२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

७ अर्बको पूर्वाधार निर्माण सुस्त

शाहीमान राई

पाँचथर — पूर्वी पहाडका सातवटा जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माण आयोजनाहरू सुस्त छन् । सरकारी नीति, झन्झटिलो प्रक्रिया र ठेकेदारको लापारबाहीको कारण अर्बौं रुपैयाँ लगानीका आयोजना निर्माणमा ढिलाइ भइरहेको सरोकारवालाले गुनासो गरेका छन् । 

७ अर्बको पूर्वाधार निर्माण सुस्त

डेनमार्कको करिब ७ अर्ब रुपैयाँ सहयोगमा सरकारले सन् २०१५ देखि चार वर्षका लागि लागू गरेको उन्नति परियोजनाअन्तर्गत भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित भौतिक पूर्वाधार निर्माण आयोजनाहरू अलपत्र परेका छन् । आर्थिक प्रवद्र्धनका निम्ति उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गत सात जिल्लामा चिया, अलैंची, अदुवा र दुग्ध व्यावसाय प्रवद्र्धन गर्न मूल्य शृंखला, पूर्वाधार निर्माण र जवाफदेही व्यापारका लागि चुनौती बहस कार्यक्रम सञ्चालित छन् ।

सातवटै जिल्लामा सञ्चालित अधिकांश आयोजनाहरू ठेकेदारको लापारबाहीले अलपत्र छन् । ठेकेदार कम्पनीले टेन्डर हात पार्न अनुमानित बजेटभन्दा ४५ प्रतिशतसम्म घटाएर ठेक्का पारेका छन् । कम बजेटमा ठेक्का सम्झौता गरे पनि गुणस्तरीय निर्माण कार्य गर्न नसकेर घाटा लाग्ने भएपछि काम छाडेर भाग्ने गरेका छन् । ठेकेदारको हेलचेक््रयाइँ र सरकारी निकायको कमजोर व्यावस्थापनका कारण अर्बौं रुपैयाँ लगानीका आयोजना अलपत्र छन् ।

उन्नति परियोजनाले सडक र पुल निर्माणका लागि इलाममा ६४ करोड, पाँचथरमा ३४ करोड ८७ लाख, भोजपुरमा १६ करोड, संखुवासभा २९ करोड, धनकुटामा २३ करोड ५० लाख, तेह्रथुममा २८ करोड र ताप्लेजुङमा १४ करोड ३९ लाख रुपैयाँ गरी २ अर्ब ९ करोड ७६ लाख रुपैयाँ लगानीमा ३० वटा लामा–छोटा सडक र दुईवटा पुल निर्माणाधीन रहेको जिल्ला प्राविधिक कार्यालयहरूले जनाएका छन् । टेन्डर प्रक्रियामा घटाघटमा बाँकी रहेको रकमसमेत लगानी गर्न सक्ने भए पनि परियोजनाको म्याद गुज्रिन लागेकाले निर्माण कार्यमा रकम खर्च गर्न प्रक्रियागत समस्या छ । अनुदान रकम खर्च गर्न नसकेपछि सडक ग्राभेल तथा स्तरोन्नति आयोजना लथालिंग हुने अवस्थामा छन् । अधिकांश आयोजनाको सम्पन्न गर्नुपर्ने सम्झौताको म्याद कात्तिकमा सकिएपछि समय थप गरिएको छ ।

भोजपुरमा निर्माणाधीन टक्सार–कोट–गोगने–लेखर्क पान्धारे ४६ किलोमिटर कृषि सडक ग्राभेल तथा स्तरोन्नति आयोजना ठेकेदारको लापारबाहीले लथालिंग छ । सडक ग्राभेल, स्तरोन्नति तथा मर्मत सम्भारका लागि भन्दै भत्काएर भोजपुर–टक्सार गुम्बा सडक नबनाएपछि सवारी आवागमन अवरुद्ध छ । ठेकेदार एमके/वाईपी संयुक्त निर्माण कम्पनीले १२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी फाट्टफुट्ट निर्माण कार्य गरे पनि सडक ग्राभेल गर्ने मुख्य काम नगरेपछि ठेक्का करार रद्द गर्ने चेतावनीसहित पटकपटक पत्राचार गर्दासमेत ठेकेदारले बेवास्ता गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर लालु गिरीले बताए ।

अनुमानित लागत २० करोड रुपैयाँ रहेको सडक ग्राभेल गर्न ठेकेदार एमकेवाईपी कम्पनीले ४० प्रतिशत घटाएर १२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यसबाहेक तिवारी भञ्ज्याङ–च्यांग्रे ५ किलोमिटर र घोडेटार–होम्ताङ ५ किलोमिटर सडक ग्राभेल गर्न योजना छनोट भए पनि निर्माण कार्य नभएको प्राविधिक कार्यालयमा प्रमुख इन्जिनियर लालु गिरीले जनाए ।

