पर्यटक तान्दै पूर्वी प्रदेश

पर्यटक आगमन बढेसँगै आर्थिक कारोबारमा वृद्धि 
स्थानीय प्रयासमै पर्यटनको विकास 
कान्तिपुर टिम

विराटनगर — सर्वोच्च शिखर सगरमाथादेखि कृषिले सुधारिएको जीवनशैली र जैविक विविधतायुक्त प्रदेश १ का जिल्लामा पर्यटकीय गतिविधि उत्साहजनक रूपमा बढेको छ । गाउँ–गाउँमा स्थानीयको प्रयासमा घरमै पर्यटकलाई खाना र बासको सुविधादेखि सांस्कृतिक पक्षसँग साक्षात्कार गराउने क्रम बढेको छ ।

पर्यटक तान्दै पूर्वी प्रदेश

पर्यटकीय गतिविधि र चहलपहल बढेसँगै ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानीमा पनि वृद्धि भएको छ । कृषिउपजले राम्रो मूल्य पाउन थालेका छन् । आन्तरिक र बाहय पर्यटकलाई आकर्षित गर्न बर्सेनि यसक्षेत्रमा महोत्सव आयोजना हुन थालेका छन् ।


खुम्बुमा चहलपहल

खुम्बुक्षेत्र हाल ‘अफसिजन’ मा छ । तीन वर्षयताकै उत्साहजनक पर्यटक भित्र्याएको खुम्बुमा चैतदेखि फेरि अर्को सिजन सुरु हुन्छ । गत मंसिरमा मात्र खुम्बुक्षेत्रमा ३ हजार ६ सय ७३ विदेशी पर्यटकले भ्रमण गरे ।


चालु आर्थिक वर्षको साउनमा ३ सय १५, भदौमा १ हजार ५ सय ९७, असोजमा ९ हजार ४ सय ८ र कात्तिकमा ११ हजार ३ सय ५१ पर्यटकले खुम्बुक्षेत्र भ्रमण गरेका थिए । यो तथ्यांक गत वर्षहरूको तुलनामा झन्डै दोब्बरले बढी हो । हाल जाडो सुरु भएकाले फाटफुट मात्र पर्यटक आइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।


नयाँ गन्तव्य

सोलुखुम्बुको पत्ताले क्षेत्रमा भने यतिबेलै पर्यटकीय मौसम सुरु हुन्छ । ‘पत्ताले’ नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । वर्षा र गर्मीमा बादलले हिमाल छेक्ने भएकाले पनि जाडो महिना लागेपछि पत्ताले सगरमाथा हिमशृंखला हेर्ने उत्तम गन्तव्य बनेको हो ।

दूधकुण्ड नगरपालिका ८ मा पर्ने पत्तालेमा हाल पनि पर्यटक आउने क्रम रोकिएको छैन । तर, यो गन्तव्य खुम्बुक्षेत्र जस्तो पदयात्राका लागि कम आउँछन् । धेरैजसो सडकमार्ग भएर आउने गरेका छन् । छोटो दूरीमै सगरमाथालाई सिधा आँखाले हेर्ने एक मात्र सहज गन्तव्य बनेकाले पनि पत्ताले पर्यटकीयस्थल बन्दै गएको हो ।


ओखलढुंगा–सोलुखुम्बु सडकखण्डमा पर्ने पत्तालेमा हाल दैनिक १ सयदेखि ३ सयसम्म आन्तरिक र बाहय पर्यटक आउने गरेका छन् । राजधानी काठमाडौंदेखि ९ घण्टामै आइपुग्न सकिने पत्ताले घुम्ने उपयुक्त मौसम नै मंसिरदेखि फागुनसम्म हो ।


३ हजार आसपासको उचाइमा अवस्थित पत्तालेसम्मका लागि ट्ेरकिङ कम्पनीले गाडी र मोटरसाइकल यात्राको प्याकेजसमेत बनाउन थालेका छन् । मकालु एडभेन्चर्स प्रालिले त ‘मोटरसाइकलबाटै सरर सगरमाथा’ भन्ने नारासहित विदेशी पर्यटकसहितको पत्ताले ट्रिपको प्याकेज सञ्चालन गर्दै आएको छ ।


