कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुनर्निर्माणमा विदेशी कामदार

सुदीप कैनी

गोरखा — गण्डकी गाउँपालिका ८ घ्याल्चोकमा पुनर्निर्माण भइरहेको खानेपानी आयोजनामा विदेशी कामदारले सघाइरहेका छन् । स्वयंसेवकका रूपमा आएका बेलायती पर्यटकले तीनवटा खानेपानी योजना निर्माणको काममा श्रमदान गरेका हुन् ।

कमेरे टोल खानेपानी आयोजनाका अध्यक्ष मुक्तिनाथ घिमिरेले २१ कामदारले पाइपका लागि कुलो खन्ने काम गरेको बताए । ‘गाउँलेसँगै मिलेर उनीहरूले पाइप लाइन खन्ने काम गरेका छन्,’ उनले भने, ‘बस्तीको सरसफाइलगायत अन्य काम पनि गर्छन् ।’
रिलिग संस्थाको माध्यमबाट उनीहरू भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणमा सघाउन आएका हुन् । करिब दुई महिना विदेशी स्वयंसेवकले सहयोग गर्नेछन् ।
विदेशी कामदारलाई खाने–बस्ने प्रबन्ध स्थानीयले गरेका छन् । पर्यटकीय स्थलमा आएर काम गर्दा गर्व अनुभूति भएको बेलायती नागरिक लुसी गिअसले बताइन् । घ्याल्चोकको छरिएको बस्तीमा तीनवटा खानेपानी आयोजना सञ्चालित छन् । तीनै आयोजनामा गोरेटो गोरखामार्फत विदेशी कामदारले श्रमदान गरेका हुन् । ५० घरपरिवारका लागि घरघरै धारा जडान गरेर पानी उपलब्ध गराउन आयोजना सञ्चालन गरिएको हो । घरमा धारा जडान भएपछि सुक्खा बस्तीमा खानेपानीको अभाव टरेको नयाँ गाउँ बालटार खानेपानी अयोजनाका अध्यक्ष मानबहादुर श्रेष्ठले बताए । उनले भने, ‘खानेपानी त भयो, अझै सिँचाइको समस्या टरेको छैन ।’ घ्याल्चोक क्षेत्रको जमिन तरकारी खेतीका लागि उर्वर मानिन्छ ।
उक्त संस्थाले स्थानीयलाई नयाँ प्रविधिको इँटा बनाउन पनि सिकाएको छ । १० प्रतिशत सिमेन्ट, ४० प्रतिशत बालुवा र ५० प्रतिशत माटो मिसाएर बनाएको इँटाले नमुना घरहरूसमेत निर्माण गरिएको छ । स्थानीय स्रोतसाधन प्रयोग गरेर बनाइने इँटाले घर निर्माण गर्दा कम खर्चिलो भएको वडा सदस्य लक्ष्मी सुनारले बताइन् । ‘आर्थिक अवस्था कमजोर भएकालाई नमुना घर निर्माण गरेर हस्तान्तरण गरिएको हो,’ उनले भनिन् ।

प्रकाशित : पुस २, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?