मकैको बिउमा गुल्मी आत्मनिर्भर

वार्षिक १ सय ८० टन बिउ बिक्री, ७ प्रकारका बिउ
घनश्याम गौतम

गुल्मी — किसान आकर्षित भएपछि मकैको बिउमा जिल्ला आत्मनिर्भर बनेको छ । कृषि सहकारी र बिउ उत्पादन समूहले मकैसहित धान, गुहँ, बोडीलागयतका खाद्यान्न बालीका बिउ व्यावसायिक उत्पादन गर्दै आएका छन् ।

मकैको बिउमा गुल्मी आत्मनिर्भर

झन्डै ८५ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ३२ हजार ८ सय ३० हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ । सबैभन्दा बढी जमिन २३ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुँदै आएको छ । त्यसका लागि १ सय २० टन मकैको बिउ आवश्यक पर्नेमा जिल्लामा ३ सय २ मेट्रिक टन उत्पादन हुन थालेको हो । किसानले वार्षिक झन्डै १ सय ८० मेट्रिक टन बिउ बिक्री गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बताए ।


‘हामी मकैको बिउ उत्पादनमा आत्मनिर्भर बनेका छौं,’ उनले भने, ‘जिल्लामै ७ प्रकारका बिउ उत्पादन भैरहेका छन् ।’ जिल्लामा खपत भएर बाँकी बिउ अर्घाखाँची, पाल्पा, सुर्खेत, तनहुँ, सल्यानलगायतका जिल्लातर्फ जाने गरेको उनले बताए । किसानले देउती, मनकामना ३, रामपुर कम्पोजिट ९, मनकामना ६, रेसुंगा कम्पोजिट, गुल्मी २, मनकामना ५ र अरुण २ नामका मकैका बिउ उत्पादन गर्दै आएका छन् । तीमध्ये रेसुंगा कम्पोजिट र गुल्मी २ जिल्लामै विकास गरिएका बिउ हुन् ।


बिउ उत्पादनका लागि कार्यालयले पुर्कोटदह, थानपती, बम्घा, रेसुंगा नगरपालिका, गौंडाकोट, भनभने, हर्दिनेटा, दरबारदेविस्थान र दिगामलाई विशेष पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम गर्दै आएको छ । त्यसमा किसानका लागि उन्नत बिउबिजन कार्यक्रमले सहयोग गरिरहेको कृषि प्रसार अधिकृत रणबहादुर महतोले बताए । महतोका अनुसार सबैभन्दा बढी थानपतीको पानीटंकी जैविक बहुउद्देश्यीय कृषि सहकारीले १७ हेक्टर क्षेत्रफलमा वार्षिक ३० टन बढी मकैको बिउ उत्पादन गर्दै आएको छ ।


सहकारीकी अध्यक्ष दुर्गा ज्ञवालीका अनुसार उनीहरूले मनकामना ३, मनकामना ६ र रामपुर कम्पोजिट ९ उत्पादन गर्दै आएका छन् । ‘हामीले गत वर्ष प्रतिकिलो ५२ रुपैयाँका दरले २१ क्विन्टल बिउ बिक्री गर्‍यौं,’ उनले भनिन्, ‘यो वर्ष ५ हेक्टर थप गरेर १७ हेक्टरमा मूल बिउ नै उत्पादन सुरु गरेका छौं ।’ बिउ उत्पादन गर्ने गरेका किसानलाई राष्ट्रिय मकै बाली कार्यक्रम रामपुर चितवनले पनि सहयोग गर्ने गरेको छ । थानपतीमा उत्पादन भएको बिउ पोखराको लुम्लेसहित पाल्पा, स्याङ्जा, गोरखा, सल्यानलगायतका जिल्लामा पुग्ने गरेको छ ।


बम्घाको सिजर्नशील बहुउद्देश्यीय महिला कृषक सहकारीले वार्षिक २५ मेट्रिक टन, पुर्कोटदहको कंकेदेउराली मकै बिउ उत्पादन कृषक सहकारीले २३ मेट्रिक टन उत्पादन गर्ने गरेका छन् । जिल्लामा १० मेट्रिक टनभन्दा बढी बिउ उत्पादन गर्ने सहकारी १४ छन् । जिल्लाभर मकै, गहुँ, धान र लहरेबाली बोडीको बिउ उत्पादन गर्ने कृषि सहकारीको संख्या २८ पुगेको उद्योग वाणिज्य संघको लगानीद्वारका कार्यक्रम प्रमुख दामोदर पोखरेलले बताए । ‘बिउ उत्पादनमा अनुदान र प्राविधिक सहयोगले किसान आकर्षित हुन थालेका छन्,’ उनले भने, ‘बजारीकरणमा अझै केही समस्या छ ।’ किसान र व्यवसायीबीच समन्वय अभाव र पहुँचको समस्याले किसानले उत्पादन लागतअनुसार मूल्य नपाउने समस्या रहेको उनले बताए ।


छिमेकी देशमा सस्तो मूल्यमा बिउ उत्पादन हुनु, भौगोलिक विकटता, बजारको समस्या, उत्पादन लागत बढी हुनु, किसानलाई ज्ञान र सामग्रीको अभावले पनि उत्पादनमा असर गरिरहेको भए पनि बाली बिमा तथा उत्पादनमा आधारित अनुदानलगायत स्थानीय तहबाटै किसानमुखी कार्यक्रम तयार हुँदा उत्साह बढ्दै गएको कृषि कार्यालयका महतोले बताए । ‘केही चुनौती र समस्या छन्,’ उनले भने, ‘प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमले किसान थप उत्साहका साथ उत्पादनमुखी बन्दै छन् ।’ मकैसँगै धान, गहुँ, कोदो, तोरी, बढी सिमी, केराउको पनि बिउ उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस २३, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?