बिक्री भएनन् हिउँदे मकै

वीरेन्द्र केसी

पाकुरी (अर्घाखाँची) — जिल्लाको सिद्धारामा उत्पादन भएका हिउँदे मकै बिक्री नहुँदा किसान मर्कामा परेका छन् । भदौमा रोपेको मकै पुसमा पाकिसकेको छ । तर बजार अभावमा मकै बारीमै थन्किएका छन् । हिउँदे मकैको घोघा वर्षेको भन्दा कम छैन । 

बिक्री भएनन् हिउँदे मकै

जंगलभित्रको पातलो बस्ती भएकाले बजार पुर्‍याउन एक दिन समय लाग्छ । ‘घर पल्तिर मोटरबाटो छ । तर, यात्रुबाहक गाडी दैनिक चल्दैनन् । यात्रु नपाइने भन्दै बस र जिप चल्दैनन्,’ पाकुरीका कमानसिंह सारुले भने । उनले सात रोपनी बारीमा मकै उत्पादन गरेका छन् । ‘बिक्री भए आम्दानी हुन्थ्यो,’ उनले भने, ‘बजार टाढा भएकाले लैजान सकिंँदैन । ग्राहक पनि घरमा आउँदैनन् ।’ दाङ र कपिलवस्तुसँग सिमाना जोडिएको सिद्धाराका बस्तीबाट बजार पहुँच सहज छैन । उनका अनुसार पाकुरीमा २०, सिस्नेमा सात, लामिदमार र ढाडखोलाका ३५ घरले हिउँदे मकै खेती गर्छन् । चन्द्रौटा बजारमा पुर्‍याए घोघाको १५ रुपैयाँसम्म पर्छ । तर, एक दिन पूरै लाग्छ ।


बेमौसमी मकै उत्पादन गरे पनि बिक्री नहुँदा गाउँमा आम्दानी भित्रिन सकेको छैन । दस वर्षदेखि यी गाउँमा हिउँदे मकै खेती हुँदै आएका छ । मकै जोगाउन पनि कम्ती दु:ख छैन । घोघा लाग्दै गरेको मकै बँदेलले खाइदिएर सखाप परिदिन्छ । त्यसबाट जोगाउन बारीमै बस्नुपर्छ । ‘मकैको घोघा लाग्नुभन्दा अघि नै बारीमा अग्लो टौवा (खाट) बनाउँछौं,’ उनले भने, ‘विस्तार बनाएर चौकीदार बस्नुपर्छ । भोक र प्यास मेटाउन खानेकुरा र पानी साथमै राख्छौं ।’ बँदेल आउँदा थाल, टिन र ताउला ठटाउने गरेर मकै जोगाउने उनले बताए । चौकीदार नबस्ने हो भने मकै सखाप नै पार्छ ।


‘मोटरबाटो भए पनि गाडी चल्दैनन्,’ उनले भने, ‘गाउँमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन कठिन छ । उर्वरभूमि भएकाले अन्न, मसलाबाली र तरकारी खेती राम्रो हुन्छ । यात्रु नपाइने भएको भन्दै बस र जिप आउन मानेनन् ।’ ‘हाइब्रिड जातको मकै राम्रो फलेको छ । घोघा पनि ठूलै छन् । वर्षेभन्दा हिउँदे मकै राम्रो फल्छ । वर्षेमा मकैमा पोके देखा पर्छ । घोघा थोत्रा हुन्छन् । हिउँदे मकैको घोघा सबै एकनासले फलेको हुन्छ,’ उनले भने, ‘बेमौसमी उत्पादन चीज नै हुन्छ । इष्टमित्र, नातेदार र घरमा आएका पाहुनालाई उपहार स्वरूप मकै दिन्छौं ।’ पाकुरीकै सनबहादुर रोकाले भने, ‘बिक्री भए पैसा पर्ने थियो । नभए पनि इष्ट राख्नलाई दिन्छौं ।’


मकैभित्र बोडी पनि फलेको छ । चिसो ठाउँ र मलिलो माटो भएकाले उब्जनी राम्रो हुने उनले बताए । मोटरबाटो भए पनि छरिएर रहेको बस्तीसम्म पुग्न लामो दूरी छ । रोकाका अनुसार गाडी चढ्न एक घण्टा पैदल हिँड्नुपर्छ । ‘मकै बिक्री हुने भए गहुँ नै खेती गर्ने थिएनौं,’ उनले भने, ‘बजार पहुँच छैन । आधा बारीमा मात्रै मकै खेती गर्छौं ।’ बँदेलले हैरान पारेकाले बारम्बार प्रहरीलाई धपाइदिन आग्रह गरे पनि वास्ता नगरेको उनले बताए । ‘चुनावमा भोट माग्न आउने नेतालाई हरेकपटक भन्यौं । हुन्छ भन्छन् । तर, केही चासो दिएनन्,’ उनले भने । प्रहरीले बँदेल मार्न पाइँदैन भन्छन । तर, गाउँलेको खेती सखाप पारिदिएर उठीबास नै लागेको पाकुरीकै दानबहादुर सारुले बताए । ‘हिउँदे र वर्षे मकै खेती जोगाउन कम्ती दु:ख छैन,’ उनले भने, ‘हैरान नै बनाएको छ ।’ उनले हिउँदे मकै मीठो र स्वादिलो हुने दाबी गरे । ‘उत्पादन भए पनि बजार अभावमा बिक्री भएन,’ उनले भने, ‘बारीका सबै मकै बिक्री भएमा ५० हजार आम्दानी हुन्थ्यो ।’

प्रकाशित : पुस १६, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?