साँघुरो भो विमानस्थल

सुर्खेत — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश ६ को सुरक्षा बैठक कात्तिक २८ गते प्रदेश ५ को नेपालगन्जमा गरियो । निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी अनुशिक्षण पनि नेपालगन्जमै भए ।

साँघुरो भो विमानस्थल

साँघुरो विमानस्थलले ठूला जहाजको अवतरण कठिन भएपछि सुर्खेत–काठमाडौं सीधा हवाई सम्पर्क हुन सकेको छैन । त्यसैले प्रदेश ६ को प्रस्तावित राजधानी सुर्खेतले नेपालगन्ज विमानस्थलको भर पर्नुपरेको छ ।
साँघुरो विमानस्थलका कारण ठूला जहाजको उडान हुँदैन । त्यसैले सुर्खेत विमानस्थलबाट हेलिकप्टर, सिंगल इन्जिन र टवनअटर जहाजको मात्र उडान भइरहेका छन् । काठमाडांै जाने–आउने यात्रु नेपालगन्जबाट उड्न बाध्य छन् । प्रदेशका पहाडी तथा हिमाली जिल्लामा हवाई सेवा विस्तारमा पनि साँघुरो विमानस्थल बाधक बनेको छ ।
पर्याप्त धावनमार्ग अभावका कारण सुर्खेत विमानस्थलले उड्डयन सेवा दिन नसकेको हो । विमानस्थलमा उडान तथा अवतरणमा भौगोलिक रोकावट (एप्रोच प्याटर्न) ले कर्णाली क्षेत्रका जिल्लामा समेत नियमित उडानसमेत प्रभावित हुने गरेको छ । त्यसैले अधिकांश सिंगल इन्जिन जहाजले मात्र सुर्खेत–कर्णाली हवाई सम्पर्क जोडेका छन् । 
विमानस्थल वरिपरि नजिकै अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या छ । विमानस्थलको उत्तर–दक्षिण रनवेका कारण विमानलाई उडान र अवतरणमा कठिनाइ भएको सुर्खेत नागरिक उड्डयन कार्यालय प्रमुख विनोद पन्तले बताए । विमानस्थल नजिकका धुलियाबिट, चनौटे, गाग्रेताल र नेवारका डाँडाकाँडाले उडान तथा अवतरणमा अवरोध पुर्‍याएको उल्लेख गर्दै उनले भने, ‘अग्लाअग्ला पहाडले ठूला जहाजलाई उडानमा प्राविधिक समस्या भयो । एप्रोच 
प्याटर्नका कारण धावनमार्ग बढाउनसमेत नसकिने स्थिति छ ।’
विमानस्थलको धावनमार्ग उत्तर दक्षिण दिशामा हुँदा विस्तार गर्न कठिनाइ भएको हो । अहिले धावनमार्गको लम्बाइ १ हजार २ सय ५५ र चौडाइ ३० मिटर छ । पर्याप्त धावनमार्ग नहुँदा ठूला विमान कम्पनीले सुर्खेत–काठमाडौं उडान भर्न नसकेका हुन् । नागरिक उड्डयन कार्यालयले ठूला जहाज ल्याउन निजी वायु सेवा कम्पनीलाई पत्राचार गरेको थियो । आग्रहअनुसार, बुद्ध एअरले ०७० सालमा १८ सिटे जहाजबाट साताको तीन दिन सुर्खेत–काठमाडौं उडान भरेको पनि हो । तर, रनवेको समस्या देखाउँदै उसले आठ महिनामै सेवा बन्द गर्‍यो । बुद्ध एअरका ४२ सिटे र यतीको २९ सिटे जहाजले पनि रनवे र अवतरणकै समस्या देखाएर नमानेको पन्त बताउँछन् ।
यात्रुबाहक हवाई सेवा कम भएपछि सुर्खेत कार्गो बेस विमानस्थल बन्न पुगेको छ । सिम्रिक, काष्ठमण्डप, गोमा, मकालु, तारा, सीता एअरले सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान भर्दै आएका छन् । विमानस्थल समस्याकै कारण यस प्रदेशको प्रशासनिक सेवा र पर्यटन व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाही एअरपोर्टका लागि अर्को बेग्लै प्रदेशमा भर पर्नुपरेको बताउँछन् । ‘राम्रो विमानस्थल नहुँदा सुर्खेत र प्रदेश ६ कै विकासमा धक्का लागेको छ,’ पर्यटन व्यवसायी समेत रहेका उनले भने, ‘एअरपोर्टले विकासको ढोका खुल्छ । अब बन्ने प्रदेश सरकारको पहिलो प्राथमिकता एअरपोर्ट बन्नुपर्छ । यो प्रदेशको पर्यटन प्रवद्र्धन र तीव्र आर्थिक वृद्धिका लागि विमानस्थल पहिलो आवश्यकता भएको उनी बताउँछन् ।’
सुर्खेतमा क्षेत्रीयस्तरको विमानस्थल बन्न सके मानसरोवर जाने यात्रुको गेटवे बनाउन सकिने पर्यटन व्यवसायीको धारणा छ । सुर्खेतबाट काठमाडौं हवाई सेवा नियमित नहुँदा कर्णाली क्षेत्र, सुर्खेत, जाजरकोट र दैलेखका यात्रुहरू नेपालगन्ज विमानस्थलको भर पर्नुपर्ने बाध्यता छ । 
खेतको लोभले रोकिएको विस्तार 
राजा वीरेन्द्रले ०३८ सालमा सुर्खेत भ्रमण गर्ने क्रममा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यद्वय अमरबहादुर शाही र भुपेन्द्र शाहले विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन माग गरेका थिए । सुर्खेत उपत्यकाबाट मोहित बनेका वीरेन्द्र राजी भइसकेका थिए । तर, भेटघाटका क्रममा धेरैले उब्जनी हुने जग्गा मानेर विमानस्थल विस्तार गरे खाद्य संकट पर्ने भन्दै बिन्ती चढाए । ‘धेरैले जग्गा नमास्न बिन्ती चढाएपछि राजा वीरेन्द्रले जनचाहना अनुसार चल्नुपर्छ भने’ तत्कालीन नगरपञ्चायतका प्रधानपञ्च मानबहादुर खडका सम्झिन्छन, ‘विरोध नभएको भए उही बेला विमानस्थल विस्तार हुन्थ्यो । खेतको माया गर्दा विकास रोकियो ।’
अन्तर्राष्ट्रिय विमानस्थलको तयारी
वीरेन्द्रनगर विमानस्थल साँघुरो भई ठूला जहाजका लागि प्रयोगविहीन बनेपछि पूर्वी सुर्खेतको मदानेचौरलाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा भूगर्भविद्हरूका साथै तीन वटा कन्सल्टेन्सीले टेक इन्जिनियरिङ, इन्जिनियरिङ एन्ड एजुकेसनल सर्भिसेस प्रालि र ओनट एन्ड आर्किटेकले सर्भे गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन टोलीले पनि मदानेचौरमा विमानस्थल निर्माण गर्न सकिने प्रतिवेदन पेस गरेको थियो । विमानस्थल निर्माणमा करिब सात अर्ब रुपैयाँ लागत लाग्ने अनुमान टोलीको अनुमान छ । 
उक्त स्थानमा लम्बाइ १२ किमि र चौडाइ ४ किमि रहेको क्षेत्रफल छ । तर, विमानस्थल निर्माणका लागि १ हजार ६ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइ भए पुग्छ । नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको सर्भेसमेत गरिसकेको छ । 

 

प्रकाशित : मंसिर १०, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?