पाँचथरमा ३४ करोड ८७ लाख रुपैयाँ लगानीमा लामो–छोटो दूरीका छवटा सडक ग्राभेल र पुल निर्माण आयोजना निर्माणाधीन छन् । फालेलुङ गाउँपालिका १ र २ मा काउले–एकतीन–मेमेङ सडक २६ किलोमिटर, सुम्निमा चोक–रानीटार १० किलोमिटर, यही सडकमा पर्ने मेमेङको खेवाथाम खोलामा सडक पुल, काउले–चरिभन्ज्याङ ७ किलोमिटर, लगानीमा सप्तमी–सराङडाँडा ८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति आयोजना निर्माणाधीन छन् । तर, ठेकेदारको लापारबाहीका कारण गति लिन नसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर जयराम श्रेष्ठले बताए । उनका अनुसार २५ करोड रुपैयाँ लागत अनुमान रहेको काउले–एकतीन सडक हेटौंडाको गौरी पार्वती मृत सञ्जीवनी कन्स्ट्रक्सन संयुक्त कम्पनीले ४३ प्रतिशत घटेर १५ करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, गुणस्तरीय काम गर्न नसकेर अलपत्र छाडेपछि स्थानीयबासी आक्रोशित छन् । काउले–एकतीन सडकको १५ करोड ३२ लाख रुपैयाँमध्ये २ करोड ९८ लाख ८० हजार, मेमेङको खेवाथाम सडक पुलको २ करोड १ लाख रुपैयाँमध्ये ६८ लाख ७६ हजार र सुम्निमा चोक–रानीटार सडक ८ करोड ५४ लाखमध्ये ७० लाख मात्र खर्च भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

संखुवासभामा चैनपुर–नुनढाकी २० किलोमिटर, हयाङखोला–तुम्बेपोम्बे १५ किलोमिटर सडक ग्राभेल आयोजना सञ्चालित छन् । संखुवासभामा समेत ठेकेदारको लापारबाहीले सडक ग्राभेल निर्माण कार्यले गति लिन नसकेपछि लगानी खेर जाने अवस्था रहेको उन्नति परियोजनाका इन्जिनियर खेमराज अधिकारीले बताए । उनका अनुसार चैनपुर–नुनढाकी २० किलोमिटर ग्राभेल गर्न १४ करोड रुपैयाँ लागत अनुमान रहेकामा कुन्सालिङ कन्स्ट्रक्सन कम्पनीले १० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अर्को १७ करोड रुपैयाँको लागत अनुमान रहेको हयाङखोला–तुम्बेपोम्बे १५ किलोमिटर ग्राभेल गर्न केसी एन्ड न्यौपाने खम्पथा निर्माण कम्पनीले १२ करोड रुपैयाँमा ठेक्का लिएर सम्झौता गरेर गुणस्तरीय काम नगरेको इन्जिनियर अधिकारीले बताए । संखुवासभामा ७ करोड रुपैयाँ लागत अनुमान रहेको मौला–देवीथान ८ किलोमिटर सडक टेन्डर भइसकेको र थप दुईवटा विस्तृत सर्वेक्षण पूरा भइसकेको इन्जिनियर अधिकारीले बताए ।

तेह्रथुममा उन्नति परियोजनाको लगानीमा सिधुवा–शुक्रबारे ९ दशमलव ५ किलोमिटर र चित्रे–फुलेक १० किलोमिटर गरी १९ दशमलव ५ किलोमिटर कृषि सडक निर्माणाधीन छन् । यी दुईवटा सडक ग्राभेल गर्न १३ करोड रुपैयाँ लागत अनुमान रहेकामा बिरुवा एपेक्स निर्माण कम्पनी संयुक्तले ९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । लागतभन्दा ३० प्रतिशत घटेर ठेक्का लिएर गुणस्तरीय काम गर्न नसकेपछि ठेकेदारलाई सम्झौताअनुसार काम गर्न दबाब दिएपछि निर्माण कार्यको गति सुस्ताएको जिल्ला प्राविधिक कार्यालय तेह्रथुमका प्रमुख इन्जिनियर भरतकुमार यादवले बताए । अर्को ३ करोड ३३ लाख रुपैयाँ लागत अनुमान रहेको सेर्मा–नेभोई साढे ५ किलोमिटर, ४ करोड ५० लाख रुपैयाँको चपरी चोक–छथर चागपा ८ किलोमिटर, ३ करोड ३० लाखको शुक्रबारे–सौर्यनी ५ किलोमिटर, ३ करोड ३० लाखमा लिखुवा–सिकिदिन ५ किलोमिटर र आङदिङ–ओयागजुङ सडक ग्राभेल गर्न लागेको प्रमुख इन्जिनियर यादवले बताए ।

