टरिगाउँ विमानस्थल फेरि सञ्चालन

दुर्गालाल केसी

दाङ — तुलसीपुरस्थित टरिगाउँ विमानस्थल आइतबारदेखि फेरि सञ्चालन भएको छ । पटकपटक चल्दै र बन्द हुँदै आएको उक्त विमानस्थल पुन: सञ्चालनमा आएपछि समिट एयरले सातामा दुईपटक उडान भर्ने भएको छ ।

टरिगाउँ विमानस्थल फेरि सञ्चालन

विमानस्थलमा आइतबार दिउँसो समिट एयरको जहाज आउँदा बाजागाजासहित स्वागत गरिएको थियो । जहाज हेर्न मानिसहरुको भीड लागेको थियो । तुलसीपुर उपमहानगरपालिकाको लामो प्रयासपछि जहाज सञ्चालनमा आएको हो । दंगाली जनताको चाहना र मागअनुसार जहाज सञ्चालनमा ल्याएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । अब केही समय सातामा दुईपटक, त्यसपछि दैनिक एकपटक र अन्तमा दुईपटक उडान गर्ने योजना रहेको उनले सुनाए । उनका अनुसार हरेक आइतबार र शुक्रबार उडान हुने छ । दाङ–काठमाडौं ६ हजार ८ सयदेखि ७ हजार २ सयसम्म भाडा तोकिएको छ ।


जिल्लामा टिकट बुकिङ र व्यवस्थापनको जिम्मा उपमहानगरपालिकाले लिएको उनले जानकारी दिए । पाण्डेले विमानस्थल सञ्चालन गर्ने कुरा चुनावको मुख्य एजेण्डा बनाएका थिए । चुनावमा जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न पाउँदा गर्वको अनुभूति भएको उनले बताए । जहाजमा नगर प्रमुख पाण्डेसँगै बिनाविभागीयमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा, एमाले नेता प्रकाश ज्वालालगायत पनि आएका थिए । जहाजको नियमिततासँगै अब दाङको विकासमा टेवा पुग्ने महराले बताए । दाङमा सुविधाजनक विमानस्थल हुँदा पनि नियमित जहाज सञ्चालन हुन नसक्नु दुखद् भएको बताउँदै अब नियमित गर्न निरन्तर पहल गरिने उनले बताए ।


२०६६ मंसिर १ गते यात्रु नभएको भन्दै वायु सेवा निगमले एक्कासी उडान रोकेको थियो । २०११ सालमा स्थापना भएको विमानस्थलमा २०१४ देखि नियमित उडान हुन थालेको थियो । २०५१ असोजमा बन्द भएको विमानस्थल २०५९ मा मात्रै खुलेको थियो । २०५९ मा केही समय चलेर फेरि बन्द भएको थियो । केही वर्षअघि तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा गोमा एयरले केही समय उडान गरेको थियो । इन्धन डिपो नभएका कारण नियमित उडानमा समस्या भएको एयरलायन्स कम्पनीहरुको भनाइ छ ।


प्रकाशित : पुस २३, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?