कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहसचिव आचार्यलाई सचेत गराइयो

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक स्पष्टीकरण प्रकरण
सुरज कुँवर

काठमाडौं — निमित्त सचिव भएको मौकामा कालोसूचीमा परेको स्पेनिस कम्पनी सानजोसेलाई अर्बौं रुपैयाँ फाइदा पुग्ने गरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई ११ बुँदे स्पष्टीकरण सोध्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई सचेत गराइएको छ ।

सहसचिव आचार्यलाई सचेत गराइयो

उनले स्पष्टीकरणपत्र लेख्न नजानेको आशय व्यक्त गर्दै पर्यटन सचिव महेश्वर न्यौपानेसँग माफी मागेपछि उनलाई सचेत गराइएको हो । कान्तिपुरलाई प्राप्त कागजातअनुसार गत भदौमा पर्यटन सचिव चीन भ्रमणमा गएका बेला प्राधिकरणका महानिर्देशकलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको विषयबारे स्पष्टीकरण सोधिनुपर्ने थियो । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले स्पष्टीकरण सोध्ने विषयको निर्णय भदौ २७ गते सदर गरेका थिए । सहसचिव आचार्यले निमित्त सचिव भएको मौकाको दुरुपयोग गर्दै प्राधिकरणका महानिर्देशकलाई थप १० वटा विषय स्पष्टीकरणपत्रमा थपेका थिए ।

सचिव न्यौपानेले चीनबाट फर्केपछि सहसचिव आचार्यलाई असोज ६ गते स्पष्टीकरण सोधेका थिए । त्यसमा सचिव न्यौपानेले सोधेका छन्, ‘मेरो अनुपस्थितिमा तपाईले निमित्त सचिवको हैसियतले विषय थपेर महानिर्देशकलाई स्पष्टीकरण सोधेको देखिएन आएकाले के भएको हो ? मन्त्रीस्तरीय निर्णयअनुसार यथाशीघ्र स्पष्ट पार्नु ।’ सहसचिव आचार्यले असोज १८ मा ‘क्षमा याचना’ गर्दै स्पष्टीकरण पेस गरेका छन् । त्यसमा कालोसूचीमा परेको स्पेनिस कम्पनी सानजोसेलाई आर्थिक फाइदा पुग्ने गरी नेपाल सरकारलाई आर्थिक दायित्व सिर्जना गर्ने बदनियत नरहेको उनले जिकिर गरेका छन् ।

सहसचिव आचार्यले ‘नेपाल सरकारको निर्णयअनुसार कार्यसम्पादन सम्झौतामा केन्द्रित हुनुपर्नेमा अन्य केही विषयहरूसमेत समावेश भएको’ भन्दै गल्ती स्विकारेका छन् । आफूले थपेका बुँदाहरूलाई पृष्ठभूमिका विषय भएको जिकिर राख्दै स्पष्टीकरणमा लेखेको छन्, ‘नेपाल सकार वा नेपाल सरकारबाट अधिकार प्राप्त निकायहरूले गरेको निर्णयलाई असर वा प्रभाव पार्ने गरी सरकारलाई आर्थिक दायित्व सिर्जना गर्ने बदनियतका साथ मैले स्पष्टीकरण नसोधेको व्यहोरा स्पष्ट गर्न चाहन्छु ।’

सहसचिव आचार्यले स्पष्टीकरणपत्र ‘लेख्न नजान्दा’ कालोसूचीमा परेको स्पेनिस कम्पनी सानजोसेलाई अर्बौं रुपैयाँ फाइदा पुग्ने देखिएको भन्दै सञ्चारमाध्यम र नागरिक समाजका तर्फबाट त्यसताका चर्को आलोचना भएको थियो । लगत्तै असोज ८ गते मन्त्रालयले उनलाई उल्टै स्पष्टीकरण सोधेको जनाउँदै प्रेस विज्ञप्ति जारी गर्‍यो । सहसचिव आचार्यले उक्त विज्ञप्तिमा उल्लेखित व्यहोरामा सहमत भएको जनाउँदै सचिव न्यौपानेलाई पेस गरेको स्पष्टीकरणपत्रमा भनेका छन्, ‘नेपाल सकारले गरेको निर्णय र अन्य अधिकारप्राप्त सरकारी निकायहरूको धारणाप्रति पूर्ण सम्मान व्यक्त गर्दै स्पष्टीकरण पत्रमा समावेश भएका थप विषयहरूप्रति क्षमा याचना गर्दछु ।’

आचार्यले लेखेको स्पष्टीकरण विवादको सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हालै मन्त्रालयलाई यसबारे सोधेको थियो । ‘अख्तियारलाई हामीले जवाफ पठाइसक्यौं,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘सहसचिवले माफी मागे र हामीले पनि सचेत गराएको पत्रसहितको व्यहोरा अख्तियारमा पठाइसक्यौं ।’

अख्यितारलाई मन्त्रालयले गएको साता जवाफ पठाएको थियो । त्यसअघि मंसिर ८ गते सचिव न्यौपानेले सहसचिव आचार्यलाई आइन्दा यस्ता कमजोरी नदोहोर्‍याउनु भन्दै सचेत गराइसकेका छन् । ‘तपाईले स्पष्टीकरण पत्रमा समावेश भएका थप विषयप्रति क्षमा याचना गर्दै ०७४/०६/१८ मा स्पष्ट गरी पेस गरेको हुँदा अब आइन्दा यस्ता कमीकमजोरी नदोहोर्‍याउन निजामती सेवा ऐन २०४९ को दफा ५५ क बमोजिम चेतावनीसहित सचेत गराइएको छ,’ आचार्यलाई सचेत गराउँदै लेखेको पत्रमा उल्लेख छ ।

मन्त्रिपरिषदबाट चार वर्षका लागि प्राधिकरणको महानिर्देशकमा ०७२ जेठमा नियुक्ति पाएका गौतमलाई मन्त्रीस्तरीय निणर्यबाट हटाउन यो प्रपञ्च भएको थियो । तर, निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको जनाउँदै उल्टै पर्यटनमन्त्री देवलाई यसबारे आयोगमै उपस्थित गराउँदै स्पष्टीकरण सोधेको थियो भने उनले गरेका सबै निर्णय बदर नै गरिदिएको थियो । मन्त्रालयले सहसचिव आचार्यलाई महानिर्देशक बनाउन सहमति पनि मागेको थियो । आयोगले यो विषयलाई पनि सदर गरेन ।

प्रकाशित : पुस ३, २०७४ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?