कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पञ्चकोटमा पर्यटक बढ्दै

मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने अभियानले पर्यटक वृद्धि
प्रकाश बराल

बागलुङ — यहाँको पञ्चकोटमा पूर्वाधार निर्माणको थालनीसँगै धार्मिक पर्यटकको आगमन बढेको छ । मुस्ताङको मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने अभियान सुरु भएपछि आन्तरिक र भारतीय पर्यटक आउने क्रम सुरु भएको हो ।

पञ्चकोटमा पर्यटक बढ्दै

पञ्चकोटलाई हिन्दु र बौद्ध धर्मावलम्बीका लागि दर्शनको गन्तव्य बनाउने अभियान सुरु भएको छ । दुइ वर्षअघि बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको हो ।
मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने वातावरण बनाउने गरी अभियान थालिएको छ । ‘भारतीय र नेपाली पर्यटकलाई एक दिन यहीँ राख्ने योजना छ,’ पञ्चकोट पर्यटन समितिका महासचिव वसन्तकुमार श्रेष्ठले भने, ‘नेपालकै गतिलो गन्तव्यका लागि हामीले नमुना कामसमेत गर्दै छौं ।’ पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गर्ने योजना रहेको उनले बताए । १ हजार ५ सय मिटर उचाइको भूभागमा निर्माण गर्न प्रस्तावित १ सय ८ फिट अग्लो कलश धौलागिरिका अधिकांश स्थानबाट देख्न सकिने उनले सुनाए ।
पूर्वाधार निर्माणकै क्रममा पनि वार्षिक एक लाख हाराहारी पर्यटकहरू आइरहेका छन् । जिल्लाको होटल व्यवसायी संघका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुमेर जाने क्रम सुरु भएको छ । ‘कति पर्यटक यहाँ घुमेर मुक्तिनाथ जान्छन्, जहाजमा गएकाहरू पनि फर्केर बागलुङ घुम्न आउन थालेका छन्,’ संघ अध्यक्ष नीलेश राजभण्डारीले भने, ‘कालीगण्डकी करिडोरको ट्रयाक खुलेकोले भारतबाट बसमा आउने पर्यटकलाई पनि यो बाटो सजिलो बन्दै छ ।’ पर्यटक बढेकै कारण जिल्लामा होटल निर्माणमा लगानीसमेत बढेको उनले बताए । करिडोरमा गत कात्तिक पहिलो सातादेखि नियमित बस र जिप चल्न थालेका छन् । करिडोरले सुनौलीदेखि कोरलासम्म छोटो दूरीमा जोड्छ ।
मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा अभियान सुरु भएको हो । यहाँ कलशसँगै राखिने ५ हजार ५ सय ५५ केजीको घण्टा स्थापनाको तयारी भएको छ । उक्त स्थानदेखि पश्चिममा रहेका पाँच कोटको संरक्षण गरी पर्यटक नियमित आउने अवस्था बनाउने, केबुलकार निर्माण गरी पाँचवटै स्थानमा पुग्न सकिने बनाइने योजना छ ।
‘धार्मिक आस्था हराएको र पुरातात्त्विक स्थानहरू लोप हुन लागेको समयमा यो अभियानले संरक्षण आन्दोलन पनि ल्याएको छ,’ उनले भने, ‘करोडौं भारतीय पर्यटक घुमफिरमा निस्कन्छन् । त्यसको एक/दुई प्रतिशत हामीले भित्र्याउन सके पनि समृद्ध बन्न सक्छौं ।’ यहाँका कोटमा महालक्ष्मी, सम्यलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मी गरी पाँच महालक्ष्मीको मन्दिरसमेत बनाउने योजना छ ।

प्रकाशित : मंसिर १३, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?