१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्व अर्थतन्त्रले २०१७ मा गति लियो

दिनेश यादव

काठमाडौँ — विभिन्न शंका र अड्कलबाजी बीच वित्तीय बजार र विश्वव्यापी अर्थव्यवस्थाका लागि सन् २०१७ सकारात्मक रहयो । वर्षको उत्तराद्र्धमा उत्तर कोरियाको परमाणु धम्कीले युद्धको संकेत गरे पनि अर्थबजारमा त्यसको खासै प्रभाव परेको देखिएन । विभिन्न मुलुकका राजनीतिक उतारचढावले वित्त बजारमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक ठानिए पनि त्यसको खासै असर परेन । 

विश्व अर्थतन्त्रले २०१७ मा गति लियो

यो वर्ष सबैभन्दा चर्चामा रहयो, डिजिटल मुद्रा ‘बिट क्वाइन’ । विश्वका अधिकांश मुलुकले सरकारी स्तरमा मान्यता नलिए पनि क्रिप्टोकरेन्सीले रेकर्ड तोडेरै उच्च विन्दुमा पुग्न सफल रहयो ।


‘बिजनेस इन्साइडर’ अनलाइनमा विल मार्टिन लेख्छन्, ‘वित्तीय बजार र विश्वव्यापी अर्थव्यवस्थाका लागि यो वर्ष राम्रो रहयो । २०१६ को उत्तराद्र्धमा अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि बजार धराशायी हुने, बेलायतमा ब्रेक्सिटले मन्दी छाउने र इटालेली बैंकिङ प्रणालीको प्रभावपछि युरोजोनको पतन हुने जस्ता आशंकाले सन् २०१७ मा खासै प्रभाव परेन ।’ उनले व्यापक मात्रामा सकारात्मक विकास र बढ्दो सेयर यो वर्षको आर्थिक कथाको प्रमुख अंश बनेको बताए । ‘यसो भनिरहँदा सन् २०१७ मा अर्थव्यवस्था र वित्तीय बजार सुस्ताएकै छैन भन्ने हैन । केही परिघटनाहरू विश्व अर्थतन्त्रमा केही न केही प्रभाव पक्कै पारेकै छ,’ उनले लेखेका छन्, ‘तर, केही प्रमुख विन्दुहरूमा विश्व अर्थव्यवस्थाले

फड्को मारेको सत्य हो । फेडरल रिजर्भले आफ्नो कठोर चक्रलाई जारी राख्नु, बैंक अफ इंग्ल्यान्डले १० वर्षमा पहिलोपटक ब्याज दरमा वृद्धि गर्नु र बिटक्वाइनले अप्रत्याशित रूपमा गति लिनुलाई सकारात्मक पक्षका रूपमा लिन सकिन्छ ।


सन् २०१७ को सबैभन्दा ठूलो वित्तीय कथा ‘बिटक्वाइन’ को उल्का वृद्धिसँग जोडियो । डिजिटल मुद्रा (क्रिप्योकरेन्सी) सन् २००९ यथावत् थियो । सन् २०१७ मा यसको पहिचानमा व्यापकतासँगै यो वास्तवमै मूलधारमा आउन सफल भयो । जनवरी १ मा बिटक्वाइनको प्रतिएकाइ ९ सय ८ अमेरिकी डलरमा कारोबार भएको थियो तर फास्ट फरवार्ड हुँदै १२ महिनाभन्दा कम समयमै एक बिटक्वाइनको मूल्य १८ हजार डलर अमेरिकी डलरभन्दा बढी हुन पुग्यो । ‘बिटक्वाइन’ ले पारम्परिक वित्तीय संस्थाहरू र खेलाडीको बीच एउटा ठूलो विभाजनको रेखा कोर्न सफल भयो ।


विश्व बैंकको ग्लोबल जीडीपी तथ्यांकअनुसार सन् २०१६ मा ७ सय ५० खर्ब ५० अर्ब डलर रहेको विश्व अर्थतन्त्रको आकार यो वर्ष ७ सय ८० खर्ब ४० अर्ब अमेरिकी डलर पुग्यो । सन् २०१७ मा सबैभन्दा बढी ‘जीडीपी’ भएका पाँच मुलुकहरूमा अमेरिका, चीन, जापान, जर्मनी र फ्रान्स रहे । यी मुलुकहरूको कुल विश्व उत्पादन (जीडब्लूपी) मा आधाभन्दा बढी योगदान थियो । अमेरिका २५ प्रतिशत जीडब्लूपी अर्थात् १ सय ९० खर्ब ४० अर्ब डलरका साथ पहिलो स्थानमा रहन सफल भयो । त्यसैगरी दोस्रो ठूला अर्थव्यवस्था भएको मुलुक चीन हो, विश्वव्यापी जीडीपीमा उसको योगदान १४ दशमलव ९ प्रतिशत रहयो ।


ग्लोबल इकोनोमी वाचका अनुसार सन् २०१७ मा विश्वव्यापी अर्थव्यवस्थामा अमेरिका, एसिया र युरोजोनको विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ६० प्रतिशत योगदान रहयो, जबकि पीपीपीका आधारमा २०१७ मा ७० प्रतिशत योगदान गर्ने अपेक्षा गरिएको थियो ।


छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो वर्ष धेरै कठिन रहयो । बीबीसीका अनुसार एक वर्षअघि मात्रै भारत विश्वव्यापी अर्थतन्त्रको वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको थियो । यो वर्ष भने त्यसलाई निरन्तरता दिन सकेन । भारतको आर्थिक नीतिमा प्रमुख दुई कारणले प्रभाव पर्‍यो । पहिलो सन् २०१६ को नोभेम्बरमा करिब ८६ प्रतिशत नगद कारोबार रद्द गर्नुले त्यसको प्रभाव यो वर्षको अन्त्यसम्म रहिरहयो । दोस्रो भारत स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो कर प्रणालीमा सुधारको घोषणा थियो । एकल वस्तु तथा सेवा शुल्क (जीएसटी) लागू गर्नुले संघीय र राज्यस्तरको करहरूमा असर गर्‍यो । यसबाट भारतको अर्थव्यवस्था अपेक्षा गरेअनुसार फड्को मार्न नसकेको हो । (एजेन्सीहरू)


२०१८ पनि राम्रै हुने अनुमान

पीडब्लूसीको म्याक्रोइकोनोमिक्स टिमसम्मिलित ‘ग्लोबल इकोनोमी वाच (जीईडब्लू)’ ले सन २०१८ विश्व अर्थव्यवस्था र वित्तीय बजारका लागि सकारात्मक संकेत दिने खालको रहेको जनाएको छ ।


विश्वव्यापी अर्थव्यवस्थालाई प्रभावित पार्ने रुझान र मुद्दाहरूको विश्लेषण जीईडब्लू विश्वको अग्रणी अर्थव्यवस्थका लागि नवीनतम आर्थिक अनुमानहरूको विवरण सार्वजनिक गर्छ । उक्त संस्थाका अनुसार अगामी वर्ष विश्व अर्थव्यवस्थाको बृद्धि आफ्नो ट्रयाकमा आउने भविष्यवाणी गरेको छ । सन् २०११ यताकै सबैभन्दा द्रुत गतिमा आर्थिक सुधार हुने दाबी आफ्नो रिपोर्टमा गरेको छ । पर्चेजिङ पावर प्यारिटी (पीपीपी) का आधारमा विश्वव्यापी अर्थव्यवस्था ४ प्रतिशतले वृद्धि हुने उसले जनाएको छ ।


अगामी वर्ष इजी मनी (सजिलो मुद्रा) को अन्त्य हुने जीईडब्लूले जनाएको छ । फेडर रिजर्भले बिस्तारै आफ्नो ब्यालेन्स सिट र बैंक दर वृद्धिको आधारलाई घटाउन थालेयता यसलाई कसले पछयाउने भन्ने प्रश्न खडा गरिदिएको थियो । युरोपियन सेन्ट्रल बैंक (ईसीबी) ले सन् २०१८ मा मासिक सम्पत्ति खरिदलाई घटाउने अपेक्षा उसको छ । जीईडब्लूले भनेको छ, ‘यदि हाम्रो अनुमान सही भएको अवस्थामा सन् २०१८ मा ईसीबीले सम्पत्ति खरिद कार्यक्रमलाई समाप्त गर्न सक्छ । जापानमा भने मौद्रिक नीतिमा नाटकीय रूपान्तरण हुने कुरा सोच्न सकिन्न, तथापि ‘जी ७’ को कठोर मौद्रिक नीतिले यसका कारण उत्पन्न हुने अन्तरलाई केही हदसम्म कम गर्न सक्नेछ ।’


जीईडब्लूको अर्को भविष्यवाणी ऊर्जासँग सम्बन्धित छ । उसले सन् २०१८ मा विश्वव्यापी अर्थव्यवस्था सबैभन्दा ठूलो र ऊर्जाको भोक बढी हुने जनाएको छ । विश्वव्यापी अर्थव्यवस्थाको लगभग ६ सय वर्गमिटर ब्रिटिस थर्मल युनिट (बीटीयू) को उपभोग गर्छ, जुन १९८० को भन्दा निकै उच्च हो । भारत र चीनले एकै साथ विश्वव्यापी ऊर्जाको लगभग ३० प्रतिशत उपभोग गर्नेछन्, जुन अफ्रिकी महाद्वीपको तुलनामा झन्डै ६ गुणा बढी हुनेछ । नवीकरणीय ऊर्जाको दिशामा विश्वका विभिन्न मुलुक अघि बढ्ने निश्चितप्राय: छ ।


विश्व आर्थिक परिदृश्यका आधारमा सन् २०१८ मा अमेरिका र जापानमा सुस्ताएको अर्थव्यवस्था फेरि आफ्नो बाटोमा आउने लख काटिएको छ । आर्थिक सहयोग तथा विकास संगठनका अनुसार जापान र अमेरिकाको अर्थव्यस्थामा १० देखि २० प्रतिशतसम्म सकारात्मक परिवर्तत आउन सक्छ । भारतको अर्थव्यवस्था विगतको नोटबन्दी र जीएटीको प्रभावबाट मुक्त हुन सक्ने सञ्चार माध्यमहरूले जनाएका छन् । यसैगरी चीनको अर्थव्यस्था पनि अपेक्षाकृत सुस्ताएकाले सन् २०१८ मा फेरि गति लिन सक्छ । यदि विश्वमा शान्ति कायम रहेमा विश्वलाई कुनै पनि भू–राजनीतिक तथा ठूलो प्राकृतिक संकटको सामना गर्न नपरेमा र कच्चा तेलको मूल्य स्थिर रहेमा सन् २०१८ आर्थिक दृष्टिले विश्वका लागि राम्रो हुने सम्भावना छ ।

प्रकाशित : पुस १७, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?