१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

होङ्सी शिवम् सिमेन्ट निर्माण अन्तिम चरणमा

कृष्ण आचार्य

नवलपरासी — चीनबाट हालसम्मकै बढी लगानी भएको होङ्सी शिवम् सिमेन्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको शिवम् सिमेन्ट प्रालिसँगको संयुक्त लगानीमा उद्योगले निर्माण थालेको एक वर्षमै उत्पादनको अन्तिम तयारी गरिरहेको हो ।

होङ्सी शिवम् सिमेन्ट निर्माण अन्तिम चरणमा

करिब ३६ अर्ब रुपैयाँ लगानी रहेको सिमेन्टमा ३० प्रतिशत शिवम् र ७० प्रतिशत चिनियाँ होङ्सीको लगानी रहेको छ । ‘१६ सय कामदारले निर्माणको काम गरिरहेका छन्,’ होङ्सी शिवम् सिमेन्टका नेपाली लगानीकर्ता तथा उद्योगका उपमहाप्रबन्धक गौरभ गोयलले भने, ‘यसमध्ये ११ सय नेपालीहरू छन् । बाँकी चिनियाँ नागरिकहरूले काम गरिरहेका छन् ।’ दु्रत गतिमा निर्माण सम्पन्न गर्नका लागि हाल दैनिक तीन सिफ्टमा काम भइरहेको छ । ठीक एक वर्षअघिबाट निर्माण सुरु भएको यस उद्योगमा उत्पादन सुरुवात गर्नुपूर्वका करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । वर्षायाममा समेत काम गरी निर्माणलाई तीव्रता दिइएको थियो । नवलपरासीको सर्दीबगैंचामा ८० हेक्टर क्षेत्रफलमा उद्योग विस्तारको काम भइरहेको हो ।

‘स्थानीय लगानीकर्तासँगको राम्रो समन्वय, कामदारको मिहिनेत, होङ्सीको अनुभवले यति छोटो अवधिमा ठूलो प्रगति भएको हो,’ कम्पनीका निर्देशक/महाप्रबन्धक लाई वेइपेङले भने । सिमेन्टमा निकै ठूलो लगानी मानिएको यस उद्योगले उत्पादनको सुरुवाती चरणमा दैनिक ६ हजार टन र दोस्रो चरणमा १२ हजार टन उत्पादन गर्नेछ । महेन्द्र राजमार्गबाट १२ किलोमिटरभित्र नवलपरासीको सर्दीबगैंचामा सिमेन्ट उत्पादनको प्लान्ट, प्लान्टबाट २८ किलोमिटर टाढा पाल्पामा खानी रहनेछ । उत्पादन स्थलसम्मका लागि विद्युत् र पहुँचमार्गको निर्माणमा समस्या देखिएको छ । सरकारले सिमेन्ट उद्योगका लागि विद्युत् र पहुँचमार्गको निर्माण गरिदिने कार्यक्रम ल्याए पनि सुविधा नपाएको महाप्रबन्धक गोयलले बताए ।

पहुँचमार्ग उद्योगले आफैं निर्माण गरेको छ । उद्योगका लागि आवश्यक १ सय ३२ केभी प्रसारण बर्दघाटबाट ल्याउने काम भने सुरु हुन सकेको छैन । ‘राजमार्गदेखि प्लान्टसम्मको १२ किलोमिटर सडक हामी आफैंले बनायौं,’ गोयलले भने, ‘विद्युत्को प्रसारण लाइनको व्यवस्था नगरिदिए उत्पादनमा समस्या पर्नेछ ।’ उत्पादन सुरु भएलगत्तै १२ किलोमिटर दूरीको सडकमा दैनिक हजारभन्दा कढी ट्रक तथा ट्रिपर गुड्नेछन् । ‘बाटो र स्थानीय खोलाहरूमा पुल निर्माण नगरिदिने हो भने उत्पादित सिमेन्ट बजारसम्म पुर्‍याउन समस्या पर्नेछ,’ उनले भने ।

सुरुको चरणमा दैनिक ६ सय टन उत्पादन गर्दा ४० मेगावाट र पूर्ण क्षमता अर्थात् दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दा ८० मेगावाट विद्युत् आवश्यक पर्छ । ‘विद्युत् आपूर्तिका लागि प्राधिकरणसँग कुरा गरे पनि प्रसारण लाइन निर्माण गर्न दुई वर्ष लाग्ने जनाएको छ,’ उनले भने, ‘यदि हामीले सरकारको विद्युत् पाएनौं भने डिजेलबाट सिमेन्ट उत्पादन गर्नुपर्ने हुन्छ । जुन निकै महँगो पर्न जान्छ ।’ त्यसका लागि करिब १ अर्ब ८० करोड रुपैयाँ लागत बढी लाग्ने अनुमान उद्योगको छ । उद्योगका लागि आवश्यक विद्युत् र धूलो नियन्त्रणका लागि यो उद्योगमा करिब १२ मेगावाट विद्युत् उत्पादनको तयारी भइरहेको छ । धूलो नियन्त्रण गरी त्यसबाट विद्युत् उत्पादनको प्रयोग नेपालमा पहिलो रहेको उद्योगले जनाएको छ ।

‘हाम्रो तर्फबाट गर्नुपर्ने कामहरू (वातावरण प्रदूषण नियन्त्रण र वृक्षरोपण) गरिसकेका छौं,’ उनले भने, ‘सरकारबाट भने सहयोग पाउन सकिरहेका छैनौं ।’ प्राधिकरणले प्रसारण लाइनका लागि समय लाग्ने जनाए पनि विद्युत् आपूर्तिका लागि भने वैकल्पिक रूपमा २५ मेगावाट क्षमताको थर्मल प्लान्टको व्यवस्था उद्योगले गरिरहेको हो । गोयलका अनुसार सरकारबाट खानी हस्तान्तरणको कामसमेत नभएर समस्या परिरहेको छ । सरोकारवाला सबै निकायले खानी हस्तान्तरणको काम सके पनि वन मन्त्रालयले भने अड्काएर राखेको उनले बताए । उनका अनुसार खानी क्षेत्र वरपरका रूख कटान गर्नुपर्ने हुन्छ । कटान गरिएका सट्टा अर्को क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने हुन्छ । त्यसका लागि वनले जग्गा उपलब्ध गराएको छैन । क्षतिपूर्ति दिने उद्योगको प्रस्ताव वनले नमानेकाले खानी क्षेत्र हस्तान्तरणमा समस्या भएको हो । खानी उपलब्ध नभएसम्म आयातित क्लिंकरबाट उद्योगले सिमेन्ट उत्पादन गर्नुपर्ने हुन्छ ।

‘खानी क्षेत्रका प्रभावित बासिन्दालाई चित्त बुझाएर स्थान्तरणको काम गरिरहेका छौं,’ उनले भने, ‘२६ वटा परिवारलाई सर्दीबगैंचामा १२ आनाको जग्गामा पक्की घर निर्माण गर्ने काम भइरहेको हो ।’ जग्गा खरिद गरी घर निर्माणका अलावा खानी क्षेत्रमा पर्ने जग्गाको समेत मुआब्जा दिइएको उनले बताए । प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डले ०७२ सालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिएको हो । कम्पनी र बोर्डबीच परियोजना लगानी सम्झौता (पीआईए) भने गत भदौमा भएको हो ।

प्रकाशित : पुस ११, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?