कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वीरगन्जबाट २१ अर्बको इन्धन

अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत बढी
शंकर आचार्य

पर्सा — मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट पछिल्लो चार महिनामा २१ अर्ब २८ करोड रुपैयाँ बराबरको इन्धन भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३.७५ प्रतिशत बढी हो।

वीरगन्जबाट २१ अर्बको इन्धन

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिकमा नाकाबाट सबै खाले इन्धनको आयात बढेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्धनको आयात बढेको हो। वीरगन्ज नाका मुलुककै सर्वाधिक इन्धन आयात हुने नाका हो।


वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार पेट्रोल, हवाई इन्धन, मटितेल, डिजेल, एलपी ग्यास गरी सबै खाले इन्धनको आयात बढेको छ। आयातित इन्धनमध्ये परिमाणको हिसाबले डिजेल सर्वाधिक आयात भएको छ भने डिजेलभन्दा कम आयात भए पनि पेट्रोलको राजस्वमा अधिक योगदान रहेको छ।


चालु आवको साउनदेखि कात्तिकसम्मको अवधिमा यो नाकाबाट १० अर्ब ७ करोड रुपैयाँ बराबरको २ लाख २७ हजार किलो लिटर डिजेल आयात भएको छ। जसबाट १ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको यसै अवधिमा ८ अर्ब १६ करोड रुपैयाँ बराबरको १ लाख ७३ हजार किलोलिटर डिजेल आयात भएको थियो। डिजेल आयातबाट गत आवको यस अवधिमा १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।


चालु आवको प्रथम चौमासिकमा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको ८७ हजार किलोलिटर पेट्रोल आयात भएको छ। जसबाट २ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको यसै अवधिमा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको ६७ हजार किलोलिटर पेट्रोल आयात भएको थियो। जसबाट १ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।


चालु आवको पहिलो चौमासिकमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ६ करोड ७१ लाख ६५ हजार किलो एलपी ग्यास आयात भएको छ। जसबाट भन्सारले ७८ करोड ९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब ८२ करोड रुपैयाँ बराबरको ५ करोड ४ लाख ८८ हजार किलो एलपी ग्यास आयात भएको थियो।


जसबाट ५२ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।चालु आवको चौमासिकमा २ अर्ब ६४ करोड रुपैयाँ बराबरको ५४ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ। जसबाट ३० करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको यसै अवधिमा १ अर्ब ९० करोड रुपैयाँ बराबरको ४२ हजार किलोलिटर हवाई इन्धन आयात भएको थियो। जसबाट २८ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसैगरी चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट २० करोड ५६ लाख रुपैयाँ बराबरको ४ हजार १ सय किलोलिटर मटितेल आयात भएको छ। जसबाट ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको यसै अवधिमा १५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ हजार ४ सय किलोलिटर मटितेल आयात भएको थियो। जसबाट रुपैयाँ राजस्व संकलन भएको थियो।


वीरगन्ज नाकाबाट भित्रिने इन्धनले राजधानीसहित मुलुकको अधिकांश भागको माग धान्ने गरेको छ। मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खपत हुने हवाई इन्धनसमेत यसै नाकाबाट भित्रिने भएकाले यो नाका प्रभावित हुँदा सिंगो मुलुकको इन्धन आपूर्तिको अवस्थामा गडबडी आउने गर्छ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव यस वर्ष २ पटक निर्वाचन भएको तथा बन्दहडताल पनि कम भएकाले इन्धनको आयात बढेको हुन सक्ने बताउँछन्। त्यसबाहेक नयाँ सवारी साधन पनि बढदो क्रममा रहेकाले सवारी साधन बढेसँगै इन्धनको आयात पनि बढ्ने उनले बताए। यसरी सवारी साधन सडकमा बढी गुड्ने वातावरण पनि बनेकाले इन्धनको माग बढेको हुन सक्ने उनले बताए।


वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तुमा इन्धन र नयाँ सवारी साधन हुन्। यिनले यो भन्सारको कुल राजस्वमध्ये झन्डै आधा योगदान गर्छन्।

प्रकाशित : मंसिर १२, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?