कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलाद काट्ने बने अर्बपति

धनीका कुरा
‘आफूलाई रुचि भएको विषयलाई पछयाउँदै अगाडि बढेमा सफलता अवश्य हात पर्दो रैछ’ 
दिनेश यादव

काठमाडौँ — रोबर्ट विलियम ‘बबी फ्ले’ एकजना सेलिब्रेटी सेफ हुन् । चर्चित ‘खाद्य नेटवर्क’ टेलिभिजन च्यानलमा लोकप्रिय पाककलासम्बन्धी कार्यक्रमसमेत चलाउने अवसर यिनले पाए । पारम्परिक पश्चिमा शैलीको खाना पकाउनका लागि यिनी लोकप्रिय छन् । खाना पकाउने उनको शैली अनौठो छ ।

सलाद काट्ने बने अर्बपति

बाल्यकालदेखि नै खाना पकाउनमा रुचि भएका बबी फ्ले ठूलो भएपछि पनि यसैलाई निरन्तरता दिने निधोमा पुगे । यही चाहनाका कारण उनी एकजना प्रसिद्ध र सफल रेस्टुरेन्टहरूको एउटा शृंखलाका मालिकसमेत बन्न सफल भएका छन् । उनी भन्छन्, ‘आफूलाई रुचि भएको विषयलाई पछयाउँदै अगाडि बढेकामा सफलता अवश्य हात पर्दो रैछ ।’


आठ वर्षका छँदै किचेनको ‘ओभन मास्टर’ बनिसकेका थिए । यति मात्रै भए त हुन्थ्यो, थरी–थरीका परिकारसमेत बनाउन थालिसकेका थिए । फुच्चे ‘बबी फ्ले’ कलिलै उमेरमा फास्ट फुड रेस्टुरेन्टमा काम गर्ने हैसियतमा पुगेका थिए, अझ कामैको खोजीमा समेत लागिसकेका थिए । तर, त्यही क्रममा उनले फ्रेन्च कुलिनरी इन्स्टिच्युटमा पढ्ने अवसर पाए, त्यहाँबाट उनले कुलिनरी आर्टको डिग्री हासिल गरे । यिनी संयोगबस मेसा ग्रिलका पार्टनर बन्न पुगेका थिए, जहाँ कुनै बेला यिनले कार्यकारी सेफको रूपमा काम गरिसकेका थिए । यो उनको पहिलो सफलताको खुड्किलो बन्न पुग्यो ।


हाल उनी विभिन्न स्थानमा खोलिएका होटलहरूको शृंखलाका मालिक हुन् । ती होटलहरूको आम्दानीबाट बबी अर्बपति बनेका छन् । उनले पाक शिक्षामा आधारित कयौं कार्यक्रमहरू टेलिभिजनमा सञ्चालन गरिसकेका छन् । उनको सबैभन्दा चर्चित कार्यक्रम ‘आइरन सेफ अमेरिका’ हो । कार्यक्रम प्रस्तोता मात्रै हैन, पाककलासम्बन्धी विभिन्न पुस्तकका लेखकसमेत बनेका छन् ।


अमेरिकी नागरिक बबी फ्लेको जन्म १० डिसेम्बर १९६४ मा न्युयोर्कमा भएको हो । यिनका आमाबुबा आइरिस अमेरिकन थिए । सानै छँदा यिनका आमाबुबाको पारपाचुके भएको थियो । यिनको पालनपोषण घर नजिकैका छिमेकीले गरिदिएका हुन् । सानै छँदा यिनले परिवारले भान्सा कोठाका लागि आवश्यक पर्ने सामग्रीको सूची तयार पार्न सघाउँथे । विद्यालयबाट फर्केपछि सधैं यिनले स्वादिलो स्न्याक्स बनाउन मन पराउँथे । यिनले बनाएको स्न्याक्सहरू परिवारका सबै सदस्यहरूले मन पराउँथे । खानेकुरा बनाउनमा यिनको जति ध्यान थियो, त्यति पढ्नमा थिएन । त्यसैले १७ वर्षकै उमेरमा यिनले आफ्नो पढाइ छाडिदिए ।

सन् १९८२ मा यिनले न्युयोर्कस्थित जोए अलेन रेस्टुरेन्टमा सलाद बनाउने काम पाएका थिए । उनका बुबा उक्त रेस्टुरेन्टका एकजना सहयोगी थिए । जोए एलेन बबीको कामबाट निकै प्रभावित भई उनलाई फ्रेन्च कुलिनरी इस्टिच्युटमा पढ्नका लागि चाँजोपाँजो मिलाइदिए । त्यहीँबाट बबी फ्लेले सन १९८४ मा स्नातकको उपाधि हासिल गरे । त्यसपछि यिनले ‘ब्राइटन ग्रिल’ मा कार्यकारी सेफका रूपमा काम थाले । पछि यिनी चर्चित होटल व्यवसायी जोनाथन वाक्सम्यानको सम्पर्कमा आए । पछि उनकै ‘बड एन्ड जाम’ रेस्टुरेन्टमा एकजना सेफका रूपमा काम गरे । त्यहीँ बबी फ्ले साउथवेस्टर्न र क्याजुन क्युसिनका रूपमा पनि उनले आफ्नो परिचय बनाए । वाक्सम्यानलाई आफ्नो करियरमा पुर्‍याएको योगदानप्रति उनी औधी अनुग्रहित रहने गर्छन् । मानिसको मनै त हो, एउटै काम गर्दागर्दै दिक्क लाग्न सक्छ । सायद त्यही भएरै होला बबीले छोटो अवधिका लागि भए पनि स्टकब्रोकर (सेयर दलाल) को रूपमा काम गर्ने प्रयास गरे तर यसमा उनी सफल हुन सकेनन् । त्यसपछि उनी सन् १९८८ मा अमेरिकाको चर्चित रेस्टुरेन्टमध्येका एक ‘मिराकल ग्रिल’ मा कार्यकारी सेफका रूपमा सन् १९९० सम्म काम गरे ।


