१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कृषकले किवीबाट आम्दानी गर्न थाले

प्रताप विष्ट

हेटौंडा — किवी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थे । तर अहिले भने सबैले उनलाई स्याबासी दिन थालेका छन् । उनको सिको पनि गर्न थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका ६ बज्रवाराहीका मनोरथ बलामीले किवी खेतीबाट गत वर्ष साढे २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए ।

यो वर्ष उनले साढे ३ लाखभन्दा बढीको किवीबाट आम्दानी गरे । 

गत वर्षसम्म स्थानीयवासीले किवी खरिद गरेर खाँदैनथे । बलामीले गाउँलेलाई प्रतिकेजी २ सय रुपैयाँमा बिक्री गर्ने गरेका छन । काठमाडौंमा भने प्रतिकेजी ३ सय रुपैयाँमा बिक्री हुने गरेको छ । बलामी ८ वर्षअघिदेखि किवी खेती गर्न सुरु गरेका थिए । पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेका मनोरथसँग अहिले १ सय ६० वटा किवीका रूख छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरुसुरुमा बजारको पनि समस्या थियो,  अहिले समस्या छैन, काठमाडांै लगेपछि बिक्री भइहाल्छ, गाउँमा पनि बिक्री हुन थालेको छ,’ बलामीले भने ।  उनले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैया पर्छ । बलामीको करिब ५ रोपनी जमिन किवीको बोटले ढाकेको छ । किवी खेती बज्रवाराहीमा बलामीले मात्र गरेका छैनन् । करिब ४० जना कृषकले किवी खेती गरेका छन् ।
 विगत ७ वर्षदेखि बज्रवाराहीका फणिन्द्र सुवेदीले किवी खेती गरेका छन् । उनले यो वर्ष करिब ७ लाख रुपैयाँभन्दा बढीको किवी बिक्री गरिसकेका छन् । अझै पनि रूखमा फलेका किवीहरू बिक्री गर्न बाँकी छ । सुवेदीको १५ रोपनीमा करिब साढे २ सय किवीका बोट छन् । अधिकांशले फल दिन थालिसकेका छन् । वज्रवाराहीका कृषकले मात्र होइन नामटार गाविसस्थित अघोरका कृषक कृष्णवहादुर भोम्जनले पनि किवी खेती गरेका छन् । उनको पनि गत वर्षदेखि उत्पादन सुरु भएको छ । ४० वटा बोटमा किवी फलेका छन । मकवानपुरमा यो वर्ष ३० लाख रुपैयाँभन्दा बढीको किवी उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादनअन्तर्गत बज्रवाराही र नामटार गाविसलाई किवी खेतीका लागि छनोट गरेको थियो । किवी खेतीका लागि कृषि विकास कार्यालय मकवानपुरले 
बलामी, सुवेदी र भोम्जनलाई आर्थिक र प्राविधिक सहयोग गरेको छ । किवी फल स्वास्थ्यका लागि उपयुक्त भएकाले यसका पारखी स्वदेशी र विदेशी दुवै छन् । ८ सय मिटरदेखि २० हजार मिटरसम्मको उचाइमा किवी खेती उपयुक्त हुने भएकाले मकवानपुरलाई किवी खेतीका लागि छनोट गरिएको कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए । चैतमा फल्ने किवी कात्तिकमा पाक्ने गर्छ । एउटा बोटमा सय केजीभन्दा बढी किवी फल्छ । एउटा बिरुवाको आयु ३० वर्षसम्म हुन्छ । 

प्रकाशित : मंसिर १७, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?