२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

संस्थानले पाउडर दूध बजारमा ल्याउँदै

एक महिनापछि आधा किलो र एक किलोका प्याकमा आउने
दैनिक ७० हजार लिटर दूधको पाउडर बनाइँदै
देवनारायण साह

मोरङ — दुग्ध विकास संस्थानले पाउडर दूध बजारमा ल्याउने भएको छ । संस्थानले सञ्चालन गरेको विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पाउडर पहिलो पटक बजारमा ल्याउने भएको हो ।

आयोजना प्रमुख सरोजकुमार सिम्खडाले एक महिनापछि आधा किलो र एक किलोका प्याकेटमा पाउडर दूध बजारमा ल्याउने तयारी गरेको बताए । ‘आयोजनाअन्तर्गत रहेको दूधको पाउडर बनाउने कारखानाको क्षमता वृद्धि गरेर परीक्षण सुरु भएको छ,’ उनले भने, ‘परीक्षण सकिएर एक महिनाभित्र बजारमा पाउडर दूध आउँछ ।’

आयोजनाअन्तर्गत २०५२ सालमा डेनमार्क सरकारको सहयोगमा प्रतिदिन ३० हजार लिटर क्षमताको स्थापना भएको पाउडर दूध कारखानाको १० करोडको लागतमा ७० हजार लिटर प्रतिदिन दूधको पाउडर बनाउने क्षमता वृद्धि गरेको उनले बताए । प्याकिङ गर्ने मेसिन आउनेबित्तिकै पाउडर दूध बजारमा ल्याउने उनको भनाइ छ ।

‘पाउडर दूध बनाउने कारखानको क्षमता वृद्धिसँगै किसानको ‘मिल्क होलिडे’ को समस्या पनि समाधान हुने भएको छ,’ उनले भने, ‘कारखानामा अहिलेसम्म दैनिक ३० हजार लिटरसम्म मात्रै दूधको पाउडर बनाउँदै आएका थियौं तर अब दैनिक ७० हजार लिटर दूध आवश्यक हुने भएको छ ।’ यसअघिको पाउडर दूध संस्थानलं आफैं खपत गर्दै आएको थियो तर अब उपभोक्ताका लागिसमेत बजारमा ल्याउन लागिएको उनी भन्छन् ।

‘दूध बढी उत्पादन हुने सिजनमा संस्थानले आवश्यकभन्दा बढी दूध खरिद नगर्दा किसान मिल्क होलिडेको मारमा पर्दै आएका थिए,’ उनले भने, ‘अब किसानलाई दूध उत्पादन बढाउनका लागि प्रोत्साहन गर्ने योजना ल्याउन संस्थानले सरकारसँग समन्वय गरिरहेको छ ।’

आयोजनाले अहिले सिजनमा बढीमा ३५ हजार र गैरसिजनमा न्यूनतम २० हजार लिटर दूध किसानबाट खरिद गर्दै आएको छ । ‘इलामको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, बिबल्याँटे, पुवाखोला, शान्तिडाँडामा चिलिङ भ्याट राखेर करिब १५ हजार दूध किसानबाट दैनिक खरिद गर्दै आएका छौं,’ प्रमुख सिम्खडाले भने, ‘धनकुटाको हिले, तेह्रथुमको चित्रे र पाँचथरको देउरालीमा चिलिङ भ्याट राखेर किसानबाट र झापा, मोरङ, सुनसरी र सप्तरीका सहरकारीबाट दूध खरिद गर्दै आएका छौं ।’

आयोजनाले दैनिक खरिद गरेको सरदर ३० हजार लिटर दूधमध्ये १५ हजार लिटरको प्रशोधित दूध तथा दूधजन्य पदार्थ विराटनगर, इटहरी, धरान र इनर्बाका उपभोक्ताका लागि बिक्री वितरण गर्दै आएको छ भने बाँकी १५ हजार लिटरको पाउडर बनाउँदै आएको हो ।

संस्थानको धनुषाको ढल्केवर, पोखरा र लुम्बिनीस्थित दूध आयोजनाको स्थानीय बजारमा खपत नभएको १५ हजार लिटरसम्म दूध दैनिक यहाँ ल्याएर पाउडर बनाउँदै आएको सिम्खडाले सुनाए । ‘मुलुकको पश्चिदेखि पूर्वसम्मका किसानको मिल्क होलिडेको समस्या कम्तीमा ५/७ वर्षका लागि कारखानाको क्षमता विस्तारले समाधान भएको छ,’ उनले भने, ‘पाउडर दूध कारखानाको विस्तारले संस्थानले विदेशबाट बर्सेसन ५ हजार मेट्रिक टन पाउडर दूध खरिदमा पनि न्यूनीकरण हुने र मुलुक दूधमा आत्मनिर्भर हुन मद्धत मिल्छ ।’

विराटनगर दूध वितरण आयोजनाले प्रशोधित दूध, दही, घ्यु, मख्खन, पनिर, आइसक्रिम, रसभरी र लालमोहन उत्पादन गर्दै आएको छ । प्रमुख सिम्खडाले संस्थानले किसानको दूध खरिद गर्दा गाईको दूधमा फ्याट हेरेर सरदर ४०/४२ र भैंसीको दूध ५०/५५ रुपैयाँ प्रतिलिटरको दरमा खरिद गर्दै आएको बताए ।

आयोजनाले प्रतिलिटर ८६ र ७० रुपैयाँको दुई किसिमको प्रशोधित दूध, १ सय १० रुपैयाँ प्रतिकिलो दही, ५ सय ८० रुपैयाँ प्रतिकिलो पनिर उपभोक्तालाई बिक्री गर्दै आएको उनले बताए ।

प्रकाशित : मंसिर २१, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?