कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जुट मिलको उत्पादन फागुनदेखि

बन्द रहेको मिल डेढ महिनाअघि सञ्चालनमा आए पनि बोरा उत्पादन गर्न अझै २ महिना लाग्ने

विराटनगर — विराटनगर जुट मिल्सले आगामी फागुनदेखि उत्पादन निकाल्ने भएको छ । बन्द रहेको मिल डेढ महिनाअघि सञ्चालनमा आए पनि बोराको उत्पादन गर्न अझै दुई महिना लाग्ने प्राविधिकले जनाएका हुन् । 

जुट मिलको उत्पादन फागुनदेखि

डेढ महिनाअघि पुन: सञ्चालनमा आएको जुटमिल सञ्चालन धिमा गतिमा छ । यही गतिमा उत्पादन गर्दा तयारी बोरा निकाल्न मिललाई अझै थप दुई महिना लाग्ने भएको हो । मिलमा रहेका ४५ वटा मेसिनमध्ये दुईवटा मात्र सञ्चालनमा छन् । हालसम्म जुट प्रशोधनबाट सुतली बेर्ने प्रक्रिया ‘कोप’ सम्म मात्र आइपुगेको छ । ‘अल रोल’ नामक उपकरणबाट बिमा तयारी भएर लुम मेसिनमा पुगेपछि अन्तिम रूप दिएर कटिङ गर्ने बेलासम्म पुगेर बोरा निस्कन अझै दुई महिना लाग्ने प्राविधिक बताउँछन् । फागुन तेस्रो सातासम्ममा उत्पादन आउन सक्ने उनीहरूले जनाए । मिलले उत्पादन गरेका बोरा बजारमा पुग्न अझै केही समय लाग्ने भएको छ ।


मंसिर १० बाट मिल सञ्चालन गरिएको हो । हाल ४० मजदुरले काम गरिरहेका छन् । मिलले हालसम्म भारतबाट ७५ टन कच्चा जुट खरिद गरी ल्याएको छ । प्रशासन अधिकृत तारानाथ तिमल्सिनाले मिल चल्न सरकारको सहयोग चाहिने बताए । ‘हामीले चल्न सक्छ भन्ने देखाएका छौं,’ उनले भने, ‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएर भरथेग गर्नुपर्छ ।’

०७१ भदौ १९ बाट ठेक्कामा लिएको भारतीय कम्पनीले चलाउन नसकेर मिल बन्द गरेको हो । रानी बजारका ७४ वर्षीया श्रीप्रसाद साहले स्वार्थ नराखी यो मिललाई सञ्चालन गर्नुपर्ने बताए । ‘यो मिल चलाउन सफा नियत भएका व्यक्ति हुनुपर्छ,’ उनले भने, ‘सम्पत्ति देखेर मात्रै आउनेले चलाउन सक्दैनन् ।’ जुन बेलासम्म यो मिल चलेको थियो, त्यसबेला गुल्जार रानी बजार बन्द भएसँगै उजाड भएको छ ।


जुट मिल्सका प्रबन्धक नीलहरि काफ्लेका अनुसार जुटको उत्पादनका लागि आवश्यक ब्याचिङ आयल अभावमा समस्या भएको छ । ‘उक्त आयल भारतबाट ल्याउन कोटा लिनुपर्ने भएकाले त्यसको प्रक्रियामा छौं,’ उनले भने ।


हाल ७/८ टन दैनिक उत्पादन क्षमतामा सञ्चालन भइरहेको मिललाई फागुनदेखि दैनिक २० टन उत्पादनको तयारीमा लागेको उनले जनाए । ‘सेयर सदस्यको ऋण सहयोगमा मिल सञ्चालन गरिएको छ,’ उनले भने, ‘मिल सञ्चालनमा पुँजीको समेत अभाव रहेकाले त्यसको व्यव्स्थापनमा लागेका छौं ।’ हाल ३ करोडको लागतमा सञ्चालन भएको मिल्समा थप २ करोड रुपैयाँको व्यवस्थापन गरेर पूर्ण रूपमा सञ्चालन गर्ने काफ्लेले बताए ।

प्रकाशित : पुस २६, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?