कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको जिम्मा कुखुरा फार्म

खगेन्द्र अवस्थी

पुर्चौंडी (बैतडी) — रोजगारी नपाएको भन्दै धेरै युवा विदेशिएका छन् । पुर्चौडी नगरपालिका १ हाटकी मानमती बोहराले कुखुरा पालेर राम्रो आम्दानी गरेकी छन् ।

महिलाको जिम्मा कुखुरा फार्म

उनले घरमै खोर बनाएर गिरिराज, न्यु हेम्पर र स्थानीय जातका कुखुरा पालेकी हुन् । एक वर्षदेखि व्यावसायिक कुखुरापालन थालेकी उनको आर्थिक हैसियत पनि सुधारिएको छ । घर खर्च र कुखुराको दानापानी सबै खर्च कटाएर मासिक १४ हजारसम्म बचत हुने गरेको बोहराले जनाइन् ।

तीन रोपनी जमिनमा विभिन्न तरकारी खेती पनि गरेकी छन् । कुखुरा र तरकारीले उनी गाउँकै नमुना कृषक दरिन्छिन् । श्रीमानको जागिरले घर खर्च चल्दै आए पनि विदेश गएरमात्र पैसा कमाउन सकिन्छ भन्ने मान्यता हटाउन गाउँमै व्यवसाय थालेको मानमतीले बताइन् ।
उनले १ सय ४० कुखुरा पालेकी छन् । आँगनबाटै जिउँदो कुखुरा केजीको ५ सयका दरले बिक्री गर्दै आएको मानमतीले बताइन् । बिक्री भएअनुसार नयाँ चल्ला उनले थप्छिन् । गाउँमै कुखुरा फार्म सुरु गर्दा खोर निर्माण, चल्ला खरिद र दाना तथा औषधिमा ६ लाख रुपैयाँ लागेको थियो, उनले भनिन्, ‘घरमै बसेर छोराछोरीको हेरचाहसाथ कुखुरापालनले आर्थिक अवस्थामा पनि सुधार गर्न सकेकी छु ।’

सुरुमा लगानीअनुसार आम्दानी नभए पनि अहिले कुखुरा र अन्डाबाट राम्रै हुन थालेको उनले बताइन् । ‘बजार खोज्ने अवस्था छैन, जति भए पनि घरमै लिन आउँछन्,’ मानमतीले भनिन्, ‘चल्ला र दाना महँगो हुँदा सोचेअनुसार फाइदा नभए पनि खर्च चलाएर मासिक १४ हजारसम्म बचत गरेकी छु ।’

उनका श्रीमान् डम्मर कुँवर हाट स्वास्थ्य चौकीका ल्याब कर्मचारी हुन् । फुर्सदको समयमा घरायसी काममा सघाए पनि कुखुराको जिम्मा मानमतीकै हो । कुखुरा पालनमा बजारको समस्या नभए पनि प्राविधिक सेवा र औषधि उपलब्ध नहुँदा धेरै दु:ख झेल्नुपरेको अनुभव उनले सुनाए ।

कृषकको व्यवसाय बढाउने र प्रोत्साहन गर्ने सरकारको अनुदानका कार्यक्रम गाउँसम्म नपुग्दा सहयोग पाउन नसकेको उनीहरूको गुनासो छ । व्यवसाय सुरु गरेपछि सुआहारा परियोजनाले नमुना कृषक भन्दै ७५ हजार सहयोग गरेको उनले बताए । ‘पुँजी नभएर व्यवसाय गर्न नसकेका कृषकले सहयोग पाउँदैनन्,’ उनले भनिन्, ‘भनसुन र पहुँचका भरमा अनुदान वितरण गरिँदा मेहनत गर्ने मारमा छन् ।’

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?