कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसखर्कका किसानले फलाए ३ करोडको सुन्तला

– अनुकुल मौसम र रोगकिराको नियन्त्रणले उत्पादन बृद्धि
– सुन्तलाबाट एकै परिवारको कमाई १८ लाखसम्म
अगन्धर तिवारी

पर्वत — पर्वतको जललजा– १ बाँसखर्कका किसानले यस वर्ष करिब ३ करोड रुपैयाँको सुन्तला फलाएका छन् । गत वर्षको तुलनामा बाक्लो फल र सुन्तलाको क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको हो ।

बाँसखर्कका किसानले फलाए ३ करोडको सुन्तला

‘यो वर्ष सुन्तला फलेको क्षेत्रफल विस्तार भएको छ,’ स्थानीय किसान मेकबहादुर खत्रीले भने, ‘धेरैजसोले धान खेतमा रोपेका सुन्तला अहिले लटरम्मै फलेका छन् ।’ यो वडाका २ सय ६१ मध्ये दुई सय बढीले व्यावसायिक रूपमै सुन्तला फलाउँछन् । बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेंलपुर देखिन्छ । पहिला बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जंगल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायिकरण, सुन्तलामा लाग्ने रोगकिराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनि बढदै गएको हो । जसका कारण यहाँबाट विस्थापितहरू पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका छन् ।
सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा घरघडेरी जोडेका परिवार धेरै छन् । तर, पनि उनीहरू बजार बस्न मान्दैनन् । ‘गाउँभरका अढाइ सय परिवारमध्ये दुई सय बढीका खेतबारीमा सुन्तला मात्रै छ,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘थोरै कमाउनेले पनि एक लाख रुपैयाँ हात पार्छन् । आधाभन्दा बढीले सहरमा घरजग्गा जोडेका छन् ।’ उनले पनि बेनी, पोखरा र चितवनमा घडेरी जोडेका छन् ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ स्थापना भएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गरिन्छ । ०६९ सालमा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौंदेखि चितवनसम्मका बजार पुर्‍याउँछ । उत्तरी मोहडामा फैलिएर ९ सय देखि १३ सय मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् । ढिलासम्म बोटमै रहन सक्ने मौसम भएको र अन्तका सकिने समयमा टिप्ने भएकाले सिजनको भन्दा दोब्बर मूल्यमा बिक्री गर्दै आएका छन् ।
व्यवसायी खोज्न बजारका दैलादैला चहार्नुपर्ने बाध्यता पनि छैन । ‘५–६ वर्षयता असोज–कात्तिकमै व्यवसायी आएर सुन्तलाका बोट नियाल्छन्,’ सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘सहकारीसँग मोलमाल गरेपछि माघको अन्त्यमा टिप्न आउँछन् ।’ यसरी बिक्री गर्दा प्रतिकिलो बोटबाटै १ सय २० रुपैयाँसम्म पर्ने किसानहरू बताउँछन् ।
चार वर्षअघि गाउँलेहरू मिलेर गाउँसम्म पुग्ने मोटरबाटो खनेका थिए । हाल घरघरै पुगेर व्यवसायीले गाडीमा सुन्तला ओसार्छन् । ‘चार वर्षअघिसम्म डोकोमा बोकेर बेनीसम्मै पुर्‍याउनुपथ्र्यो,’ स्थानीय चन्द्रकुमारी खत्रीले भनिन्, ‘हिजोआज ढुक्क भएको छ ।’ यहाँका सुन्तलाको मोलमोलाइ गर्न व्यवसायीबीच नै प्रतिस्पर्धा चल्छ । बेमौससम्म बोटमै रहने भएकाले चितवन र काठमाडौंका व्यवसायीबीच मूल्यमा बढीबढाउको प्रतिस्पर्धा हुन थालेको छ । सुन्तला बिक्री गर्ने व्यवसायी खोजेर प्रतिस्पर्धा गराएबापत सहकारीलाई केही प्रतिशत मुनाफा सबैले दिन्छन् । त्यसबापत सहकारीमा जम्मा भएको रकमले ३ जना कर्मचारीलाई रोजगारी र सुन्तलाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ ।
गाउँमा आवश्यक पर्ने उपकरण जिल्ला कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा खरिद गर्ने गरिएको किसानहरू बताउँछन् । पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादनलगायतमा सहुलियत र सहज भएको छ ।
सुन्तलाको सम्भावना राम्रो भएकाले कृषि कार्यालयले पनि हरेक वर्ष लगानी र श्रम बढाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘यो वर्षदेखि हामीले खासै केही गर्न सक्ने अवस्था छैन,’ रेग्मीले भने, ‘गएका ६ वर्ष कृषिको धेरैजसो लगानी बाँसखर्कमा परेको छ ।’ बगैंचा सुधारअन्तर्गत किसानलाई मलखाद व्यवस्थापन, रोगकिरा नियन्त्रण र फल टिप्ने प्रविधिबारे सिकाउने गरिएको छ ।

प्रकाशित : मंसिर २९, २०७४ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?