कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँफेबगर विमानस्थल कालोपत्रे हुँदै

मेनुका ढुंगाना

अछाम — अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै कालोपत्रे काम सुरु भएको छ । निर्माण कार्य १८ महिनाभित्र सक्नेगरी ठेक्का लागेपछि कालोपत्रे सुरु भएको हो ।

साँफेबगर विमानस्थल कालोपत्रे हुँदै

पहाडी जिल्ला अछामको साँफेबगर र कमल बजारमा विमानस्थल भए पनि सञ्चालनमा छैनन् । माओवादी आक्रमणमा परी ०५८ फागुनमा विमानस्थलको टावर ध्वस्त हुँदा बन्द भएको साँफेबगर विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखि पूर्ण रूपमा बन्द छ । 

१८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने जिम्मा अमर कन्ट्रक्सनले ठेक्का पाएको छ । निमार्ण कम्पनीका भद्रबहादुर शाहीले कटिङ र फिलिङको काम सकिएपछि कालोपत्र गरिनेछ । यसअघि वर्षा र दसैं–तिहारको बीचमा विमानस्थल निर्माणको काम केही दिन रोकिए पनि हाल तीव्र गतिमा काम भइरहेको उनले बताए । जेठदेखि काम थालिएको बताउँदै उनले भने, ‘केही दिन वर्षाका कारण र चाडबाडले काम रोकियो । अब काम धमाधम हुँदै छ ।’ मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहले पर्यटकीय सम्भावना बोकेका अछामको रामारोशन, वैद्यनाथ, बान्नीगडी, पञ्चदेवल बाजुराको बडिमालिका र खप्तडलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन अछामका विमानस्थलहरू निकै सहयोगी हुने बताए ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल पछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्लाबाहिर जाने र सिकिस्त बिरामीलाई निकै मर्का परेको उनले बताए । विमानस्थल सञ्चालनमा नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीहरूले समयमै उपचार नपाएर ज्यान गुमाएको स्थानीय पशुपति कुँवरले बताइन् । 

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मेरुदण्डका रूपमा विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालन हुने गरी काम भइरहेको बताए । यस्तै निर्माण कार्य सुरु भएको लामो समय बितिसक्दासम्म पनि कमल बजार विमानस्थल सञ्चालन नै नभएर जीर्ण बन्दै गएको छ ।

प्रकाशित : पुस ५, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?