निर्वाचनका दिन आन्तरिक उडानमा ७५ प्रतिशत कटौती

सुरज कुँवर

काठमाडौं — दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावका दिन बिहीबार काठमाडौंबाट बाहिर जाने र फर्किने गरी ७५ हाराहारीसम्म उडान हुने हवाई सेवा सञ्चालकले जानकारी दिएका छन् ।

निजी वायुसेवा प्रदायकहरूको संगठन (आयोन) का अनुसार चुनाव हुने क्षेत्रमा अत्यावश्यक सवारी साधानबाहेक अरू सवारी नचल्नेलगायतका कारण आन्तरिक रुटमा झन्डै ७५ प्रतिशत उडान हुने छैनन् । आयोनमा हाल ८ वटा हेलिकप्टरसहित १५ वटा जहाज कम्पनी सदस्य छन् । ‘मुख्य कारण त चुनाव नै भयो, त्यसबाहेक पास नभएका निजी र सार्वजनिक सवारी साधन नगुड्ने भएकाले बिहीबार यात्रुको टिकट माग नै कम भएको हो,’ आयोनका प्रवक्ता घनश्याम आचार्यले भने । उनका अनुसार चुनावका दिन उडान बन्द नै गर्नुपर्ने बाध्यकारी सरकारी नियम छैन । उद्धार तथा चुनावी मामलामा हेलिकप्टर उडान भइरहन्छन् ।

सर्वाधिक आन्तरिक उडान भर्ने बुद्ध एयरले चुनावका दिन पोखरा र चितवनमा मात्रै उडान राखेको छ । ‘सामान्य दिनमा ४५ सम्म उडान गथ्र्यौ तर बिहीबार पोखरा र चितवनमा गरी ६ वटा हाराहारी उडान तालिका छ । पर्वतीय उडानको अझै टुंगो लागिसकेको छैन,’ बुद्धका बजार निर्देशक रूपेश जोशीले भने ।

६ वटा जेटस्ट्रिमसहित सुगम रुटमा ८ वटा विमान उडाउँदै आएको यती एयरलाइन्सले पनि करिब ९० प्रतिशत उडान कटौती गरेको छ । यतीका डेपुटी मार्केटिङ म्यानेजर राजेन्द्र शर्माका अनुसार चुनावका दिन पर्यटक लक्षित उडान मात्रै तालिकामा राखिएका छन् । यस कम्पनीका जहाजले दैनिक औसत ३० वटा उडान गर्छन । ‘काठमाडौंबाट पोखराका लागि तीनवटा र दुइटा माउन्टेन फलाइट मात्रै हुने छन्,’ शर्माले भने ।

त्यसैगरी टुइनअटर र डोर्नियर गरी ५ वटा विमान रहेको ताराले पोखराबाट जोमसोमका लागि एउटा र काठमाडौंबाट लुक्लाका लागि दुइटा मात्रै उडान राखेको छ ।

ताराका विमानले सामान्य दिनमा २० हाराहारी उडान गर्थे । त्यसैगरी तीनवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले चुनावका दिन सबै उडान कटौती गरेको प्रबन्धक अनिल मानन्धरले बताए ।

दुईवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा रुटमै दैनिक १६ वटा उडान भर्दै आएको सौर्य एयरलाइन्सले पनि पूरै उडान कटौती गरेको बजार प्रमुख मुकेश खनालले बताए । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पनि आन्तरिक उडान नगर्ने निर्णय गरेको छ । कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीका अनुसार, निगमले सुरक्षा र कर्मचारी परिचालन व्यवस्थापनका कारण आन्तरिक उडान बन्द गरेको छ तर अन्तर्राष्ट्रिय उडानलाई भने यथावत् नै राखेको छ । निगमका ६ वटा विमानले आन्तरिकरुटमा दैनिक १० हाराहारी उडान भर्दै आएका छन् ।

