कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोखराको चुनावी एजेन्डा पर्यटन प्रवद्र्धन

लालप्रसाद शर्मा

पोखरा — आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले जारी गरेका प्रतिबद्धतापत्रमा कसैले पनि पोखरेली पर्यटन प्रवद्र्धनको विषय छुटाएका छैनन् । तर, सबैका चुनावी घोषणापत्र सतही भएको टिप्पणी सम्बद्ध क्षेत्रका व्यवसायीको छ ।

पोखराको चुनावी एजेन्डा पर्यटन प्रवद्र्धन

पोखराका फेवासहित नौ ताल, प्राकृतिक, सांस्कृतिक सम्पदा, वातावरण संरक्षणका बुँदा सबैले राखेका छन् । ४ नम्बर प्रदेशको आर्थिक विकासको मेरुदण्ड पर्यटनलाई स्विकार्दै दलहरूले पोखरालाई पर्यटनको एक उत्कृष्ट गन्तव्य बनाउनेमा पनि उत्तिकै जोड दिएका छन् । तर, पर्यटन विकास र प्रवद्र्धनमा स्पष्ट खाका भने नआएको पर्यटन व्यवसायी बताउँछन् ।

प्राकृतिक सम्पदाको संरक्षणसँगै समग्र पर्यटन प्रवद्र्धनका कुरा उल्लेख भए पनि योजनाबिनाको कुरामा पोखरेली विश्वस्त छैनन् । ‘पोखरामा मात्र नभई समग्र चार नम्बर प्रदेशको आर्थिकलगायत विकासको मेरुदण्ड भनेकै पर्यटन हो । दलहरूले पनि यसलाई स्विकारेका छन्,’ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भने, ‘तर, समग्रमा स्पष्ट खाका अर्थात् एउटा गुरुयोजना आएको भए राम्रो हुन्थ्यो । पर्यटनलाई महत्त्व दिएजस्तो देखिए पनि विकास र प्रवद्र्धन गर्ने स्पष्ट दृष्टिकोण भने देखिएन ।’ उनले भौतिक पूर्वाधारबिना पर्यटनको विकास नहुने भएकाले सोहीअनुसार घोषणापत्र आएको भए राम्रो हुने भन्दै अब निर्वाचनपछि पनि त्यसैमा जोड दिनुपर्ने बताए ।

‘नवरत्न’ नाम दिइएका नौ तालको प्राकृतिक तथा मानवीय अतिक्रमण रोक्ने, सबै ताललाई लिंक रोड बनाएर जोड्ने र तालमा विभिन्न पर्यटकीय गतिविधिमार्फत आर्थिक लाभ लिन सकिनेजस्ता कुरा पनि दलहरूले समेटेका छन् । तर, विगतका अनुभवले कार्यान्वयन हुनेमा विश्वस्त छैनन् व्यवसायी । ‘प्रतिबद्धतापत्रमा मात्र उल्लेख गर्नु ठूलो होइन,’ पर्यटन व्यवसायी सोम थापा भन्छन्, ‘इच्छाशक्ति भए काम हुन्छ । पर्यटन र पोखरा पर्याय बनिसकेको छ । तर, पर्यटनको विकासमा पर्याप्त भिजन आउन सकेन ।’

धेरै विदेशीले नेपालको नाम नसुन्दै पोखराबारे थाहा पाउने गर्छन् । त्यही भएर यहाँ आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदै गएको छ । प्राकृतिक, सांस्कृतिक सुन्दरताले मात्र हैन, यस क्षेत्र वरपरका विभिन्न पर्यटकीय स्थानले पनि पोखरा गन्तव्य मात्र नभई पर्यटकीय गतिविधिको मुख्य थलो (हब) बन्दै गएको छ । ‘अब पर्यटनका माध्ययमबाट पोखरा मात्र नभई चार नम्बर प्रदेशसमेत समृद्ध बनाउनुपर्छ । राजनीतिक दलहरूले यसलाई प्राथमिकतामा राख्नुपर्छ,’ पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा भन्छन्, ‘चुनावी घोषणापत्रमा पर्याप्त नभए पनि अब आउने प्रदेश सरकार र जनप्रतिनिधिले यसलाई प्राथमिकतामा पारेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ ।’

पोखरालाई स्वर्गसरी बनाइराखेर पर्यटकीय गन्तव्यको थप उचाइमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए । समुद्र सतहभन्दा एक हजार मिटरको उचाइबाट आठ हजार मिटर अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल देख्न सकिने विश्वमै एउटा ठाउँ हो । चार सुन्दरमध्ये एक कुमारी माछापुच्छ्ेर हिमालदेखि विश्वको उत्कृष्ट पदयात्रा मार्ग अन्नपूर्ण राउन्ड यही क्षेत्रमा पर्छ । सबभन्दा अग्लो तिलिचो ताल (४९१९ मि), गहिरो गल्छी, घोरेपानीको लालीगुराँसको जंगल, ढोरपाटन सिकार आरक्षजस्ता सम्पदाहरू यस क्षेत्रमा पर्छन् । साथै पदयात्रा मार्ग, हिमाल, नदीनाला, तालतलैया पर्यटन विकासका आधार तथा साहसिक पर्यटनका आकर्षण छन् । सिरुबारी, घलेगाउँ, ल्वाङघलेल, स्वरेकजस्ता ग्रामीण पर्यटनका नमुना पनि यहीँ नै छन् ।

यतिबेला पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भइरहेको छ । योसँगै पर्यटकको चाप बढ्ने अपेक्षा गरिएको छ । अब ठूलाठूला होटल, सपिङ सेन्टर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, व्यवस्थित बसपार्क निर्माण पनि आवश्यक छ । सहरी सडकका साथै काठमाडौं–पोखरा, पोखरा–भैरहवालगायत जोड्ने राजमार्गको स्तरोन्नति पनि उत्तिकै आवश्यक भएकाले दलहरूले सोहीअनुसारको गुरुयोजना बनाएर प्रतिबद्धता जनाउनुपर्ने थापाले बताए । साथै पदयात्रा, दृश्यावलोकन, हिमाल आरोहण, र्‍याफटङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, डुंगा सयर, जिप फ्लाएर, बन्जी जम्प, डुंगा सयर, कायकिङ, माउन्टेन फ्लाइटस, गल्फ, धार्मिक गतिविधि, साहसिक खेलकुद, ग्रामीण पर्यटन, क्यानोनिङजस्ता गतिविधि पनि भएकाले सोहीअनुसारका योजनासहित दलहरूले प्रतिबद्धता जनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?