कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सहुलियतको चामल कोटा कटौती

सुदीप कैनी

गोरखा — खाद्य संस्थानको चामल ढुवानीमा सधैं ढिला हुँदा सहुलियत कोटा कटौती भएको छ । संस्थानले चुमनुब्री गाउँपालिकामा बर्सेनि ३ हजार क्विन्टल सहुलियत मूल्यको चामल पठाउने गरेकोमा यस वर्ष परिमाण घटाएर २ हजारमा मात्र स्वीकृत गरेको हो ।

सहुलियतको चामल कोटा कटौती

दुर्गम क्षेत्रका बासिन्दाले चाडबाडका बेलामा समेत चामलको अभाव खेप्दै आएका थिए । संस्थानले ढुवानी ढिला गरेपछि सहुलिय चामलको बिक्री हुन सक्दैनथ्यो । संस्थानले यसपालिबाट चामलको कोटामा कटौती गरेको छ । संस्थानले चुमनुब्रीमा बर्सेनि ३ हजार क्विटल सहुलियत मूल्यको चामल बिक्री गर्दै आएको थियो । यो वर्ष परिमाण घटाएर २ हजार क्विटल मात्र स्वीकृत भएको छ । ‘पोहोर पोहोर बेलामा आइपुग्दैनथ्यो । अनि संस्थानले ल्याउने चामल पूरै बिक्री हुँदैनथ्यो,’ गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले भने, ‘खपत घटेको देखिएपछि कोटा कटौती गरेछन् । चाहिने बेलामा पठाए सबै बिक्छ, कोटा घटाउनुपर्ने थिएन ।’ सहुलियतको चामलको माग अत्यधिक भए पनि कोटा कटौती हुँदा सर्वसाधारण मर्कामा परेको उनले बताए । चाडपर्वका बेला चामलको निकै माग हुँदा पनि पाउन मुस्किल पर्दै आएको उनले सुनाए । हिउँदमा चामलको अत्यधिक माग हुने भए पनि आर्थिक वर्षको अन्तिममा हतार–हतार चामल ढुवानी हुने गरेको उनले बताए । सहुलियतको चामल एक हजार क्विटल कटौती गर्दा उत्तरी क्षेत्रमा खाद्य संकट हुने र सर्वसाधारणले महँगो मूल्य तिरेर भात खानुपर्ने बाध्यता रहने उनले सुनाए ।


असारमा ढुवानीको ठेक्का आह्वान भए पनि मंसिरको अन्तिममा मात्र ढुवानी सुरु भएको छ । माछीखोला डिपोमा पुर्‍याइएको ६ सय क्विटल चामल गोदाममा राख्न नपाई बिक्री भएको छ । ल्होसारका बेला सिर्दिवासका बासिन्दाले भने सहुलियतको चामल पाउन सकेका छैनन् । सिर्दीबास डिपोलाई लगिएको चामलसमेत माछीखोलामै बिक्री भएको खाद्य संस्थानले जनाएको छ । असारमा ठेक्का आहवान गरिए पनि विगतका वर्षहरूदेखि नै मंसिर वा पुसमा मात्रै ढुवानी सुरु हुने गरेको छ । ‘माग अत्यधिक भए पनि ढुवानी गर्नै ढिला भएको छ,’ खाद्यसंस्थानका निमित्त प्रमुख मोहनप्रसाद बजगार्इंले भने, ‘पुर्‍याउनेबित्तिकै बिक्री भइहाल्छ ।’


प्रकाशित : पुस २१, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?