३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चमेलियाको वेभ परिक्षण सुरु, जनवरी पहिलो साताबाट विद्युत उत्पादन गर्ने तयारी

मनोज बडू

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण सम्पन्न हुन लागेको ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको शनिबारबाट वेभ परिक्षण सुरु भएको छ । ४/५ दिनदेखि ड्याममा पानी रोकेर शनिबारबाट वेभ परिक्षण सुरु गरिएको आयोजनाले जनाएको छ । 

चमेलियाको वेभ परिक्षण सुरु, जनवरी पहिलो साताबाट विद्युत उत्पादन गर्ने तयारी

पावर हाउसमा जडान गरिएको टर्वाईन घुमाउदा 'टेम्प्रेचर मेन्टेन' भए नभएको बुझने र बलाच पावर हाउसको विद्युत स्टेशनबाट अत्तरियाको मुख्य स्टेशनमा पावर ट्रान्सफर (छोड्ने) गर्ने कामको परिक्षण सुरु भएको हो । कुनै समस्या नआए र अत्तरियासम्म सकारात्मक रुपमा पावर ट्रान्सफर भए जनवरीको पहिलो साताबाट एक युनिटबाट भएपनि विद्युत उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । समान्यतया जनवरी ५ सम्म वेभ टेष्ट गरिने छ ।


सकारात्मक रुपमा वेभ टेष्ट सफल भए अबको १७/१८ दिनमा व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने गरी तिव्र गतिमा काम भइरहेको आयोजना प्रमुख अजय कुमार दाहालले बताए । चमेलिया पावर हाउसमा दुइवटा युनिटबाट विद्युत उत्पादन गरिने भएको छ । १५/१५ मेघावाटका दुईटा युनिट जडान गरी विद्युत उत्पादन गरिने छ ।


प्रोटोकल अनुसार एक युनिटको वेभ टेष्ट गर्न एक महिना लाग्ने भएपनि देशमा विद्युतको माग अत्यधिक भएकाले चाँडो विद्युत उत्पादन गरी मागलाई धान्नुपर्ने कारणले पनि छिटो छरितो रुपमा काम भैरहेको आयोजना प्रमुख दाहालको भनाई छ ।


यसअघि नै बलाचदेखि अत्तरियासम्मका ट्रान्सफर्मर लाईन चार्ज भैसकेकाले छिट्टै व्यवसायिक रुपमा विद्युत उत्पादन गर्न सकिने उनले बताए । उनले भने, ‘देशमा विद्युतको चरम संकट भएकाले छिटो–छिटो काम गर्नुपर्ने भएको छ । जनवरी पहिलो साताबाट व्यवसायीक उत्पादन सुरु गर्ने तयारीका अनुसार काम भैरहेको छ ।’

यसअघि डिसेम्बरमा नै व्यवसायिक उत्पादन गर्ने जनाए पनि बाँध साईटको गेटमा समस्या आउदा केहि पर धकेलिएको आयोजनाले जनाएको छ । शुक्रबार आयोजनाको गेट परीक्षण सफल भएपछि शनिबारबाट वेभ परिक्षण कार्य सुरु गरिएको हो । सरकारको लगानीबाट निर्माण भएको प्रदेश ७ को सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको चमेलिया जलविद्युत आयोजनाले विद्युतउत्पादन गरे देशमा व्याप्त लोडसेडिङ्गबाट केहि हदसम्म राहत मिल्ने देखिएको छ ।

आर्थिक वर्ष ०६३/६४ मा निर्माण सुरु भएको चमेलिया आयोजना ०६८ सालमा सम्पन्न हुनुपर्ने लक्ष्य भएपनि पूर्व निर्धारित अवधी भन्दा करिब ६ वर्षपछि पूरा हुन लागेको छ । ठेकेदारसंगको असमझदारी, सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले आयोजना निर्माणमा ढिलाइ भएको नेपालविद्युत् प्राधिकरणले जनाएको छ । करिब ८ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजना सम्पन्न हुदासम्म करिब १६ अर्ब रुपैयाँ खर्च हुने देखिएकोछ ।


सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिजिजिसी) ले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ ।


प्रकाशित : पुस ९, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?