१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृषि कर्जा २० प्रतिशतले बढयो

यज्ञ बञ्जाडे

काठमाडौं — गत आर्थिक वर्षमा कृषि कर्जा करिब २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा गत असारसम्म कृषि क्षेत्रमा ९१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ४.७ प्रतिशत हो ।


अघिल्लो वर्षको तुलनामा गत वर्ष कृषि क्षेत्रको कर्जा २०.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा छ । सरकारले ल्याएको युवा लक्षित विशेष कार्यक्रम, कृषि ऋणको ब्याजमा अनुदान कार्यक्रम, कृषि तथा पशु बिमामा दिइँदै आएको अनुदानलगायत कारण कृषि कर्जा बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘पछिल्ला वर्षहरूमा कृषि उत्पादन बढदो छ,’ उनले भने, ‘अनुकूल मौसम तथा बढदो व्यवसायीकरण र राष्ट्रले अवलम्बन गरेका योजनाहरूले कृषि उपजको उत्पादन वृद्धिमा टेवा पुर्‍याएको छ ।’ 
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा पनि कृषि कर्जा उल्लेख्य रूपमा बढेको देखिन्छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले थप १६ अर्ब ४५ करोड रुपैयाँ कृषि कर्जा विस्तार गरेका छन् । गत असारसम्मको तुलनामा यो १८.२७ प्रतिशतको वृद्धि हो । यसले पनि कृषि कर्जा बढ्दै गएको पुष्टि हुन्छ ।
गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्रमा सामान्य वृद्धि भएको छ । उक्त अवधिमा त्यस्ता बालीको उत्पादनमा १०.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अनुकूल मौसम, कृषि क्षेत्रमा बढ्दो     व्यवसायीकरण तथा उन्नत बीउबीजन, रसायनिक मललगायतका कृषि आगतहरूको सहज उपलब्धताबाट कृषि क्षेत्रको उत्पादनमा वृद्धि भएको राष्ट्र बैंकको निष्कर्ष छ ।
‘चालु आर्थिक वर्षमा थप केही तरकारी, फलफूल तथा पशुपक्षी फर्महरू सञ्चालनमा आएको, कृषि विकास र पशुसेवा कार्यालयबाट आवश्यक प्राविधिक सेवामा समेत विस्तार गरिएबाट तरकारी, फलफूल, दूध, मासुलगायतका उत्पादन बढ्ने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी माछापालन व्यवसायलाई प्रोत्साहन गर्न अगाडि सारिएका अनुदानहरू एवं विविध प्रवद्र्धनात्मक कार्यक्रमले माछा उत्पादनमा वृद्धि हुने अनुमान छ । 
गत वर्ष प्रमुख खाद्यान्न बालीमध्ये धान उत्पादन २३.९, गहुँ १०.२ तथा मकै ७.५ प्रतिशतले वृद्धि भएको छ । तरकारी, फलफूल तथा मसलाको उत्पादनमा पनि समीक्षा वर्षमा विस्तार देखिएको छ । गत वर्ष पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन ३.२ प्रतिशतले तथा मासु उत्पादन ५.९ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । ‘समीक्षा अवधिमा अण्डा उत्पादन ३.१ प्रतिशतले तथा माछा उत्पादन ९.८ प्रतिशतले वृद्धि भएको छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन नेपाल सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत अगाडि सारेको विभिन्न किसिमका परियोजनामूलक, अनुदानमूलक कार्यक्रम ल्याएको छ । ती कार्यक्रमलाई सघाउ पुर्‍याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ । उक्त अवधिमा सिँचाइ सुविधा विस्तार गर्न राष्ट्रियस्तरमा निर्माणाधीन आयोजनाहरू तोकिएको समयमै सम्पन्न भएमा कृषि क्षेत्र उत्पादनले ठूलो फड्को मार्न सक्ने राष्ट्र बैंकको अनुमान छ । 
चालु आर्थिक वर्षमा मनसुन अवधिमा पर्याप्त वर्षा भएको तथा कृषि क्षेत्रको व्यवसायीकरण तथा आधुनिकीकरणका लागि सरकारबाट विभिन्न नीति तथा कार्यक्रम अघि सारिएका प्रमुख कृषि बालीको उत्पादनमा विस्तार आउने अनुमान छ । यद्यपि कृषि उत्पादनमा अपेक्षित उपलब्धि हासिल गर्न उन्नत बीउबीजन तथा रासायनिक मलको सहज आपूर्ति, वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनेलगायत चुनौती विद्यमान रहेको प्रतिवेदनको निष्कर्ष छ । 

औद्योगिक क्षमता उपयोग ५७ प्रतिशत
अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग क्षेत्रको क्षमता उपयोग करिब ९ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्ष उद्योगहरूको औसत क्षमता उपयोग ४८.२ प्रतिशत मात्र रहेकामा गत वर्ष ५७.३ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । ऊर्जा आपूर्ति तथा व्यावसायिक वातावरणमा सुधार, पुनर्निर्माण कार्यले गति लिएको, निर्माणजन्य सामग्रीको माग विस्तारलगायतका कारण उद्योगहरूको क्षमता उपयोगमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । 
अध्ययन प्रतिवेदनअनुसार गत वर्ष वनस्पति घिउ तथा तेल समूह, पेय पदार्थ समूह, लत्ता कपडा समूह, कागज, अन्न तथा पशुदाना समूह अन्य रासायनिक पदार्थ समूह, प्लास्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुका सामानको उत्पादनमा बढेको छ । तर, दुग्धपदार्थ, अन्य खाद्य पदार्थ समूह, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा कमी आएको छ ।
गएको वर्ष अध्ययन क्षेत्रअन्तर्गतका बैंक तथा वित्तीय संस्थाले कुल प्रवाहित कर्जाको ३२.४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्यस्तो कर्जा २१ प्रतिशतले बढी हो । 
मुलुकमा बन्द, हडतालजस्ता समस्यामा उल्लेख्य कमी आए पनि उद्योग दर्ता तथा सञ्चालन क्षमता उपयोगमा खासै सुधार आएको छैन । आर्थिक स्थिरता कायम गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु अझै चुनौतीपूर्ण रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।
राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिरका कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) अन्तर्गत तोकिएका ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण र अन्तरक्रियामार्फत तयार पारेको हो । प्रतिवेदनमा तोकिएका ५७ जिल्लाका कृषि, उद्योग र सेवा क्षेत्रमा गत वर्षको स्थिति तथा आगामी आर्थिक वर्षको परिदृश्य लगायत यी क्षेत्रहरूमा देखिएका चुनौतीहरूको संक्षिप्तमा चर्चा गरिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षसम्म अध्ययनमा ४७ जिल्ला समेटिने गरेकामा चालु आर्थिक वर्ष देखि थप १० जिल्लासमेत समावेश गरिएको हो । 

प्रकाशित : मंसिर २६, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?