२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आठ ड्राइभिङ सेन्टरमा सिलबन्दी

राजु चौधरी

काठमाडौं — आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकाको ८ ड्राइभिङ सेन्टर सिलबन्दी गरी बन्द गरेको छ । ड्राइभिङ सीप सिकाउने उद्देश्यले खोलिएका ती सेन्टरहरू अवैधानिक पाइएपछि सिलबन्दी/कारोबार रोक्का गरेको हो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार ड्राइभिङ सेन्टरहरूले बिनादर्ता र सञ्चालन अनुमतिबिनै कारोबार गरिरहेको भेटिएपछि सिलबन्दी गरिएको हो । ‘व्यवसायीहरूले अनुमतिबिना जहाँ मन लाग्यो त्यहीँ ड्राइभिङ सेन्टर सञ्चालन गरेको पाइयो । ती सेन्टरहरूले सञ्चालन अनुमतिजस्ता सरकारी मापदण्ड पनि पूरा गरेका थिएनन्,’ उनले भने, ‘अवैध रूपमा सञ्चालित ८ वटा ड्राइभिङ सेन्टर बन्द गरेका छौं ।’

सोमबार अनुगमन टोलीले विभिन्न १२ ड्राइभिङ सेन्टरमा अनुगमन गरेको थियो । त्यसक्रममा ३ वटा सिलबन्दी/कारोबार रोक्का गरेको विभागले जनाएको छ । ‘उजुरीको आधारमा अनुगमन गरेका थियौं,’ महानिर्देशक दाहालले भने । उपत्यकामा सञ्चालित करिब ४० प्रशितत ड्राइभिङ सेन्टर सरकारी मापदण्डभित्र नपर्ने उनले दाबी गरे । अनुगमन टोलीले शंखमूलमा रहेको रामेछाप भ्याली ड्राइभिङ इन्स्टिच्युटमा अनुगमन गर्दा उक्त इन्स्टिच्युटले यातायात व्यवस्था विभागबाट सञ्चालन अनुमति नै नलिई कारोबार गरेको पाइएको थियो । एकान्तकुनाको राम युनिक ड्राइभिङ सेन्टरले पनि यातायात व्यवस्था विभागको स्वीकृतिबिना सञ्चालन गरेको पाइएको छ । उक्त सेन्टरमा पनि सिलबन्दी गरेको विभागले जनाएको छ । नयाँ बानेश्वरमा रहेको रेसुंगा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पूर्ण कागजातहरू नवीकरण नगरिएको पाइएको थियो । उक्त सेन्टरको पनि कारोबार रोक्का गरेको छ । 

 टोलीले आइतबार बिनाअनुमति सञ्चालन गरेको पाइएपछि सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्स्टिच्युट, धोबीघाटको महालक्ष्मी ड्राइभिङ इन्स्टिच्युट र मेगा ड्राइभिङ इन्स्टिच्युटलाई सिलबन्दी गरेको थियो । यस्तै राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एन्ड इन्टरप्राइजेज र तीनकुनेको एन्जल मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरको कारोबार रोक्का गरेको विभागका शाखा अधिकृत श्री अधिकारीले बताए । ‘ड्राइभिङ सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था विभागको स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘तर, अनुगमनका क्रममा अधिकांश ड्राइभिङ सेन्टरले अनुमति नलिई सञ्चालन भएको भेटियो ।’ महालक्ष्मी र मेगा ड्राइभिङले पनि दर्ता नै नगरी सञ्चालन गरेका थिए । ‘दुवैको कारोबार रोक्का गरेका छौं,’ उनले भने । 

पर्फेक्ट भेहिकल्स स्कुल एन्ड इन्टरप्राइजेजले पनि व्यवसाय दर्ता, प्यान दर्ता, यातायात व्यवस्था विभागबाट सञ्चालनको अनुमति नै नलिएको भेटियो । एन्जल मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर पनि अनुमतिबिनै सञ्चालन गरेको पाइएपछि सिल गरिएको विभागले जनाएको छ । टोलीले स्मार्ट भेहिकल प्रिटस्ट सेन्टर, इजी ट्रायल सेन्टर प्रालि र ब्लुमुन मोटर ड्राइभिङ सेन्टर प्रालिमा पनि अनुगमन गर्दा पूर्वाधार पर्याप्त नदेखिएपछि आवश्यक सुधारका लागि निर्देशन दिएको शाखा अधिकृत अधिकारीले बताए ।

प्रकाशित : पुस ४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?