मयुरधाप औद्योगिक क्षेत्रमा तारबार

प्रताप विष्ट

हेटौंडा — सरकारले मुलुकमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन नम्बर प्रदेशको हेटौंडा उपमहानगरपालिका १४ को मयुरधापमा स्थापना गर्न लागेको नयाँ औद्योगिक क्षेत्रको जमिनमा तारबार र डीपीआर गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।


सरकारले नयाँ औद्योगिक क्षेत्रको जमिन अतिक्रमण र उत्खनन रोक्न तारबार लगाएको हो । करिब २ सय १० बिघा जमिनमा तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक नेपालभूषण वैद्यले बताए । ‘७५ प्रतिशत जमिनमा तारबार लगाउने कार्य सम्पन्न भइसकेको छ, २५ प्रतिशत जमिनमा मात्र तारबार लगाउन बाँकी छ,’ उनले भने । जेभी जाभा निर्माण कम्पनीले सिमेन्टको पोलसहित काँडेतार लगाउन ४९ लाखमा रुपैयाँमा ठेक्का लिएको थियो । गत साउन महिनादेखि तारबार लगाउने कार्य सुरु गरिएको थियो । कम्पनीले बिहीबारसम्म १ हजार ७ सयवटा पोल गाडेर काँडेतार तानिसकेको छ । ‘मंसिर महिनाभित्र तारबारको काम सकिन्छ,’ कम्पनीका सञ्चालक डीबी राउतले भने । 
उक्त नयाँ औद्योगिक क्षेत्रको तारबार मात्र होइन डीपीआरको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले डीपीआरको काम गर्न सीआरएस, जर्सा र ईसीएन कम्पनीलाई दिएको थियो । ‘डीपीआर गर्न जिम्मा दिएको कम्पनीले काम अन्तिम चरणमा पुर्‍याइसकेको जानकारी दिएको छ,’ नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका योजना तथा विकास विभागका निर्देशक सञ्जय मानन्धरले भने, ‘मयुरधाप औद्योगिक क्षेत्रको डीपीआरसँगसँगै तारबारको काम पनि सकिन्छ ।’ २ सय १० बिघा जमिनको जग्गाधनी पुर्जा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई औद्योगिक क्षेत्र स्थापनाका लागि यसअघि लालपुर्जा उपलब्ध गराइसकेको छ । मयुरधापको उक्त ऐलानी जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा गराउन मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । 
उद्योग मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई प्रदेशहरूमा स्थापना गर्ने नयाँ औद्योगिक क्षेत्रको डीपीआर तयार गर्न ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो । नयाँ औद्योगिक क्षेत्रको अध्ययन प्रतिवेदन र पूर्वाधार निर्माणका कार्यहरू गर्न कम्तीमा २ वर्ष लाग्न सक्छ,’ प्रबन्धक वैद्यले भने । उक्त नयाँ औद्योगिक क्षेत्रमा सयवटा उद्योग स्थापना हुन सक्छन् । 
‘पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो । वर्षौं अगाडिसम्म त्यही जमिन भएर चुरेको खहरे बग्ने गरेको थियो । अहिले धार बदलेर खहरे अन्यत्रबाट बगेकाले उक्त जमिन सुरक्षित रहेको हो । बुटयानहरूले ढाकेको उक्त जमिनमा ठूला रूख छैनन् । चुरेको खहरेको डर पनि छैन । खाली रहेको उक्त जग्गा समथर पनि रहेको छ । राजमार्गसँग जोड्न सडक पुर्‍याउन पनि समस्या नहुने र बिजुली पनि सहज ढंगले पुर्‍याउन सकिने भएकाले औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त थलो रहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने, ‘अनुत्पादक जग्गा उपयोगमा पनि आउने, औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधारहरू उक्त स्थानमा निर्माण गर्न सहज हुन्छ ।’
हेटौंडा औद्योगिक क्षेत्र नजिक नै रहेकाले पनि उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न सहज हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक वैद्यले भने । ३ नम्बर प्रदेशको राजधानी पनि हेटौंडा बन्ने सुनिश्चित बन्दै गएकाले प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुँदा झन् विकासको गति अगाडि बढ्ने यहाँका बासिन्दाहरूले अपेक्षा गरेका छन् । 
सरकारले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न लागेकाले यस क्षेत्रका बासिन्दाहरू हर्षित भएका छन् । उद्योग स्थापना भएपछि यस वरिपरिका बस्ती चुरियामाई र पदमपोखरीको विकास हुनुको साथै स्थानीयवासीले सहज ढंगले रोजगारी पाउने आशा पनि लिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा जमिनको अभावले उद्योग स्थापना गर्न नपाएका लगानीकर्ताहरू मयुरधापमा स्थापना हुने औद्योगिक क्षेत्रमा जमिन लिएर उद्योग खोल्ने सोचमा पनि छन् । सरकारले औद्योगिक क्षेत्रको दुई वर्षभित्र पूर्वाधार निर्माण गरेर सञ्चालनमा ल्याउने जनाएको छ । 
अमेरिकी सरकारको सहयोगमा २०२० सालमा २ सय १२ बिघा जमिनमा हेटौंडा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । ५४ वर्षपछि हेटौंडा औद्योगिक क्षेत्र नजिककै २ सय १० बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागेका हो । 
मयुरधापमा स्थापना हुने औद्योगिक क्षेत्रले हेटौंडाको महत्त्व अझ बढाउने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए । ‘उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न मकवानपुर उद्योग वाणिज्य संघलगायत यहाँका उद्योगी र व्यवसायीहरूले सहयोग गर्नेछन्,’ उनले भने ।

 

प्रकाशित : मंसिर १०, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?