इवाखोलाको ७० प्रतिशत काम पूरा

शाहीमान राई

पाँचथर — ताप्लेजुङ र पाँचथरको सीमावर्ती इवाखोलाबाट निर्माणाधीन ९ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । आउँदो वैशाखमा निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने प्रवद्र्धक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

सदरमुकाम फिदिमदेखि ९७ किलोमिटर उतर याङवरक गाउँपालिका वडा नं ४ थर्पु र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुको सीमावर्ती इवाखोलाबाट निर्माणाधीन आयोजना गत वर्ष सुरु भएको हो । आयोजनाले याङवरक–६ थर्पुको दाहालगाउँस्थित कावेली र इवाखोला दोभानमा विद्युत्गृह निर्माण, मुहानमा बाँध, बालुवा थिगार्ने पोखरी, पेनस्टक पाइपलाइनलगायत ७० प्रतिशत पूरा भएको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए ।
उनका अनुसार विद्युत्गृह नजिकै सर्चटेंक, सिभिल कन्स्ट्रक्सन, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल इन्जिनियरिङको कामसमेत अधिकांश पूरा भएको छ । रिडी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको सहायक कम्पनी रैराङ हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीद्वारा निर्माणाधीन आयोजना २०७५ जेठदेखि सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए ।
रिडी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी लिमिटेडको प्रवद्र्धन र बैंक तथा वित्तीय संस्थाको एक अर्ब ६० करोड रुपैयाँ लगानीमा दशमलव ९ मेगावाट क्षमताको निर्माणाधीन विद्युत् आयोजना २०७५ साउन १ गते पूरा गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने नेपाल विद्युत् प्राधिकरणसित सम्झौता छ ।
यो आयोजनाको कुल लगानीमध्ये ६५ प्रतिशत बैंकको ऋण र ३५ प्रतिशत कम्पनीको लगानी रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ । यसमध्ये रिडी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको २५ प्रतिशत, प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, मुलुकभरका सर्वसाधारणको १५ प्रतिशत र ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीहरूको स्वामित्व रहेको निर्देशक नेपालले बताए ।
कम्पनीले आयोजना प्रभावित पाँचथर, ताप्लेजुङ र मुलुकभरका सर्वसाधारणलाई सेयर वितरण गरिसकेको जनाएको छ । प्रभावित र अति प्रभावित क्षेत्रका बासिन्दाबाट ५ करोड ६० लाख रुपैयाँ सेयर असुल गरेको हो ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?