साउन महिनादेखि १ हजार रुपैयाँ पाउने भएका छन् । मठका भान्से बालकृष्ण मिश्र, टहलु अखिलेश पटेल र झाडुबडारु हुसेन्द्र डोमको तलब मासिक ५ रुपैयाँबाट बढेर जनही ४ सय १६ रुपैयाँ पुगेको छ ।

पर्सा जिल्लाको नामकरण यसै महादेव मन्दिरको नामबाट भएको मानिन्छ । यसै मठअन्तर्गत करिब २० बिघा जग्गाको आयस्ता संस्थानले आफ्नो आम्दानीमा बाँध्दै आएको छ । तर, मठका कर्मचारीहरू भने अझै पनि पत्यारै नलाग्ने न्यूनतम तलब थाप्दै छन् ।
मन्दिरमा नियमित पूजापाठदेखि यसको सम्पूर्ण जायजेथा रेखदेख र स्याहारसम्भारसम्मको सम्पूर्ण जिम्मेवारी सम्हालेका उनीहरूलाई संस्थानले ०२२ सालदेखिकै दरम तलब खुवाउँदै आएको थियो । ८० वर्षीय पुजारी सुदामा मिश्रले २०२२ माघ ४ देखि मन्दिरको पुजारीको जिम्मेवारी सम्हालेका हुन् । अन्य कर्मचारीहरू पनि निकै पुराना हुन् ।
पुजारी मिश्रले आफ्नो जागिर जीवनमै पहिलो तलब वृद्धि भएकामा खुसी व्यक्त गरे । ‘जागिर जीवनमै पहिलोपटक तलब वृद्धि भयो, म जवान हुँदा थाप्न थालेको तलब अहिले वृद्ध भएपछि बढेको छ,’ उनले भने, ‘मासिक १ हजार तलब पाउँदै छु, आफैं मूल्यांकन गर्नुस् बढी हो कि कम ।’
भान्से बालकृष्णले ५ दशकपछि तलब बढे पनि महँगीअनुसार तलबमान अझै पनि अत्यन्त न्यून रहेको गुनासो गरे । ‘खै के बढ्यो भनौं,’ उनले भने, ‘कम्तीमा ५ हजारसम्म भए लौ बढयो भन्दा पनि खुसी लाग्थ्यो ।’
संस्थान वीरगन्ज शाखा कार्यालय प्रमुख रामेश्वर बिडारी महुवन मठका कर्मचारीको माग आएपछि आफूहरूले संस्थान केन्द्रीय कार्यालयमा तलब वृद्धिका लागि सिफारिस गरिदिएको बताए । ‘उहाँहरूबाट माग आयो, हामीले तलब पुनर्मूल्यांकनका लागि केन्द्रलाई सिफारिस गर्‍यौं, स्वीकृति मिलेपछि नयाँ तलबमान लागू भएको हो,’ उनले भने, ‘संस्थानको क्षमताले भ्याएसम्म सुविधा दिने हो ।’
मठका कर्मचारीले तलबबाहेक वार्षिक १३/१३ मन धान जिन्सीसमेत पाउने गरेको उनले बताए । यसबाहेक कर्मचारीले मठको हन्डीमै खाने सुविधा पाएका छन् । संस्थानले नित्य पूजाको रकम १० रुपैयाँबाट ३ सय रुपैयाँ मासिक, संक्रान्ति पूजाको २५ रुपैयाँबाट ३ सय रुपैयाँ, शिवरात्रि पुजाको २ सय ५० बाट १ हजार रुपैयाँ पुर्‍याएको उनले बताए ।
कार्यालय अधीनस्थ आधा दर्जनभन्दा बढी मठमन्दिरमध्ये सबैभन्दा कम तलब खाने पारसनाथ महादेव मठकै कर्मचारी थिए ।

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?