कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगमा लगानी बढ्दो

नियमित ऊर्जाले उद्योगमा उत्साह
औद्योगिक उत्पादन परिमाण बढ्यो

विराटनगर — मुख्यतया लोडसेडिङमा आएको कमीले सुनसरी–मोरङ औद्योगिक करिडोरको उत्पादन सन् २०१७ मा २० प्रतिशतसम्म बढेको छ । भएको उद्योगको उत्पादन बढेसँगै नयाँ लगानी पनि थपिएको छ । यसअघि ऊर्जा अभावमा उद्योगहरूले आधा उत्पादन कटौती गर्नुपरेको थियो ।

उद्योगमा लगानी बढ्दो

‘विद्युत् नियमित भएकाले सन् २०१७ अघि क्षमताको ५० प्रतिशतमात्र उत्पादन गर्दै आएका उद्योगले ७५ प्रतिशत पुर्‍याएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले भने, ‘थपिएका नयाँँ उद्योग र पुरानाले विस्तार समेत गर्दा १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।’ यो वर्ष करिडोरमा सिमेन्ट, चाउचाउ, टायर, रड, चप्पल, प्लास्टिक, स्टिल, खानेतेल, ब्याट्री, पशुपक्षी दानालगायत उद्योगहरू थपिएका छन् । अन्य धेरै चालु अवस्थामा रहेका उद्योगहरूले समेत क्षमता बढाएका छन् ।

करिडोरमा ६० करोडको लगानीमा नयाँँ सिमेन्ट उद्योग स्थापना भएको छ । मोरङको बूढीगंगा गाउँपालिकाको हात्तीमुढामा स्थापना भएको उद्योगले अन्नपूर्ण ब्रान्डको पीपीसी सिमेन्ट बजारमा ल्याउन लागेको हो । दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको सञ्चालक राजेन्द्र राउतले बताए । मोरङको हात्तीमुढामै तीनवटा सिमेन्ट उद्योग थपिँदै छन् । मुरारका ग्रुप र हरिवंश राठीले पनि सिमेन्ट उद्योग स्थापना गर्न लागेका छन् । उद्योगपति प्रदीप मुरारकाको एक अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुँदै छ भने उद्यमी हरिवंश राठी,

मनीष मारूलगायतको समूहले हात्तीमुढामै एक अर्ब लगानीमा नेपाल अल्ट्रा टेक नामक अर्को सिमेन्ट उद्योग स्थापना गरेका छन् ।

सुनसरीको खनारमा बोहरा गु्रपले रिफाइन खाने तेलको नयाँँ उद्योग स्थापना गरेको छ । २५ करोडको लगानीमा उद्योग स्थापना गरिएको सञ्चालक अविनाश बोहराले बताए । सुनसरी मोरङमा दुगड समूहले स्वस्ती, पशुपति खाद्य उद्योगले पशुपति, वाग्मती आयलले सेलो ब्रान्डको खाने तेल उत्पादन गर्दै आएका छन् । यसैगरी राठी र मुन्दडा ग्रुपले बाबा ब्रान्डको तेल उत्पादन गर्दै आएको छ ।

यहाँको विशाल गु्रपले ५० करोड लगानीमा मोरङको कटहरीमा टायर उद्योग खोलेको छ । भारतको फ्युचर गु्रपसँगको साझेदारीमा ग्रिन टायर प्रालिले नयाँँ वर्षसँगै उत्पादन थाल्ने बताएको छ । उद्योगले मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गर्नेछ । वार्षिक उत्पादन २ लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले जनाएको छ । डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गरिने भएको छ । तत्काल ५० करोडको लगानीमा स्थापना गरिएको उद्योगमा ५ वर्षभित्रै लगानी विस्तार गरेर २ अर्ब ५० करोड पुर्‍याउने उद्देश्य छ । अहिले ८० प्रतिशत आयात भारतबाट गरिन्छ ।

