१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ढाका व्यापार मेलामा नेपाली उत्पादन

पर्वत पोर्तेल

ढाका (बंगलादेश) — बंगलादेशको राजधानी ढाकामा सुरु अन्तर्राष्ट्रिय व्यापार तथा प्रवद्र्धन मेलाको स्टलमा केही नेपाली वस्तु पनि देख्न सकिन्छ । नेपाली वस्तुको व्यापार वृद्धिका साथै बंगलादेशमा यसको सम्भावनाको खोजी गर्न सरकारको प्रत्यक्ष संलग्नतामा मेलामा नेपाली उत्पादनहरू समावेश गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाली उत्पादनको प्रवद्र्धनमा लगानीसमेत गरेको हो । 

ढाका व्यापार मेलामा नेपाली उत्पादन

मूलत: बंगलादेशमा नेपाली वस्तुको माग व्यापक छ । नजिकका छिमेकी मुलुकहरू चीन र भारतपछिको निकट मानिने बंगलादेशमा मागअनुसार नेपालले वस्तु निर्यात गर्न सकिरहेको छैन । ‘सरकारी लगानी गरेर व्यवसायीहरूलाई व्यापार प्रवद्र्धनमा बोलाइएको हो,’ बंगलादेशस्थित नियोग उपप्रमुख धनबहादुर ओलीले भने, ‘नेपालबाट हामी प्रशस्त सामान पठाउन सक्छौं, किनिदेऊ भनेर बंगलादेश भन्न पनि सकिरहेका छैनौं ।’ ओलीका अनुसार बंगलादेशी आयातकर्ता र नेपाली निर्यातकर्ताहरूबीच ‘बी टु बी मिटिङ’ पनि गर्ने राजदूतावासको योजना छ ।

ओलीका अनुसार नेपाली उत्पादनहरूप्रति बंगलादेशमा सकारात्मक धारणा प्रशस्त छ । नेपाली सामान राम्रो, सस्तो र गुणस्तरीय हुन्छ भन्ने कुरामा उनीहरू ढुक्क छन् । नेपाल विश्वमै धेरै अलैंची उत्पादन गर्ने मुलुकमा पर्छ । ‘तर, बंगलादेशमा आउने अलैंची नेपालको हो भन्ने कुराप्रति यहाँका व्यवसायी र सर्वसाधारण बेखबर छन्,’ ओली भन्छन्, ‘अलैंचीको मूल उत्पादक नेपाल हो भन्ने कुरा बताउन सकिएको छैन ।’ त्यही भएर सरकारले यसपटक चिया, अलैंची, अदुवा, जडीबुटी, पस्मिना र नेपाली हस्तकलासहित नेपाली तरकारीजन्य वस्तु प्रवद्र्धनका लागि व्यापार मेलामा राखेको छ ।

नेपाल र बंगलादेशबीच दुई दशकयता २८/३० मिलियन डलरको मात्रै व्यापार भएको देखिन्छ । निकासी कम छ । बंगलादेश ब्यालेन्समा छ । नेपाली व्यापार बर्सेनि घाटामा छ । सन् १९९६ देखि फुलबारी–बंगलाबन्ध मार्गबाट बंगलादेशसँगको व्यापार सुरु भएको हो । बंगलाबन्धदेखि करिब ५५ किलोमिटरको दूरीमा पर्ने पञ्चगढमा बंगलादेशको बन्दरगाहसम्म ब्रोडगेज रेल्वे लाइन जोडिसकेको छ ।

चाँडै अन्तर्राष्ट्रिय पोर्टमा रेल्वे कनेक्सनको सम्भावना छ । नेपाली सामानहरू यो बाटो हुँदै तेस्रो मुुलुकमा निर्यात गर्न सक्ने सम्भावना बढी छ । ‘चटगाउँ–मोङलापोर्टसम्म रेल जोडियो भने हामीलाई यो बाटो पनि सहज हुन सक्छ,’ ओलीले भने ।

बंगलादेशस्थित नेपाली राजदूत डा. चोपलाल भुसालले नेपाली वस्तुहरूको बिक्री वितरणका लागि बंगलादेश ठूलो बजारका रूपमा रहेको बताउँदै यहाँ कस्ता वस्तुहरूको माग छ ? बढी सम्भावना कुन वस्तुको छ ? भन्ने कुरामा व्यवसायीहरूले चासो देखाउनुपर्ने बताए । ‘हामीले व्यापारको सम्भावनाको खोजी गरिदिने हो,’ भुसालले भने, ‘व्यापारको सुरुआत नेपाली व्यापारीहरूबाटै हुन जरुरी छ ।’

प्रकाशित : पुस २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?