पूर्वाधार हिसाबले पत्ताले दर्जनभन्दा बढी होटल छन् । हालै मात्र एटयाच सुविधासहितका होटल खुल्न थालेका छन् । पक्की घरसमेत बन्न थालेका छन् । ‘पाँच वर्षअघिसम्म यहाँ होटलको नाममा साना घरहरू मात्रै थिए,’ स्थानीय युवा बलबहादुर मगरले भने, ‘हाल दर्जनभन्दा बढी सुविधासहितका होटल बनेका छन् ।’


नयाँ गन्तव्यका रूपमा विकसित हुँदै गएकाले पर्यटकको तथ्यांक राख्ने प्रणालीको सुरुवात भइसकेको छैन । पर्यटक प्रवेशका लागि पनि कुनै शुल्क लाग्दैन । तर, ट्रेकिङ कम्पनीले पदयात्राका लागि रामेछापको जिरी हुँदै पिकेडाँडा भएर पत्तालेसम्मको लागि विदेशी पर्यटक ल्याउने गरेका छन् ।


पत्तालेका लागि खुम्बुमा झैं अनिवार्य विमानको प्रयोग पर्दैन । विमान चढेर आउन चाहनेले फाप्लु विमानस्थल प्रयोग गर्न सक्छन् । राजधानीदेखि एक यात्रुको १ हजार २ सय रुपैयाँसम्म भाडा लाग्ने गर्छ । टाटासुमो वा बस चढेर सजिलै पत्ताले आउन सकिन्छ ।


कोसीटप्पुको आकर्षण

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकहरू हत्तपत्त सोझै आइपुग्दैनन् । अन्यत्र ठोक्किँदै आइपुग्ने पर्यटक अघिल्लो वर्षहरूमा भएको बन्दलगायत कारणले कम आए । असुरक्षा र आन्दोलनको कारण कोसीटप्पुको पर्यटन व्यवसाय तीन वर्षदेखि लगातार घट्दै गएको तथ्यांकले देखाएको छ ।


टप्पुमा आर्थिक वर्ष ०७१/७२ मा ४ सय ४८ विदेशी र ८ हजार २ सय ७१ आन्तरिक पर्यटक आए । अर्को वर्ष ३ सय ३३ विदेशी र ८ हजार ९ सय ४ आन्तरिक पर्यटकले अवलोकन गरे । ०७३/७४ मा २ सय ५० विदेशी र ११ हजार २ जना आन्तरिक पर्यटक भित्रिए ।


आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार आन्दोलन र हडतालका कारण केही वर्षअघि आरक्षमा आउने विदेशी पर्यटक घटेको बताए । तर, यो वर्ष सुरुवातमै राम्रो संकेत देखिएकाले सिजन समाप्तिसँगै ५ सयको हाराहारी पर्यटक आउने उनले बताए । उनले भने, ‘यो वर्ष विदेशी पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ ।’


विदेशीहरूले आफूले भ्रमण गर्ने देशको विषयमा एक–दुई वर्षअघि नै योजना बनाउने भएकाले एक वर्ष कुनै पर्यटकीयस्थलमा समस्या परे त्यसले तीन वर्षसम्म असर राख्ने भएकाले कोसीमा पर्यटक घटेको साहले बताए । आन्तरिक पर्यटकमा भने त्यस्तो असर नहुने भएकाले संख्या बढेको उनले बताए ।


आरक्षमा सानाठूला गरी १२ होटलहरू छन् । जसमध्ये चारवटा होटल रिसोर्टले विदेशी पाहुनालाई समेत सुविधा दिएका छन् । टप्पुमा रहेका ५ सय २७ प्रजातिका चरा अवलोकन, विश्वमै दुर्लभ अर्ना र कोसीको अवलोकन गर्न विदेशी र आन्तरिक पर्यटकहरू आउने गरेका कोसी बर्ड वाचिङ क्याम्पका कुर्वान मन्सुरीले बताए ।


