चिया बगानमा काँटछाँट सुरु
इलाम — बगानमा हरियो चियापत्तीको मुना पलाउन छाडेको छ । तर अन्तुका लक्ष्मण गौतमको व्यस्तता चियाबारीमा नै देखिन्छ । छिमेकी केशव घिमिरेको दैनिकी पनि उस्तै छ । बगानमा मुना पलाउन छाडेको छ । तर पनि चिया कृषकको व्यस्तता घटेको छैन ।
चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुर्याउन खटेका कृषक यति बेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम सुरु गर्नुपर्छ । चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । यतिबेला कटिङको क्रममा कृषक व्यस्त छन् ।
चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ । ‘यतिबेला काटिएन भने उत्पादनमा ठूलो असर हुन्छ,’ घिमिरेले भने, ‘हरेक ३ वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ ।’ जमिनको सतहदेखि १२ देखि १४ इन्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट ६ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ । तर यहाँका नयाँ बगानले यो कटिङ गर्नुपरेको छैन ।
ठूलो बगान भएका कृषकले प्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएकाले अर्म पर्मले काम चलाउने कृषक बताउँछन् । ‘चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल छ,’ गौतमले भने, ‘खेती बिगार्नुभन्दा आफैं अर्म–पर्म गरेर काम चलाउने गरेका छौं ।’
ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काँटछाँटमा मेसिनको प्रयोग हुने गरेको छ । तर मेसिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् । जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषकको छ । फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ । कटिङसँगै चियालाई मल्चिङ गर्न पनि उत्तिकै भ्याइनभ्याइ छ ।
चियापत्ती आउन छाडेपछि कारखानाले पनि मेसिनको मर्मत सम्भारसँगै आउँदो सिजनको तयारीका लागि समय खर्चने गरेका छन् । चैतदेखि निरन्तर सञ्चालनमा रहेका चिया कारखानाहरूले सबै मेसिनरी सामानको चाँच गर्ने, अत्यावश्यक सामग्री थपघट गर्ने र दाउराको जोहो गर्ने गर्छन् । यहाँका दुई दर्जन ठूला र ६० को हाराहारीमा रहेका सना कारखानाको हिउँद यामको व्यस्तता यस्तै हुने गरेको छ ।
प्रकाशित : मंसिर २०, २०७४ ०८:२१