सारडा गु्रपले सुनसरीको दुहबीमा प्रिमियर स्टिल उद्योग स्थापना गरेको हो । निर्माण सामग्री उत्पादन गर्ने उक्त उद्योगले फलामे रड, एङगल, च्यानललगायत सामग्री उत्पादन गर्नेछ । १ अर्बको लगानी रहेको मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका सञ्चालक पवन सारडाले बताए । अहिले भौतिक संरचना निर्माण भइरहेको छ । उद्योगका लागि आवश्यक मेसिन आउने क्रममा छन् । ‘६ महिनादेखि ९ महिनाभित्र उत्पादन बजारमा आउँछ,’ सारडाले भने, ‘गुणस्तरीय भएकाले उपभोक्ताको मन जित्न सफल हुन्छौं ।’ यसैगरी ४० करोडको लगानीमा गुडलाइक बेभरेजले जुस उद्योग स्थापना गरेको छ । श्याम एग्रो गु्रपले नयाँँ प्लास्टिक उद्योग स्थापना गरेको छ ।

स्वस्तिक पोलिमेस इडस्ट्रजले आउने दसैंबाट आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । रमेश राठी, श्रवण अग्रवाल र अनुपम राठीको समूहले ३० करोडको लगनीमा मोरङको हात्तीमुढामा उक्त उद्योग स्थापना गरेका हुन् । उपभोक्ताको मागलाई मध्यनजर राख्दै प्लास्टिकका अत्याधुनिक गुणस्तरीय र आकर्षक प्रयोगका सामग्री उत्पादन गर्ने सञ्चालक राठीले बताए ।

यसबाहेक अन्य पूरा उद्योगले व्यापक रूपमा विस्तार गरेको मोरङ व्यापार संघका महासचिव नवीन रिजाल बताउँछन् । ‘२०१७ को सुरुवातमा नाकाबन्दी र बन्द हडतालको चपेटामा परे पनि त्यसपछिका सुधारले आशा जगाएको छ,’ रिजालले भने, ‘नयाँँ लगानी बढ्नुका साथै २० प्रतिशतसम्म उत्पादनसमेत बढेको छ ।’ विद्युत् नियमितताले उत्पादन वढ्नुका साथै नयाँँ लगानीसमेत तानेको रिजालको भनाइ छ ।

२ अर्बको कृषिउपज निर्यात

यो आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्बभन्दा बढीको कृषिउपज निर्यात भएको छ । पूर्वका नाकाबाट यो अवधिमा २ अर्ब १४ करोड १८ लाख ७४ हजार रुपैयाँको कृषिउपज निर्यात भएको हो । पूर्वबाट बन्दा, मुसुुरो, अदुवा, पिना, अलैंची, अम्रिसो, तेजपात, चिया, जडीबुटीलगायतका वस्तुहरू निर्यात हुने गरेको क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर विष्टले बताए ।

यो अवधिमा सबैभन्दा बढी बन्दाकोपी र मुला निर्यात भएको छ । यहाँबाट ७ करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको बन्दा र मुला निर्यात भएको कार्यालयले जनाएको छ । ३४ करोड ६६ लाख ८० हजारको मुुसुरो, २५ करोड १९ लाख ७७ हजार रुपैयाँको अदुवा, २१ करोड ३६ लाख ८४ हजार रुपैयाँ बराबरको पिना निर्यात भएको छ ।

यस्तै १ अर्ब ६ करोड ६६ लाख ५० हजार रुपैयाँको अलैंची, १३ करोड ४२ लाख ९८ हजार रुपैयाँको अम्रिसो, २ करोड ६४ लाख २६ हजार रुपैयाँको चिया निर्यात भएको विष्टले बताए । छ । गहुुँको चोकर, तेजपात, जडीबुटी, चिराइतो, आलस, दलहनका साथै अन्य वस्तुहरूसमेत निकासी हुने गरेका छन् ।

प्रकाशित : पुस २०, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?