कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काभ्रेका दुई ग्यास उद्योगलाई उत्पादनमा रोक

जिल्लाका ५ वटै ग्यास उद्योग कानुन र मापदण्डविपरीत सञ्चालन

काभ्रे — नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह (एनएस) प्राप्तिको प्रकृया नै नथालेका २ ग्यास उद्योग (बोटलिङ प्लान्ट)लाई उत्पादन नगर्न निर्देशन दिएको छ । 

काभ्रेका दुई ग्यास उद्योगलाई उत्पादनमा रोक

अनुगमन टोलीले बनेपास्थित चण्डेश्वरी र सूर्य ग्यास उद्योगलाई कागजपत्र पेस नगरेसम्म बोटलिङ रोक्न निर्देशन दिएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए । ‘भरिएका सिलिण्डर बिक्री गरेर थप बोटलिङ नगर्न निर्देशन दिएका छौँ,’ निर्देशक उपाध्यायले भने, ‘३ दिनभित्र आवश्यक कागजपत्रसहित प्रकृया थाल्न भनेका छौँ, अझै अटेर गरे कारबाहीको लागि आयल निगम र जिल्ला प्रशासन कार्यालयलाई लेख्छौँ ।’सरकारले २०७३ कार्तिक २९ मा राजपत्रमा सूचना निकालेर गुणस्तर चिह्न लिनुपर्ने बताएपनि ती उद्योगले अटेर गर्दै आएका थिए ।


गुणस्तर चिन्हको लागि निवेदन दिएर पनि पाउन नसकेको बनेपास्थित सगरमाथा ग्यास उद्योगलाई आलटाल गर्नुको कारणसहितको स्पष्टीकरण सोधेको उपाध्यायले जानकारी दिए । मापदण्ड र कानुनविपरीत केही उद्योगले सेफ्टी भल्व समेत आफैंले मर्मत गरेर बजारमा पठाएको पाइएको अनुगमन टोली प्रमुख उपाध्यायले बताए । काभ्रेमा रहेका गौरीशंकर ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगमा पनि अनुगमन गरिने विभागले जनाएको छ ।

काभ्रेका ५ वटै ग्यास उद्योग प्रचलित कानुन र मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । बनेपा-४ स्थित सगरमाथा ग्यास उद्योग र बनेपा १० स्थित सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योगको दूरी करिब ३ सय मिटर मात्रै छ । प्राय: एकै व्यक्ति सञ्चालक रहेको सूर्य र चण्डेश्वरी ग्यास उद्योगको त पर्खाल नै एउटै छ । ३ वटै ग्यास उद्योगमा आपतकालीन सुरक्षा संयन्त्र प्रभावकारी छैन । ती सबै उद्योगमा छुट्टै अग्नी नियन्त्रक छैनन्, उद्योग ‘भगवान भरोसा’मा चलेका छन् ।

एकजना अपरेटर र फायर एक्स्टिङजुइजर बोतलको भरमा उद्योग धानिएको छ । प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा-१ (साविक टुकुचानाला ३) मा दर्ता भएको उग्रचण्डी ग्यास उद्योग इन्द्रशोभा प्रावि र बस्तीबाट ५ सय मिटरको दूरीमा छ । बनेपा-१३ मा रहेको गौरीशंकर ग्यास उद्योग पनि लापारबाहीपूर्ण तरिकाले चलेको प्रशासनको अनुगमनको क्रममा पाइएको थियो ।

प्रकाशित : पुस २१, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?