निर्वाचनले इन्धनको आयात ह्वात्तै बढ्यो

डिजेलको आयात ४० प्रतिशतले बढ्यो
पर्यटक बढेपछि हवाई इन्धनको माग पनि बढ्यो
सीमामा सस्तो हुँदा केही असर परेको छ : निगम
राजु चौधरी

काठमाडौं — निर्वाचन नजिकिएसँगै इन्धनको आयात ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारमा सवारी साधनको प्रयोग बढेपछि इन्धनको खपत पनि बढेको हो ।

निर्वाचनले इन्धनको आयात ह्वात्तै बढ्यो

 इन्धनको माग बढेपछि सोहीअनुसार आयात गरिएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार अक्टोबरको तुलनामा नोभेम्बरमा आयात २३ प्रतिशतले बढेको छ । ‘आयात बढ्नुको मुख्य कारण चुनाव हो,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने । बजेट स्वीकृतपश्चात् पूर्वाधार निर्माणका काम पनि सुरु भएकाले खपत बढेको उनले बताए ।

निगमको तथ्यांकअनुसार अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको थियो । नोभेम्बरमा बढेर २ लाख ३८ हजार ५ सय ६९ किलोलिटर पुगेको छ । अगस्ट र नोभेम्बरको तुलनमा करिब ५० प्रतिशतले बढेको छ । अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार ६ किलोलिटर आयात भएको निगमको तथ्यांकमा उल्लेख छ । 

सवारी साधन वृद्धिले पनि इन्धनको आयात बढेको हो । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको आयात बर्सेनि बढ्दै गएको छ । मुलुकभरि करिब २४ लाख सवारी साधन सञ्चालनमा छन् । सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढी थपिएका छन् । जसले गर्दा इन्धनको आयात बर्सेनि बढ्दै गएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । निगमको तथ्यांकअनुसार मुख्यत: डिजेलको आयात भएको देखिन्छ । तथ्यांकअनुसार अक्टोबरमा १ लाख ४ सय ७ लिटर आयात भएको डिजेल नोभेम्बरमा ४० प्रतिशत बढेर १ लाख ४१ हजार ५४ किलोलिटर आयात भएको छ । अगस्टको तुलनामा भने ६८ प्रतिशत बढेको छ । अगस्टमा ८४ हजार २ सय १५ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

पेट्रोलको आयात पनि क्रमश: बढ्दै गएको छ । तथ्यांकअनुसार अगस्टमा ३७ हजार ५ सय २३ किलोलिटर, सेप्टेम्बरमा ३५ हजार ३ सय ४८, अक्टोबरमा ४२ हजार २ सय ५५ र नोभेम्बरमा ४२ हजार ७७ किलोलिटर आयात भएको छ । भारतको तुलनामा नेपालमा सस्तो हुँदा तराईमा इन्धनको खपत बढ्दै गएको निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार हाल वीरगन्जको खुद्रा मूल्य प्रतिलिटर पेट्रोल ९६ रुपैयाँ ५० पैसा छ । रक्सौलको खुद्रा मूल्य १ सय १७ रुपैयाँ ९० पैसा छ । वीरगन्जमा प्रतिलिटर डिजेलको मूल्य ७२ रुपैयाँ ५० पैसा छ । रक्सौलको खुद्रा मूल्य ९९ रुपैयाँ ४९ पैसा छ । ‘नेपालमा प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ४० पैसा र डिजेलमा २६ रुपैयाँ ९९ पैसा सस्तो पर्छ । सीमामा सस्तो हुँदा माग बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने । उनका अनुसार सस्तो भएकैले भारतबाट भित्रिएका गााडी नेपालमै इन्धन भर्ने गरेका छन् ।

भारत सरकारले उपभोक्ताबाट करिब ६ प्रकारको कर लगाउने हुँदा इन्धनको मूल्य महँगो पर्छ । भारतीय आयल निगम (आईओसी) बाट इन्धन आयात हुँदा नेपालका लागि छुट दिइएको छ । जसले गर्दा भारतको भन्दा यहाँ केही सस्तो पर्छ । 

पछिल्लो महिना नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को तथ्यांकअनुसार पहिलो १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । नेपाल घुम्न आउने पर्यटनको संख्यामा वृद्धिसँगै हवाई इन्धनको आयात पनि बढेको निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार अगस्टमा १० लाख ५ हजार ८० किलोलिटर आयात भएको हवाई इन्धन नोभेम्बरमा १९ हजार ५ सय २० किलोलिटर आयात भएको छ । 

उपत्यकामा लोडसेडिङ अन्त भए पनि खाना पकाउने एलपी ग्यासको आयात भने क्रमिक रूपमा बढ्दै गएको छ । निगमको तथ्यांकअनुसार अगस्टमा २६ हजार ३५ टन आयात भएको ग्यास नोभेम्बरमा ४२ हजार ७७ टन आयात भएको निगमले जनाएको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार गाउँतर्फ ग्यासको माग बर्सेनि १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । एलपी ग्यास सजिलो र प्रभावकारी भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएको उनले बताए । निगमको तथ्यांकअनुसार १० वर्षको अवधिमा ग्यासको खपत २ लाख टनले वृद्धि भएको छ । आर्थिक वर्ष २०६४/६५ मा ९३ हजार ८ सय ३७ टन ग्यास आयात भएको थियो । आर्थिक वर्ष २०७३/७४ सम्म आइपुग्दा २ लाख ९४ हजार टन पुगेको छ । 

आयात भएको इन्धन परिमाण (किलोलिटरमा)

इन्धन अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर

पेट्रोल ३७,५२३ ३५,३४८ ४२,२५५ ४२,०७७

डिजेल ८४,२१५ ८३,१७७ १,००,४४७ १,४१,०५४

मट्टीतेल १,३२४ १,७५२ १,७७१ २,०४४

हवाई इन्धन १०,५८० १७,१८० १९,४०० १९,५२०

ग्यास २६,०३५ ३०,५४९ २९,९१६ ३३,८७४

कुल १,५९,६७७ १,६८,००६ १,९३,७८९ २,३८,५६९

स्रोत : नेपाल आयल निगम

प्रकाशित : मंसिर २०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?