होमस्टेबाट मासिक लाख आम्दानी

प्रताप विष्ट

हेटौंडा — मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् ।

मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् । यहाँका होमस्टे पर्यटकहरूले खचाखच हुन थालेपछि व्यवसायी पनि उत्साही छन् । ‘अहिले होमस्टेमा बस्नेको संख्या पहिलाभन्दा निकै बढेको छ,’ चित्लाङे काजी होमस्टेका सञ्चालक रामकृष्ण बस्नेतले भने, ‘शुक्रबार र शनिबार त झनै धेरै पर्यटक आउँछन्, सबै होमस्टे भरिएर रिसोर्टतिर पनि पठाउनुपर्ने अवस्था छ ।’

चित्लाङमा अहिले करिब एक दर्जन होमस्टे सञ्चालनमा छन् । १५ जनादेखि सय जनासम्म अट्ने होमस्टेहरू सञ्चालनमा छन् । ‘सबै होमस्टेहरूमा गरी करिब २ सय जनालाई खाना बस्न दिन सक्ने क्षमताको छ,’ होमस्टे व्यवस्थापन समितिका सचिवसमेत रहेका काजी होमस्टेका सञ्चालक बस्नेतले भने, ‘ठूलो समूहमा आएका पाहुनाहरूलाई राख्न नसक्ने अवस्था छ । पर्यटक थपिएसँगै होमस्टे पनि थप्नुपर्ने भएको छ ।’

तत्कालीन जिविस मकवानपुरको सहयोगमा चित्लाङका स्थानीयलाई तालिम दिएर होमस्टे सुरु गरिएको थियो । २०६८ सालमा चित्लाङमा ४ वटा घर यसमा सहभागी थिए । त्यसयता आधा दर्जन थपिए पनि पर्यटकको भारलाई थेग्न भने सकेका छैनन् ।

डेढ सय जनाको टोली बास बस्न आए भने सबैलाई एउटै समूहको घरमा राख्न सकिँदैन । एउटा समूहदेखि अर्कोसम्म पुग्न टाढा हिँड्नुपर्छ । पर्यटकहरू बाँडिएर बस्न रुचाउँदैनन् ।

पर्यटक बढेसँगै होमस्टे सञ्चालकको आम्दानी पनि बढेको छ । पर्यटकलाई खान र बस्न दिएर हाल मासिक ३० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले बताए ।

आन्तरिक एवं बाह्य पर्यटकहरू धेरै आउने थालेकाले होमस्टेहरू पनि रिसोर्टमा परिणत हुने अवस्थामा पुगेका छन् । ‘होमस्टे र रिसोर्टको फरक–फरक स्वाद हुन्छ तर सबै होमस्टेहरू रिसोर्टमा परिणत होलान् भन्ने डर छ,’ व्यवस्थापन समितिका सचिव बस्नेतले भने, ‘सकेसम्म होमस्टेको स्वाद र पहिचानलाई बचाउने प्रयास गरिरहेका छौं ।’

थानकोट–चन्द्रागिरी केवलकार सञ्चालनमा आएयता चित्लाङमा पर्यटक बढ्न थालेका छन् । थानकोट–चन्द्रागिरी र चित्लाङको १२ किलोमिटर मोटरबाटो स्तरोन्नति भएपछि पर्यटक आवागमन हवात्तै बढ्ने होमस्टे सञ्चालकहरूको अपेक्षा छ ।

चित्लाङका बासिन्दाले पर्यटकहरूलाई स्थानीय बाजागाजासहित स्वागत गर्ने गरेका छन् भने चित्लाङमा उत्पादन गरिएका अर्गानिक खाद्य वस्तुहरू खान दिने गरेका छन् । होमस्टे सञ्चालकले स्थानीय स्तरमा उत्पादन हुने बेथेको साग, सिस्नो, फापरको रोटीदेखि विभिन्न परिकार बनाएर पर्यटक लोभ्याउने गरेका छन् ।

चन्द्रागिरीमा केवुलकार सञ्चालनसँगै चित्लाङमा प्राचीन सम्पदाको अध्ययन अवलोकन गर्न आउने पर्यटकको संख्या पनि बढेको छ । चित्लाङले पर्यटकहरूलाई लोभ्याउनसफल भएकाले पर्यटन बोर्डले चार वर्षअघि चित्लाङलाई पर्यटकीय गाविस घोषणागरेको थियो ।
ट्राउट माछा र बाख्राको चीजको स्वाद चाख्नसमेत पर्यटकहरू चित्लाङ पुग्ने गरेका छन् । सम्राट अशोकले बनाएको अशोक चैत्य र किरात राजाहरूले बनाएका मन्दिर र शिलालेखका कारण इतिहासका विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मह र मौरी बेचेर गाउँमै मनग्य आम्दानी

घनश्याम खडका

म्याग्दी — साउदी अरब र इराकमा एक दशक काम गरेर फर्केका मंगला गाउँपालिका कुहुँका गोविन्द केसीले मह र मौरी बेचेर वर्षमा १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

कात्तिक–मंसिर घर–मह झिक्ने उपयुक्त सिजन हो । यतिबेला म्याग्दीका मौरीपालक कृषकलाई मह झिक्ने र बेच्ने चटारो छ । केसीले मात्र होइन बेनी नगरपालिका डडुवाकी रामकुमारी खत्री अर्की अगुवा मौरीपालक कृषक हुन् । खत्रीले हाल १ सय २० घारमा मह र मौरी गरी वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन् । मह र मौरी बेच्न समस्या छैन, अग्रिम नगद पेस्की लिएर उपभोक्ता घरमै आउँछन् । शुद्ध मह भएकाले उपभोक्ता घरमै पुग्ने गरेका हुन् ।

