कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चुनावी मुद्दामा नौमुरे

प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारले आयोजनालाई चुनावी मुद्दा बनाएर मत माग्दै
नौमुरेबाट सिँचाइसमेत गर्न सकिने
मनोज पौडेल

चन्द्रौटा (कपिलवस्तु) — नौमुरे जलविद्युत् आयोजना यहाँको चुनावी मुद्दा बनेको छ । प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारले बहुचर्चित यस आयोजनालाई चुनावी मुद्दा बनाएर मत मागेका छन् ।

उम्मेदवारले घरदैलोदेखि पत्रकार सम्मेलन र चुनावीसभामा वर्षौंदेखिको पुरानो आयोजना कार्यान्वयन ल्याउने आश्वासन बाँड्दै हिँडेका छन् । नौमुरेबाट जिल्लाको सधैं बन्जर रहने पश्चिमी उत्तरको क्षेत्र सिँचाई गर्न सकिन्छ । निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेकप्रताप शाहले आयोजना सञ्चालनमा ल्याउन लागेको बताए । ‘आयोजना स्थलमा बाँध निर्माण गरी त्यहाँको पानी राप्ती नदीमा खसालेर नहर बनाई कपिलवस्तुमा सिँचाइ पुर्‍याउन सकिन्छ भन्ने अध्ययनले देखाइसक्यो,’ उनले भने, ‘कृषकको उन्नति र मुलुकको विकासका लागि नौमुरै सञ्चालन गर्न लागिनेछ ।’

नौमुरेबाट बिजुली पनि उत्पादन गर्न सकिने निर्वाचन क्षेत्र २ बाट सूर्य चिह्न लिएका एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बृजेशकुमार गुप्ताले बताए । ‘मेरो जोडबल गर्ने पहिलो प्राथमिकतामा नौमुरे परेको छ,’ उनले भने, ‘२ सय ४५ मेगावाट क्षमताको बिजुली निकाल्न सकिने यो आयोजना सञ्चालनका नाममा धेरै राजनीति भयो । यसलाई वाम गठबन्धन सरकारले पूरा गर्छ ।’ आयोजनाले जिल्लाको पश्चिमी क्षेत्रमा सिँचाइको राम्रो प्रबन्ध गर्न सकिने उनको भनाइ छ । आयोजना सञ्चालन कोसेढुगा सावित हुने उनी ठान्छन् ।

‘पञ्चायत कालदेखि नै आयोजना बनाउने कुरामा धेरै राजनीति भयो,’ क्षेत्र ३ (क) का कांग्रेसबाट प्रदेशसभा उम्मेदवार अजय थापाले भने, ‘अब प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर निर्माण पूरा गर्छ ।’ भारत सरकारले उपहारस्वरूप उक्त आयोजना बनाउने घोषणा गरेको थियो । नौमुरे सञ्चालन गर्न सकियो भने जिल्लाको समग्र विकासमा यसले कायापलट हुने क्षेत्र १ का लागि वाम गठबन्धनका उम्मेदवार चक्रापाणि खनालले बताए । जिल्लाको विकासका मुद्दा उठान गर्दा पञ्चायत कालमा ६ महिना जेल बस्नुपरेको उनले सुनाए ।

तीन महिना लगाएर ०४४ सालमा सर्भे भएको नेपालकै नमुना आयोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा बेवारिसे जस्तै बनेको छ । एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने कार्यकालमा राष्ट्रिय योजनाअन्तर्गत आयोजनालाई अगाडि सारिएको थियो । तर, अल्पमत सरकारका कारण कार्यान्वयन पक्ष फितलो बनेको हो । गणतन्त्रपछि प्रधानमन्त्री बनेका माओबादी केन्द्रका अध्यक्ष दाहालको भारत भ्रमणका बेला आयोजनालाई भारतले उपहारस्वरूप निर्माण गरिदिने सहमति भएको थियो । दुई देशबीचको सहमति कार्यान्वयन पक्ष फितलो हुँदा कागजमा मात्र सीमित रहयो । नौमुरे आयोजना सञ्चालन गर्न सके कपिलवस्तु, दाङ, अर्घाखाँची, प्यूठान, पाल्पा र गुल्मीका बासिन्दालाई फाइदा पुग्ने बताइएको छ । आयोजनास्थल अर्घाखाँची र प्यूठानको सीमामा पर्छ ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?