त्यसैगरी डोर्नियर विमानमार्फत सेवा गर्दै आएको सीताले लुक्ला मात्रै उडान गर्ने भएको छ । योरुटमा विदेशी पर्यटकहरूको पहिल्यैदेखिको टिकट बुकिङ भएकाले सीतालगायत समिट एयरलाइन्सले पनि उडान राखेको छ । ‘नेपालगन्जदेखि मध्यपश्चिमका पहाडी रुटका सबै उडान बन्द गरेका छौं, लुक्लामा चारवटा उडान हुनेछन्,’ समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले भने ।

आन्तरिक रुटमा ७५ प्रतिशत हाराहारी उडान कटौती हुने भएपनि अन्तर्राष्ट्रिय रुटका उडानमा भने सामान्य दिनसरह उडान हुने भएका छन् । विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अनुसार, चुनावका कारण कुनै पनि विदेशी एयरलाइन्सलले उडान कटौती गरेका छैनन् । नेपाललाई बाँकी विश्वसँग जोड्ने २६ हाराहारी विदेशी एयरलाइन्सले दैनिक ३० देखि ४५ सम्म उडान गर्छन् ।

त्यस दिन पर्यटन बोर्डको संयोजनमा विमानस्थलसम्मका लागि तीनवटा सट्टल बस चलाउने भएको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने बसहरूको रुटका लागि पर्यटन प्रहरीको टोल फ्री नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ । यी बसले प्रतियात्रु ३ सय रुपैयाँ टिकट शुल्क तोकेको छ । यी बसको रुटमा काठमाडौंभित्रका सबै तारेहोटल र ठमेललाई जोडिएका छन् ।

प्रकाशित : मंसिर २०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

चिया बगानमा काँटछाँट सुरु

विप्लव भट्टराई

इलाम — बगानमा हरियो चियापत्तीको मुना पलाउन छाडेको छ । तर अन्तुका लक्ष्मण गौतमको व्यस्तता चियाबारीमा नै देखिन्छ । छिमेकी केशव घिमिरेको दैनिकी पनि उस्तै छ । बगानमा मुना पलाउन छाडेको छ । तर पनि चिया कृषकको व्यस्तता घटेको छैन ।

चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुर्‍याउन खटेका कृषक यति बेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम सुरु गर्नुपर्छ । चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । यतिबेला कटिङको क्रममा कृषक व्यस्त छन् ।

चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ । ‘यतिबेला काटिएन भने उत्पादनमा ठूलो असर हुन्छ,’ घिमिरेले भने, ‘हरेक ३ वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ ।’ जमिनको सतहदेखि १२ देखि १४ इन्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट ६ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ । तर यहाँका नयाँ बगानले यो कटिङगर्नुपरेको छैन ।

ठूलो बगान भएका कृषकले प्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएकाले अर्म पर्मले काम चलाउने कृषक बताउँछन् । ‘चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल छ,’ गौतमले भने, ‘खेती बिगार्नुभन्दा आफैं अर्म–पर्म गरेर काम चलाउने गरेका छौं ।’

ठूला चिया बगानमा पनि श्रमिकघटेका कारण काँटछाँटमा मेसिनको प्रयोग हुने गरेको छ । तर मेसिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् । जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषकको छ । फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ । कटिङसँगै चियालाई मल्चिङ गर्न पनि उत्तिकै भ्याइनभ्याइ छ ।

चियापत्ती आउन छाडेपछि कारखानाले पनि मेसिनको मर्मत सम्भारसँगै आउँदो सिजनको तयारीका लागि समय खर्चने गरेका छन् । चैतदेखि निरन्तर सञ्चालनमा रहेका चिया कारखानाहरूले सबै मेसिनरी सामानको चाँच गर्ने, अत्यावश्यक सामग्री थपघट गर्ने र दाउराको जोहो गर्ने गर्छन् । यहाँका दुई दर्जन ठूला र ६० को हाराहारीमा रहेका सना कारखानाको हिउँद यामको व्यस्तता यस्तै हुने गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्