क्लिंकरमा भारतमाथिको निर्भरता झनै बढ्यो

शंकर आचार्य

पर्सा — सिमेन्ट उत्पादन गर्ने मुख्य कच्चापदार्थ क्लिंकरमा आत्मनिर्भर नहुँदा बर्सेनि ठूलो रकम भारत गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्रै वीरगन्ज नाकाबाट ३ अर्ब रुपैयाँभन्दा बढीको क्लिंकर आयात भएको छ ।

स्वदेशी सिमेन्ट उद्योगलाई २०७३ सालभित्र आत्मनिर्भर बनाउने सरकारी लक्ष्य थियो तर सिमेन्टको मुख्य कच्चापदार्थ क्लिंकरको भारतबाट हुने आयात घट्नु साटो झनै बढ्नुले यो लक्ष्य पूरा हुन सकेको छैन । पछिल्लो केही वर्षयता मुलुकमै सिमेन्ट क्लिंकर उत्पादन हुन थाले पनि मूल्यको अन्तर तथा मागसमेत अत्यधिक हुँदा स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सकेको छैन ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट ३ अर्ब १७ करोड रुपैयाँ बराबरको ३४ करोड किलो क्लिंकर आयात भएको छ । रकमका आधारमा यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत बढी हो । यसको आयातबाट मात्रै १ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा २ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३१ करोड किलो क्लिंकर आयात भएको थियो । जसबाट १ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

दुई वर्षअघिको महाभूकम्पपछि सुरु भएको पुनर्निर्माण तथा ठूला जलविद्युत् आयोजनाहरूको निर्माणको कारण सिमेन्टको माग बढ्दा यसको मुख्य कच्चापदार्थ क्लिंकरको आयात पनि हात्तै बढेको हो । क्लिंकर सिमेन्ट उद्योगको मुख्य कच्चापदार्थ हो ।

कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार क्लिंकर आयातमा प्रतिमेट्रिक टन २ हजार ४ सय रुपैयाँ भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र लाग्छ । भारतको झारखण्ड, उडिसालगायतका राज्यबाट रक्सौल रेल्वे स्टेसनमा रेलबाट आयात हुने क्लिंकर पर्सा–बाराऔद्योगिक करिडोरका सिमेन्ट उद्योगहरूले ट्रिपरमा ढुवानी गरी उद्योगसम्म लग्छन् ।

यहाँका अधिकांश सिमेन्ट उद्योग कच्चापदार्थका लागि भारतमै निर्भर छन् । करिडोरका उद्योगले करिब ८०/८५ प्रतिशत कच्चापदार्थ भारतबाटै आयात गर्दै आएका छन् । बाँकी परिमाण मात्र स्वदेशी क्लिंकरको हुने गरेको छ । करिडोरका जगदम्बा, अम्बे, नेपाल सालिमार, स्टार, नारायणी, विश्वकर्मा, श्री, कृष्णा, आरएमसी, इन्टरनेसनल सिमेन्ट तथा मकवानपुरको शिवम सिमेन्ट उद्योगले पनि यसै नाकाबाट क्लिंकर आयात गर्ने गरेकोयादव बताउँछन् ।

सिमेन्ट उद्योगको तुलनामा क्लिंकर उत्पादनमा लगानी अत्यन्त बढी हुने भएकाले पनि उद्योग आयातको भरमा चलेको उद्योगीहरू बताउँछन् । पर्सा–बारा औद्योगिक करिडोरका सिमेन्ट उद्योगहरू मध्ये नेपाल सालिमार सिमेन्ट उद्योगले आफंै क्लिंकर उत्पादन पनि गर्छ तर आफ्नै उत्पादनले मात्र धान्न नसक्ने हुँदा उद्योगले भारतबाट क्लिंकर आयात गरिरहेको छ । उद्योगका सञ्चालक अशोक वैद्य आफूले उद्योगलाई आवश्यक क्लिंकरमध्ये १० प्रतिशत मात्र उत्पादन गर्न सकेको बताउँछन् । बाँकी भारतबाट आयात गर्नु परेको उनले बताए । ‘क्ंिलकरको उत्पादनको प्लान्ट जडान गर्नै ठूलो लगानी आवश्यक पर्छ, स्वदेशी उद्योगले यति धेरै लगानी क्लिंकर उत्पादनमै गर्न सम्भव छैन,’ उनी भन्छन्, ‘क्लिंकर उत्पादनमा विदेशी लगानी भित्र्याउन सके बर्सेनि विदेशिइरहेको अर्बौं स्वदेशी रकम जोगिने थियो ।’

पूर्वाधारको अभावमा स्वदेशमै रहेका सिमेन्ट चुनढुंगा खानीहरूको उत्खनन हुन नसक्नु, ऊर्जा, सडक, पानीलगायतका पूर्वाधारको कमी र लगानीको सुरक्षा र आयको ग्यारेन्टीजस्ता कारण पनि स्वदेशमा ठूला क्लिंकर उद्योग स्थापना हुन नसकेको उद्योगीहरूको धारणा छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

संस्थानले पाउडर दूध बजारमा ल्याउँदै

एक महिनापछि आधा किलो र एक किलोका प्याकमा आउने
दैनिक ७० हजार लिटर दूधको पाउडर बनाइँदै
देवनारायण साह

