कर्मचारीले उठाउन थाले निकासी कर

ताप्लेजुङ — पटकपटक आह्वान गर्दा पनि ठेक्का नलागेपछि जिल्ला समन्वय समितिका कर्मचारी आफैं निकासी कर संकलन गर्न थालेका छन् । मेची राजमार्गको सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोस्ट छेउमा बसेर संकलन सुरु गरेका हुन् । समितिले ढुंगा, गिट्टी र बालुवाको मात्रै संकलन थालेको छ ।


स्थानीय विकास अधिकारी नरहरि भण्डारीका अनुसार गत वर्ष उठेको रकमलाई लक्षित गरी चारपटकसम्म ठेक्का आह्वान गरिएको थियो । चारैपटक कसैले पनि आवेदन नदिएपछि कात्तिक १७ गते ‘स्टाफ मिटिङ’ बसेर कर्मचारी आफैं खटिने निर्णय भएको हो । 

गत वर्ष १० लाख १० हजार रुपैयाँ संकलन भएको थियो । यो आर्थिक वर्षमा पनि त्यही अनुपातमा संकलन हुने अपेक्षा गरिएको उनले बताए । प्रशासन शाखाका भोला सिग्देलका अनुसार प्रति ट्रयाक्टर २ सय ५० रुपैयाँ संकलन हुन्छ ।

बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा कर्मचारी विभाजन गरी आलापालो संकलन केन्द्रमा बस्ने व्यवस्था मिलाइएको उनले बताए । ‘अहिले खासै काम पनि छैन, त्यसैले आलोपालो मिलाएर आफैंले संकलन गरौं भनेर लागिपरेका हौं,’ सिग्देलले भने, ‘नौ महिनासम्म कर उठाउँछौं ।’ साउन, भदौ र असोज तीन महिना ढुंगा, गिट्टी र बालुवा संकलन गर्न नपाइने भएकाले यो अवधिमा कर संकलन गर्नुपर्दैन । 

समितिले अहिले काबेली, तमोर नदीबाट आउने बालुवालाई विशेष ध्यान दिएको छ । काबेलीबाट दैनिक कम्तीमा १५ ट्रयाक्टर बालुवा आउँछ । फागुन–चैत महिनामा सबैभन्दा धेरै आउँछ । सुकेटार, थेचम्बुलगायतका क्षेत्रका बाटोबाट धेरै गिट्टी आउने भएकाले त्यो क्षेत्रलाई पनि ध्यान दिएर कर उठाउने व्यवस्था मिलाउने योजना कर्मचारीको छ । 

गत वर्ष ठेक्का लिएका जंग बस्नेतका अनुसार धेरै बाँकी हुने र उठाउन नसकिने भएकाले एकपटक ठेक्का लिएकाले फेरि लिन हिम्मत गर्दैनन् । ‘साथीभाइ धेरै चिनजानका हुन्छन्, फोन गरेर छुटाइदे न म दिइहाल्छु नि भन्छन्, धेरै भएपछि भाग्न थाल्छन्, उठाउनै नसकिने रहेछ,’ बस्नेतले भने, ‘घाटा मात्रै होइन पूरै घाटा हुने रहेछ कसले आँट गर्ने र ।’ अलैंचीलगायतका अन्य कर भने लागिसकेको समितिले जनाएको छ ।

 

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?