पूर्वी पहाडको मुद्दा तमोर

शाहीमान राई

पाँचथर — प्रदेश १ मा तमोर जलविद्युत् आयोजनाको निर्माणलाई पूर्वी पहाडी पाँच जिल्लाका उम्मेदवारले प्रमुख मुद्दा बनाएका छन् । अरुण तेस्रोपछि पूर्वी नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हुने भएकाले आर्थिक समृद्धिका लागि यसलाई प्रमुखता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणले सम्भाव्यता अध्यायन गरी विस्तृत सर्वेक्षण गरिरहेको ७ सय ६२ मेगावाट क्षमताको तमोर आयोजना निर्माण गर्ने पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा र तेह्रथुमबाट उम्मेदवार बनेका दलका नेताहरूले प्रमुख चुनावी नारा बनाएका हुन् । ‘प्रदेश १ को आर्थिक समृद्धिको आधार हो,’ वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त नेम्बाङले भने, ‘तमोर नदीबाट विद्युत् उत्पादन गर्ने हाम्रो मुख्य एजेन्डा हो ।’

एमाले केन्द्रीय सदस्य तथा ऊर्जा विभाग सचिवसमेत रहेका वसन्त नेम्बाङ ऊर्जा व्यवसायी हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले पनि कृषि, सिँचाइ, पर्यटन र जलविद्युत् उत्पादनका निम्ति तमोर आयोजना निर्माण जरुरी ठान्दै मुख्य चुनावी मुद्दा बनाएका छन् । कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम, लिम्बुवानलगायत साना दलले समेत तमोरलाई प्रमुखता दिएका छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिकाको ओख्रे र पाँचथरको कुम्मायक गाउँपालिकाको स्यावरुम्बास्थित लुम्बुवाघाटमा दुई सय मिटर अग्लो उच्चबाँध निर्माण गरी विद्युत् उत्पादन हुनेछ । सन् १९८५ मार्चमा जापानी संस्था जाइकाले ‘मास्टर प्लान स्टडी अन कोसी रिभर वाटर रिसोर्सेस डेभ्लपमेन्ट प्रोजेक्ट’ अन्तर्गत पहिलोपटक तमोर आयोजना निर्माणका लागि अध्ययन गरी प्रस्ताव पेस गरेको थियो ।

विद्युत् प्राधिकरणको प्रारम्भिक अध्ययन प्रतिवेदनले भौगोलिक स्थिति, सामाजिक प्रभाव, वातावरणीय अनुकूलता, प्राविधिक र आर्थिक हिसाबले तमोर उच्च बाँध जलविद्युत् आयोजना उपयुक्त हुने देखाएको छ ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?