धनकुटाको डाढेगौंडा–मारे–चानुवा–लेगुवा ३२ किलोमिटर सडक, लेगुवाखोलामा २२ मिटरको सडक पुल, चौकीडाँडा–फुलचौर ३ किलोमिटर र निगाले–उत्तरपानी ३ किलोमिटर सडक निर्माणाधीन छन् । डाढेगौंडा–मारे सडक ३२ किलोमिटर ग्राभेल गर्न २४ करोड रुपैयाँ लागत अनुमान रहेकामा लुम्बिनी एपेक्स वाईपी कन्स्ट्रक्सन कम्पनी संयुक्तले १८ करोडमा ठेक्का सम्झौता गरेर काम नगरेको जिल्ला प्राविधिक कार्यालय धनकुटाका प्रमुख इन्जिनियर प्रकाश चौधरीले बताए ।

चौकिडाँडा–फुलचौर ३ किलोमिटर ग्राभेल गर्न २ करोड रुपैयाँ लागत अनुमान रहेकामा १ करोड ९० लाख र २ करोड रुपैयाँको निगाले–उतरपानी ३ किलोमिटर सडक १ करोड ६० लाख र २ करोड रुपैयाँ लगानीमा लेगुवाखोलामा २२ मिटरको सडक पुल निर्माणाधीन छन् । सडक पुल निर्माण गर्न कुन्सासालिङ कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको छ । ठेकेदारहरूले अनेक बहाना गरेर निर्माण कार्य ढिलाइ गर्दा दातृनिकायको सहयोग रकम फिर्ता जाने सम्भावना बढेको इन्जिनियर प्रकाश चौधरीले जनाए ।

ताप्लेजुङमा ५ करोड रुपैयाँ लगानीमा निर्माणाधीन दोभान–दाहालगाउँ–हाङदेवा–डाँडाखर्क–जुटे १२ किलोमिटर सडक केही महिनाअघि तमोर नदीमा पुल भत्किएपछि निर्माण कार्य अवरुद्ध छ । ठेकेदार याक्थुङवा हिम्दुङ एन्ड थोकर संयुक्त कम्पनीले निर्माण सामग्री पुर्‍याउन गाह्रो हुने भएपछि काम गर्न छाडेका छन् । उक्त ठेक्का रद्द हुने सम्भावना रहेको उन्नति परियोजनाका इन्जिनियर अविन्द्र बस्नेतले बताए । उनका अनुसार दाहालगाउँ–खिम्दाङ–तेलोक–सिनाम १२ किलोमिटर सडक भने निर्माणाधीन छ । उक्त सडकको ९ करोड रुपैयाँ लागत अनुमान भए पनि ठेकेदार कम्पनीले ७ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उन्नति परियोजनाले नेवा खोलामा दोभान–दाहालगाउँ सडकमा दुई करोड १३ लाख रुपैयाँ लगानीमा २८ मिटर लामो सडक पुल निर्माणाधीन छ । उन्नति परियोजनाले ३ करोड रुपैयाँ लगानीमा थप सडक बसपार्क(छिपछिपे १३ किलोमिटर सडक ग्राभेल गर्न टेन्डर प्रक्रिया भइसकेको इन्जिनियर बस्नेतले बताए ।

उन्नति परियोजनाको मूल्य शृंखला र पूर्वाधार निर्माणको अधिकांश बजेट लगानी भएको इलाममा दुईवटा लामा र चारवटा छोटो दूरीका सडक निर्माणाधीन छन् । इलामको गाग्रेभन्ज्याङ–जितपुर–सिद्धिथुम्का सोयाक–चिसापानी ३३ किलोमिटर सडक ग्राभेल गर्न ३२ करोड रुपैयाँ अनुमानित लागत रहेकामा ठेकेदारले २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी ६० प्रतिशत निर्माण कार्य गरेको परियोजनाका सामाजिक तथा आर्थिकविज्ञ केशव सिलवालले बताए ।

पहिलो खण्ड दिवा निर्माण सेवाले ११ करोड र दोस्रो खण्ड याक्थुङहाङ बिरुवा निर्माण सेवाले संयुक्तले ११ करोड रुपैयाँमा ठेक्का लिएका थिए । अर्को फिक्कल–नयाँबजार २० किलोमिटर सडक ग्राभेल गर्न १९ करोड रुपैयाँ लागत भए पनि नागार्जुन कन्स्ट्रक्सन कम्पनीले १३ करोड रुपैयाँमा ठेक्का सम्झौता छ ।

सडक निर्माणमा ६० प्रतिशत निर्माणकार्य भएको इलाममा ८ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ । अन्य चारवटा सडक निर्माण प्रक्रियामा छन् ।

प्रकाशित : पुस २६, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?