होटल व्यवसायी जेरोम क्रेचमरले साउथवेस्टर्न स्टाइलको सेफका खोजी गर्ने क्रममा बबी फ्लेलाई उपयुक्त ठान्दै आफ्नो ‘मेसा ग्रिल’ मा उनलाई कार्यकारी सेफका रूपमा नियुक्त गरिदिए । सन् १९९१ मा उनी मेसा ग्रिलका एकजना पार्टनर नै बन्न भ्याए । मात्र दुई वर्षपछि एकजना साथी खोजेर उनी ‘बोलो बार एन्ड रेस्टुरेन्ट’ खोले । सन् २००३ मा ‘बबी फ्ले छात्रवृत्ति कोष’ स्थापना गरी लङ आइल्यान्ड सिटी कुलिनरी आर्टस कार्यक्रमका लागि विद्यार्थीलाई अवार्डेड गर्न थाले । उनले केही वर्षभित्रै आफ्नो रेस्टुरेन्टको शृंखला विस्तार थाले । त्यसैक्रममा उनले सन् २००४ मा लस भेगासमा दोस्रो ‘मेसा ग्रिल’, सन् २००५ मा ‘बार अमेरिका’ र सन् २००७ मा बाहामासमा तेस्रो ‘मेसा ग्रिल’ लगायतका रेस्टुरेन्ट खोल्न सफल भए ।


सन् २००८ मा न्युयोर्कमा बबीले पहिलो बर्गर प्यालेस पनि खोले । त्यही वर्षको डिसेम्बरमा न्युजर्सीमा अर्को त्यस्तै प्यालेस सञ्चालनमा ल्याए । यी दुवै अत्यन्तै चर्चित बन्यो । केही वर्षकै क्रममा विभिन्न लोकेसनमा उनले थप सातवटा रेस्टुरेन्ट खोल्न सफल भए । सन् २०१२ मा बबीले म्यारिल्यान्डमा सबैभन्दा ठूलो ‘बबिज बर्गर प्यालेस’ सञ्चालनमा ल्याए । पछि उनी होटल व्यवसायीसँगै एकजना टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा समेत काम गरे । उनले फुड नेटवर्कमा १३ वटा पाककलासम्बन्धी कार्यक्रम सञ्चालन गरे ।


उनका लोकप्रिय कार्यक्रमहरूमा ‘वाय मिट्स ग्रिल’, ‘बीबीक्यू विथ बबी फ्ले’, दि बेस्ट थिङ आई एभर एट’ र ‘बबी’ ज डिनर ब्याटल’ लोकप्रिय रहयो । यति मात्रै हैन, उनले पाककलासँग सम्बन्धित केही पुस्तकसमेत लेखेका छन् । बबीले सन् १९९४ मा ‘बबी फ्लेज बोल्ड अमेरिक फुड’, सन् १९९९ मा ‘बबी फ्ले बोय मिट्स ग्रिल’, २००५ मा ‘बबी फ्लेज ग्रिलिङ फर लाइफ र सन् २००९ मा ‘बबी फ्लेज बर्गर्स, फ्राइज एन्ड स्याकेज’ पुस्तकहरू प्रकाशित गरे ।


बबी फ्ले होटल व्यवसायमा सफल भए पनि उनको व्यक्तिगत जीवन अपेक्षाकृत सफल बन्न सकेन । खासगरी वैवाहिक जीवन उनको व्यवस्थित हुन सकेन । उनले जीवनमा तीनपटकसम्म विवाह गर्नुपर्‍यो । उनकी पहिली पत्नी डेब्रा पोन्जेक एकजना लोकप्रिय अमेरिकी सेफ थिइन् । डेब्रासँग सन् १९९१ मा बिहे गरेको दुई वर्षपछि सम्बन्ध विच्छेद भयो । दुई वर्षसम्म त्यसै बसेर सन् १९९५ मा उनले केट कनेलीसँग विवाह गरे, त्यो पनि लामो समय टिकेन, सम्बन्ध विच्छेद भयो । सन् २००५ मा उनले नायिका स्टेफेनीसँग विवाह गरे । झन्डै एक दशकसँगै बसेर उनीसँग पनि सन् २०१५ मा सम्बन्ध विच्छेद गरे ।


हाल एक सन्तानका बुबा उनी आफ्नो व्यापार र व्यवसायको विस्तारमा बढी समय खर्च गर्छन् । ‘सेलिब्रेटी’ पत्रिकाका अनुसार बबी फ्लेको कुल सम्पत्ति २ करोड अमेरिकी डलर (२ अर्ब ४ करोड ४१ लाख ३९ हजार ६ सय रुपैयाँ) रहेको छ । विश्वका सेफहरू सबैभन्दा बढी कमाउनेमध्येका उनी पनि एक हुन् । ‘फोब्र्स’ का अनुसार उनी ४७ वर्षको उमेरमा ९० लाख अमेरिकी डलर सम्पत्ति आफ्नो व्यवसायबाट जोड्न सफल भएका थिए ।

(एजेन्सीहरू)

प्रकाशित : पुस १५, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?