मोरङ — दुग्ध विकास संस्थानले पाउडर दूध बजारमा ल्याउने भएको छ । संस्थानले सञ्चालन गरेको विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पाउडर पहिलो पटक बजारमा ल्याउने भएको हो ।

आयोजना प्रमुख सरोजकुमार सिम्खडाले एक महिनापछि आधा किलो र एक किलोका प्याकेटमा पाउडर दूध बजारमा ल्याउने तयारी गरेको बताए । ‘आयोजनाअन्तर्गत रहेको दूधको पाउडर बनाउने कारखानाको क्षमता वृद्धि गरेर परीक्षण सुरु भएको छ,’ उनले भने, ‘परीक्षण सकिएर एक महिनाभित्र बजारमा पाउडर दूध आउँछ ।’

आयोजनाअन्तर्गत २०५२ सालमा डेनमार्क सरकारको सहयोगमा प्रतिदिन ३० हजार लिटर क्षमताको स्थापना भएको पाउडर दूध कारखानाको १० करोडको लागतमा ७० हजार लिटर प्रतिदिन दूधको पाउडर बनाउने क्षमता वृद्धि गरेको उनले बताए । प्याकिङ गर्ने मेसिन आउनेबित्तिकै पाउडर दूध बजारमा ल्याउने उनको भनाइ छ ।

‘पाउडर दूध बनाउने कारखानको क्षमता वृद्धिसँगै किसानको ‘मिल्क होलिडे’ को समस्या पनि समाधान हुने भएको छ,’ उनले भने, ‘कारखानामा अहिलेसम्म दैनिक ३० हजार लिटरसम्म मात्रै दूधको पाउडर बनाउँदै आएका थियौं तर अब दैनिक ७० हजार लिटर दूध आवश्यक हुने भएको छ ।’ यसअघिको पाउडर दूध संस्थानलं आफैं खपत गर्दै आएको थियो तर अब उपभोक्ताका लागिसमेत बजारमा ल्याउन लागिएको उनी भन्छन् ।

‘दूध बढी उत्पादन हुने सिजनमा संस्थानले आवश्यकभन्दा बढी दूध खरिद नगर्दा किसान मिल्क होलिडेको मारमा पर्दै आएका थिए,’ उनले भने, ‘अब किसानलाई दूध उत्पादन बढाउनका लागि प्रोत्साहन गर्ने योजना ल्याउन संस्थानले सरकारसँग समन्वय गरिरहेको छ ।’

आयोजनाले अहिले सिजनमा बढीमा ३५ हजार र गैरसिजनमा न्यूनतम २० हजार लिटर दूध किसानबाट खरिद गर्दै आएको छ । ‘इलामको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, बिबल्याँटे, पुवाखोला, शान्तिडाँडामा चिलिङ भ्याट राखेर करिब १५ हजार दूध किसानबाट दैनिक खरिद गर्दै आएका छौं,’ प्रमुख सिम्खडाले भने, ‘धनकुटाको हिले, तेह्रथुमको चित्रे र पाँचथरको देउरालीमा चिलिङ भ्याट राखेर किसानबाट र झापा, मोरङ, सुनसरी र सप्तरीका सहरकारीबाट दूध खरिद गर्दै आएका छौं ।’

आयोजनाले दैनिक खरिद गरेको सरदर ३० हजार लिटर दूधमध्ये १५ हजार लिटरको प्रशोधित दूध तथा दूधजन्य पदार्थ विराटनगर, इटहरी, धरान र इनर्बाका उपभोक्ताका लागि बिक्री वितरण गर्दै आएको छ भने बाँकी १५ हजार लिटरको पाउडर बनाउँदै आएको हो ।

संस्थानको धनुषाको ढल्केवर, पोखरा र लुम्बिनीस्थित दूध आयोजनाको स्थानीय बजारमा खपत नभएको १५ हजार लिटरसम्म दूध दैनिक यहाँ ल्याएर पाउडर बनाउँदै आएको सिम्खडाले सुनाए । ‘मुलुकको पश्चिदेखि पूर्वसम्मका किसानको मिल्क होलिडेको समस्या कम्तीमा ५/७ वर्षका लागि कारखानाको क्षमता विस्तारले समाधान भएको छ,’ उनले भने, ‘पाउडर दूध कारखानाको विस्तारले संस्थानले विदेशबाट बर्सेसन ५ हजार मेट्रिक टन पाउडर दूध खरिदमा पनि न्यूनीकरण हुने र मुलुक दूधमा आत्मनिर्भर हुन मद्धत मिल्छ ।’

विराटनगर दूध वितरण आयोजनाले प्रशोधित दूध, दही, घ्यु, मख्खन, पनिर, आइसक्रिम, रसभरी र लालमोहन उत्पादन गर्दै आएको छ । प्रमुख सिम्खडाले संस्थानले किसानको दूध खरिद गर्दा गाईको दूधमा फ्याट हेरेर सरदर ४०/४२ र भैंसीको दूध ५०/५५ रुपैयाँ प्रतिलिटरको दरमा खरिद गर्दै आएको बताए ।

आयोजनाले प्रतिलिटर ८६ र ७० रुपैयाँको दुई किसिमको प्रशोधित दूध, १ सय १० रुपैयाँ प्रतिकिलो दही, ५ सय ८० रुपैयाँ प्रतिकिलो पनिर उपभोक्तालाई बिक्री गर्दै आएको उनले बताए ।

प्रकाशित : मंसिर २१, २०७४ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्