१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिँचाइ आयोजना अन्तिम चरणमा

पर्सा — विश्व बैंकको लगानीमा गण्डक नहरअन्तर्गत जिल्लामा झन्डै ३ हजार हेक्टर खेतीयोग्य जग्गा सिञ्चित गर्ने लक्ष्यका साथ सञ्चालित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।


बैंकको २० करोड रुपैयाँको लगानीमा नहरको ब्लक नम्बर २ अन्तर्गत साबिकको मुडली, मसिहानी, हरहिरपुरवीर्ता, भेडियाही, लहावरथकरी, सबैठवा, झकडा र वसन्तपुर गरी ८ गाविसका २ हजार ९ सय ९६ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ यो आयोजना निर्माण भइरहेको हो ।
निर्माणाधीन यो आयोजना त्यस भेगका किसानले सिँचाइका लागि भोग्दै आएको समस्या यकिन गरी गण्डक नहरबाट अर्को शाखा पक्की नहर निर्माण, त्यससँगै आवश्यक परेका स्थानमा कल्भर्ट निर्माण, पानी बाँडफाँड गर्ने संरचनाहरू र साइफनलगायत नहर छेउ सर्भिस सडक निर्माणको कामसमेत भई रहेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरी वीरगन्जका प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए । ‘काम दु्रत गतिमा भइरहेको छ,’ उनले भने, ‘यसै गतिमा काम भए आउँदो अढाई महिनाभित्र यो आयोजनाको काम सम्पन्न हुनेछ ।’
सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार, यो आयोजना सम्पन्न गर्न स्थानीय किसानले १ करोड ६० लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । विगतमा रहेका तर जीर्ण भई उपयोगमा नआएका नहरमा पुराना संरचना र थप आवश्यक संरचनासमेत निर्माण गरी यो महात्त्वाकांक्षी आयोजना निर्माण भइरहेको उनले बताए ।
‘नहरको पुरानो संरचना पनि थियो तर ती जीर्ण भइसकेका थिए, त्यसले किसानलाई सिँचाइको सुविधा लिन अप्ठेरो भइरहेको थियो,’ उनले भने, ‘त्यो नहर प्रणालीलाई पुन:स्थापना गरेर स्थानीय जल उपभोक्ता समितिहरूलाई नै सञ्चालनको जिम्मा दिने नीति रहेको छ ।’ जलउपभोक्ता किसानलाई नै नहरको व्यवस्थापन, सेवा शुल्क लिने, आवश्यक मर्मत सम्भार गर्ने, आफै संचालन गर्ने सम्मको अधिकार दिन लागिएको उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?