प्रशस्त वनजंगल र मौरीको चरन क्षेत्र भएकाले जिल्लाका सबै बस्ती मौरीपालनका लागि अनुकूल छन् । डडुवा, पूर्णगाउँ, कुहुँ, हिदी, थाइबाङ, भर्जुजा, सल्यान र भकिम्लीका दुई दर्जनभन्दा बढी कृषकले मह र माहुरी बेचेर मासिक न्यूनतम ६० हजारदेखि १ लाख २० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

मौरीपालनको अनुकूल वातावरण र पर्याप्त चरन क्षेत्र भएकाले कम लगानीमा छिटो राम्रो आम्दानी गर्न थालेपछि म्याग्दीका कृषकले रैथाने सीप तथा प्रविधिमा सुधार गरी व्यावसायिक रूपमा मौरीपालन पेसा अपनाएका हुन् । गाईगोठ वा खेतीपातीमा जस्तो धेरै समय र पुँजी लगानी गर्नु नपर्ने तर राम्रो आम्दानी हुने भएकाले मौरीपालनमा कृषकको आकर्षण बढेको हो । ‘फुर्सदको समय उपयोग गर्न मौरी पाल्न थालेको हुँ । मह र मौरीको घार बेचेर वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ,’ अगुवा मौरीपालक कृषक गोविन्द केसीले भने, ‘गाईगोठ, खेतीबाली र सामाजिक काममा पनि भ्याएको छु । खासमा मौरीपालन पैसा फल्ने फुर्सदको व्यवसाय भएको छ ।’

मौरीपालन विस्तार हुन थालेपछि नयाँ घार र गोलाको माग बढेको छ । उपयुक्त हावापानी र पर्याप्त चरन क्षेत्र रहेको म्याग्दीमा परम्परागत काठको मुडेघारमा मौरीपालन गर्दै आएका यहाँका कृषकले पछिल्लो समय आधुनिक घारमा मौरी पाल्न थालेका छन् । व्यावसायिक मौरीपालन गरेका कृषकले मह र मौरीको गोला बेचेर राम्रो आम्दानी गर्न सकेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले पात्लेखेत, पिप्ले, डडुवा, घार, भकिम्ली, कुहुँ, भरजुलासमेतका दर्जन बस्तीलाई मौरीपालन पकेट क्षेत्र घोषणा गरिएको छ । सातवटा समूहमा आबद्ध १ सय ४० जना कृषकले चार हजार पाँच सय घारमा सेरेना जातको व्यावसायिक मौरीपालन गरेको कार्यालयले जनाएको छ ।

म्याग्दीमा वार्षिक २२ हजार ५ सय किलोग्राम घरमह उत्पादन हुन्छ । ‘हिमालमुनिका बस्तीदेखि बेंसीका बस्तीसम्म मौरी पाल्न सकिन्छ । सहरी बस्तीमा घटदो खेती र मौरीचरन नासिने क्रम बढेकाले माथिल्लो क्षेत्रमा राम्रो भइरहेको छ,’ अगुवा कृषक रामकुमारीले भनिन्, ‘जिल्लामा मौरीको माग बढी भएकाले महभन्दा बढी माहुरीको घार बेच्ने गरेकी छु । कृत्रिम प्रविधिले मौरी उत्पादनले सजिलो भएको छ ।’

मौरीपालनको प्रशस्त सम्भावना देखेपछि यहाँका कृषकले परम्परागत शैलीलाई परिवर्तन गरी थप व्यावसायिक बनाउन कृत्रिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृत्रिम प्रविधिबाट रानी मौरी उत्पादन गर्ने भएकोले मह झिकेर पनि मौरी विक्रि गर्न सम्भव भएको हो । मौरी घार विस्तार र मह उत्पादन बढाउन आवश्यकताअनुसार मौरी पालनको पकेट क्षेत्रमा कृषकले आफैले स्थानीय सेराना जातको मौरीमा कृत्रिम प्रविधिबाट गुणस्तरीय रानीमौरी उत्पादन गर्न थालेका हुन् ।

‘कृत्रिम प्रविधिबाट रानीमौरी उत्पादन जिल्लामा पहिलोपटक प्रयोगमा ल्याइएको प्रविधि हो । यस्तो प्रविधिले जिल्लामा बढदो मौरी घारको माग थेग्न सहयोग गर्नेछ,’ वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले भने, ‘पर्याप्त भीरमौरी पाइने क्षेत्र रहेको र यहाँका कृषकले खेतवालीमा विषादी ज्यादै न्यून गर्ने भएकाले म्याग्दी मौरीपालनको पकेट क्षेत्र बन्न सक्छ ।’

कृत्रिम प्रविधिबाट रानीमौरी उत्पादन गर्न ‘डिपिङ रड’ को सहायताले ताजा मैनलाई ‘क्विन कप’ बनाई ‘ग्राफ्टिङ फ्रेम’ मा टाँसिन्छ । त्यसपछि १–२ दिन उमेरका माहुरीका लार्भालाई क्विन कपमा ट्रान्सप्लान्ट गरिन्छ । कृत्रिम रानोमौरी उत्पादन गर्नु २४ घण्टा पहिला नै मौरीको घारलाई रानीविहीन बनाइन्छ । क्विन कपमा ट्रान्सप्लान्ट गरेको ग्राफटङ फ्रेमलाई रानीविहीन मौरीको घारमा राखिन्छ । यदि मौरीहरूले स्वीकार गरेमा १५ दिनमा छुट्टै रानीमौरीको जन्म हुन्छ ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT