३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पुनर्निर्माणपछि ‘होमस्टे’

आश गुरुङ

राइनासकोट (लमजुङ) — ऐतिहासिक एवं पर्यटकीय राइनासकोटमा भूकम्पले भत्काएका घरलाई पुनर्निर्माण गरी होमस्टे सञ्चालनमा ल्याइएको छ । यस गाउँका १६ घरमध्ये पुनर्निर्माणपछि १५ वटामा होमस्टे सुरु गरिएका छन् ।

पुनर्निर्माणपछि ‘होमस्टे’


राइनास नगरपालिकाको राइनासकोटमा होमस्टे प्रयोजनकै लागि एउटा सामुदायिक घर पनि निर्माण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पले गाउँका सबै घरमा क्षति पुर्‍याएपछि स्थानीय आफैं पुनर्निर्माणमा जुटेका थिए । भत्किएका घरमा होमस्टे चलाउन दुइ वर्षयता नमुना गाउँ निर्माण अभियान थालिएको थियो ।
सबै घरको पूर्ननिर्माण सकिएसँगै होमस्टे सञ्चालनमा ल्याइएको हो । राइनासकोट नमुना गाउँ निर्माण समिति एवं थानीमाई आमा समूहकी अध्यक्ष विष्णु गुरुङले पुनर्निर्माणमा समय लागेपनि आफ्नो गाउँले पाहुनालाई बास दिन राम्रो व्यवस्था गरेको बताइन् । ‘सबै घरमा गरी ४५ जना पाहुना एकैपटक बास बसाउने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् । पुनर्निर्माण अभियानअन्तर्गत खरले छाएको एउटा घुमाउने घरलाई जीर्णोद्धार गरी संग्रहालय स्थापना गरिएको छ । भूकम्पले क्षति पुर्‍याए पनि नभत्किएका केही घर सम्झनाका लागि राखिएको गुरुङले बताइन् ।
पुनर्निर्माणका लागि अमेरिकी नागरिक नतासा वजनियाकले सहयोग गरेकी छन् । उनले अमेरिकामा स्थापित ‘सँगसँगै’ नामक गैरसरकारी संस्थामार्फत राइनासकोटको पुनर्निर्माणका लागि सहयोग जुटाएकी थिइन् । स्थानीय आफैंले ९० लाख जुटाएका थिए ।
एक घर बराबर श्रमदानसहित ६ लाख रुपैयाँ घरधनीले व्यहोरेका छन् ।
पण्डितका अनुसार भूकम्प प्रतिरोधात्मक क्षमताका सबै घर सुविधा सम्पन्न तर पौराणिक शैलीको मौलिकता झल्कने बनेका छन् । सबै घर एउटै डिजाइनका छन् । हरेक घरमा ५ कोठा छन् । ‘हरेक घरमा आधुनिक शौचालय, नुहाउने कोठा, धारा तथा पानी टयांकी निर्माण गरिएका छन्,’ उनले भने । घरमा धूवाँरहित सुधारिएको चुलो, पिँढीमा फलैंचा, गोबरग्यास, आँगन तथा बाटोमा सडक बत्तीको उज्यालो रहेको उनले बताए ।
सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले केही पुराना घरलाई पौराणिक महत्त्व झल्काउन पहिलेकै स्वरूपलाई सुरक्षित राखिएको बताए ।
उनका अनुसार स्थानीयको कला, संस्कार तथा संस्कृति जोगाउन खरले छाएको घुमाउने घरमा संग्रहालय स्थापना गरिएको छ ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले ग्रामीण अर्थतन्त्रलाई पर्यटनले सघाउ पुगेको बताए । ‘लमजुङका हरेक गाउँ अब पर्यटकीय गाउँ बन्ने क्रममा छन्,’ उनले भने । स्थानीयका अनुसार १५ औं शताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाह बसेको ठाउँ राइनासकोट हो । राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट करिब ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?