कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किसान अलैंची ‘ग्रेडिङ’ गर्न व्यस्त

आश गुरुङ

लमजुङ — अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य घटदो क्रममा देखिएपछि लमजुङका किसान अलैंचीको ग्रेडिङ (गुणस्तर निर्धारण) गर्न व्यस्त छन् । बिक्री गर्नुअघि किसानले अलैंचीको गुणस्तर कायम गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय बजारले गुणस्तरीय अलैंची खोजेको र बिक्री पनि छिट्टै हुने भएपछि किसानले यसको गुणस्तरमा ध्यान दिन थालेको हो ।

किसान अलैंची ‘ग्रेडिङ’ गर्न व्यस्त

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य घटदो क्रममा देखिएपछि लमजुङका किसान अलैंचीको ग्रेडिङ (गुणस्तर निर्धारण) गर्न व्यस्त छन् । बिक्री गर्नुअघि किसानले अलैंचीको गुणस्तर कायम गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय बजारले गुणस्तरीय अलैंची खोजेको र बिक्री पनि छिट्टै हुने भएपछि किसानले यसको गुणस्तरमा ध्यान दिन थालेको हो । टिपेर भट्टीमा सुकाइसकेपछि त्यत्तिकै वा पुल्ठो (पुच्छर) पोलेर बिक्री गर्नाले अलैंचीको गुणस्तर घट्ने भएपछि यसले बजार नपाउने किसान बताउँछन् ।

अलैंची व्यवसायी महासंघले पुल्ठो पोलेर बिक्री गर्न रोक लगाएको छ । अलैंचीको गुणस्तर निर्धाणर गरेर मात्रै बिक्री–वितरण गर्न लगाएको अलैंची व्यवसायी महासंघ जिल्ला शाखाका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार किसान र व्यवसायीले अलैंचीलाई ३ किसिमबाट गुणस्तर छनोट गरी बिक्री गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा लमजुङको अलैंचीलाई चिनाउन र छिटो बिक्री गराउन पनि ‘ग्रेडिङ’ गरिएको उनले बताए । उनका अनुसार सबैभन्दा गुणस्तरीय अलैंची जम्बो जेठ (जेजे), मिडियम साइज (एमएस) र चलनचल्ती गरी ३ किसिमको गुणस्तर कायम गरिएको छ । जम्बो जेठ समूहमा ठूलाठूला दाना, मिडियम समूहमा मझौला दाना र चलनचल्तीमा पुच्छर भएको, फुटेको र सानो आकारको अलैंचीको दाना पर्छ ।

प्रतिकिलो जम्बो जेजेको ६ सय ८० देखि ७ सय रुपैयाँ, मिडियम साइजको ६ सय ५० देखि ६ सय ७० र चलनचल्तीको ६ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । उनका अनुसार ग्रामीण भेगका कृषकले करिब ६० प्रतिशत अलैंची बिक्री गरिसकेका छन् । मस्र्याङ्दी गाउँपालिका ७, लुदीका किसान सन्तबहादुर तामाङले गाउँको अलैंची बिक्री भइसकेको बताए । मस्र्याङ्दी गाउँपालिका ७, छिनखोलाका किसान पार्वती तामाङले अलैंचीलाई ग्रेडिङ गर्न किसानलाई भ्याइनभ्याइ भएको बताइन् ।

महासंघका अनुसार तीन वर्षयता अलैंचीको मूल्य ओरालो लागेको छ । गत वर्ष प्रतिकिलो ठूलो दानाको १ हजार १ सयदेखि १ हजार ४ सय, मझौलाको १ हजार १ सयदेखि १ हजार ३ सय र चलनचल्तीको १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री भएको थियो ।

अघिल्लो वर्ष (परार) प्रतिकिलो २ हजार ५० देखि २ हजार २ सयसम्म बिक्री भएको थियो । अघिल्लो वर्षको तुलानामा झन्डै ४ गुणा अर्थात् साढे ३ सय प्रतिशतले अलैंचीको मूल्यमा गिरावट आएको छ । गत वर्षभन्दा यस वर्ष करिब ५० प्रतिशत मूल्यमा गिरावट आएको छ ।

नेपालमा भन्दा भारतमा अलैंचीको उत्पादन बढी, चुरुम्फा (नक्कली) अलैंचीको प्रयोग, अन्तर्राष्ट्रिय बजारमा कम गुणस्तरको अलैंची जानु, पुल्ठो लगाउने (पुच्छर पोल्ने) लगाउने कार्यले अलैंचीको मूल्य बर्सेनि घट्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भारतको अलैंचीको मूल्य कायम हुने र त्यसको मार नेपालका अलैंची कृषकले व्यहोर्नुपरेको वरिष्ठ कृषि विकास अधिकारी कृष्णभद्र अधिकारीले बताए । ‘लमजुङको अलैंची देशभरिमै सबैभन्दा राम्रोमा गनिन्छ । सबै मिसावट गरिएपछि भारतले छुट्टै गुणस्तर भनेर ध्यान दिँदैन,’ उनले भने, ‘हामीले नेपालको अलैंचीलाई सीधै अन्तर्राष्ट्रिय बजारमा पठाउने बाटोको खोजी गरिरहेका छौं । अहिलेलाई बिर्तामोड हुँदै भारत नपुर्‍याएसम्म सुखै छैन ।’

यस वर्ष अलैंचीको भाउसँगै उत्पादन पनि घट्ने देखिएको उनले बताए । गत वर्ष जिल्लाभर ८ सय २१ क्विन्टल अलैंची उत्पादन भएकोमा यस वर्ष ६ सय क्विन्टल मात्रै उत्पादन हुने प्रक्षेपण अलैंची व्यवसायी महासंघ र कृषि कार्यालयले गरेको छ । वर्षौंअघिका बिरुवा पुराना र बूढो भएकाले सबै सुकेको र यसको मारमा किसान परेको कृषि प्राविधिकहरूले बताएका छन् । ‘अब पुराना सबै फालेर नयाँ रोप्नुको विकल्प छैन,’ उनले भने ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?