कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावपछि २७ अंक घटयो नेप्से

काठमाडौं — प्रतिनिधि र प्रदेशसभाको चुनाव परिणामले स्थिर सरकार बन्ने स्पष्ट निर्देशन दिए पनि सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न सकेन । चुनावपछि एक दिनबाहेक सबै कारोबार दिनमा नेप्से घटयो । उक्त अवधिमा नेप्से करिब २७ अंकले तल ओर्लेको छ ।

मंसिर २० गते १ हजार ५ सय ३६ विन्दुमा रहेको नेप्से आइतबार १ हजार ५ सय ९.१४ मा ओर्लेको छ । उक्त अवधिमा एक दिन नेप्से करिब १० अंकले बढेको थियो । त्यसबाहेक सबै कारोबार दिन नेप्से घटेको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले अत्यधिक बहुमत ल्याइसकेको छ । यसका आधारमा वाम गठबन्धनबाटै आगामी सरकार बन्ने र त्यो सरकार स्थिर हुने निश्चित छ । स्थिर सरकार बनेपछि लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने भएकाले आर्थिक गतिविधिले प्राथमिकता पाउने देखिन्छ । यो सेयर बजार वृद्धिका लागि निकै सकारात्मक पक्ष हो । यस्तो अवस्थामा पनि नेप्से लगातार घटिरहेको छ । 
वामपन्थी दलहरूले नेतृत्व गरेको सरकार सेयर बजारप्रति सकारात्मक हुँदैन भन्ने सोचाइ लगानीकर्तामा रहेकाले अहिले नेप्से बढ्न नसकेको विज्ञहरू बताउँछन् । वामपन्थी दलबाटै बनेका पछिल्ला दुई अर्थमन्त्रीले सेयर बजारका लागि राम्रो गर्ने प्रयास गरे पनि लगानीकर्ताको पुरानो विश्वास परिवर्तन गराउन नसकेको ती अधिकारीले बताए । ‘जति गरे पनि केही ठूला लगानीकर्ताकै मनमा वामपन्थी सरकार सेयर बजारप्रति उदार हुँदैन भन्ने सोच छ,’ एक ब्रोकरले भने, ‘अहिले यही सोचाइले काम गरेको होला ।’ मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा रहँदा पनि सेयर बजारमा कुनै प्रभाव नदेखिनु आश्चर्यजनक भएको विश्लेषकहरू बताउँछन् । कतिपय लगानीकर्ताले वामपन्थी सरकारले नियन्त्रणमुखी अर्थ व्यवस्था अपनाउने, विदेशी लगानीलाई नियन्त्रण गर्नेलगायत विचारहरू व्यक्त गर्दै आएका छन् । यसकारण उनीहरूले सेयर बजारमा लगानी बढाउन नचाहेको हुन् । 
आइतबार नेप्से परिसूचक करिब ११ अंकले घटयो । आइतबारको कारोबारमा सुरुदेखि घटेको बजार सुधारिन सकेन । १ हजार ५ सय २०.३८ विन्दुबाट सुरु भएको बजार १ हजार ५ सय ९.१४ विन्दुमा ओर्लेर बन्द भयो । उक्त दिन ५१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । करिब ५ हजार २ सय कारोबारबाट १ सय ५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता सेयर किनबचे भए । 
नेप्से परिसूचक घटेपछि कुल बजार पुँजीकरण पनि ०.७३ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.८० प्रतिशत घटयो । आइतबार होटल, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढे । बाँकी समूहको परिसूचक घटे । कारोबारमा आएकामध्ये २७ कम्पनीको सेयर मूल्य बढयो, १ सय १६ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित : पुस ३, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?