स्थानीय प्रयास प्रभावकारी

पहाडकी रानी उपनाम पाएको इलाममा पर्यटकीय आर्कषणका अनेकांै स्थान र विषय छन् । हरियाली चियाबारी डाँडा मात्र होइन दृश्यावलोकनका लागि अब्बल स्थान, झरना, सिमसार, विश्वमै दुर्लभ रेडपान्डालगायत जैविक विविधतायुक्त संस्कृति पर्यटकका लागि आर्कषण बन्ने गरेको छ ।


डेढ दशकअघि स्थानीयले पर्यटन विकासमा सक्रियता बढाएसँगै पर्यटक आगमनमा सुधार छ । स्थानीयको प्रयासमा दरिलो साथ दिने योजना नहुँदा भने सोचेअनुरूप काम हुन नसकेको सरोकारवाला बताउँछन् । बर्सेनि महोत्सव गरेर ग्रामीण पर्यटनको अभ्यास गरेका अन्तुबासीले १५ वर्षअघि गरेको मेहनत अनुसार भर्खर मात्र प्रतिफल चाख्न भ्याउँदै छन् ।


सूर्योदय दृश्यावलोकनका लागि उत्कृष्ट मानिने अन्तुडाँडासँगै लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपाखेरी, चियाबारीले सजिएका डाँडाकाँडा र कृषिबाट सुधारिएको जीवनशैलीले आकर्षण गर्ने गरेको छ । अन्तुमा पर्यटक आवगमन १० औं गुणा बढेको छ । तीन वर्षअघिसम्म जमुनाको ढापपोखरी पुग्दा बाँझो जमिन मात्र देखिन्थ्यो । तर, स्थानीयको निरन्तर प्रयासपछि हाल यो क्षेत्र ठूलो पोखरीका रूपमा विकास भएको छ । आर्थिक संकलनदेखि श्रमदानसम्म गरेर स्थानीयले यो स्थानको विकास गरेका छन् । जिल्लाकै अग्लो स्थान सन्दकपुरमा आन्तरिक पर्यटकको संख्या थपिँदै गएको छ । मावु र माइमझुवाका बासिन्दाको प्रयासले सडक सञ्जाल सहज बन्दै गएकाले सन्दकपुरलाई नेपालीले पनि गन्तव्यका रूपमा लिन थालेका हुन् । नेपाल, भारत र भुटानका अनेकन हिमाल देख्न सकिने सन्दकपुर धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ ।


चियाबारीले भरिएको कन्याम, रामसार क्षेत्रमा सूचीकृत जैविक, धार्मिक र सांस्कृतिक महत्त्वको माईपोखरीले पर्यटक आकर्षण गरेको छ । त्यसैगरी दृश्यावलोकनका लागि चर्चित, सिद्धिथुम्का, माङमालुङ, धार्मिकस्थल लारुम्बा, पाथिभरा, गजुरमुखी, जिल्लाकै अग्लो टोडे झरना, मावुथाम, रेडपान्डा पाइने, चोयाटार, दोबाटे, हाँगेथाम, पाटेनागीजस्ता पर्यटकीय महत्त्वका स्थान छन् । ‘पर्यटन विकासका लागि हालसम्म गरिएका प्रयासबाट शिक्षा लिँदै सबै सरोकारवाला एक भएर लाग्नुपर्छ,’ पर्यटनमा सरोकार राख्ने महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख युद्ध वैद्यले भने ।


ग्रामीण अर्थतन्त्रमा भरथेग

तेह्रथुमको पर्यटन व्यवसायले गति लिएको छ । वसन्तपुरदेखि ताप्लेजुङको दोभानसम्मको क्षेत्र यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छ । वसन्तपुरको पदमार्ग भएर कञ्चनजंघा आधार शिविरसम्मका पदमार्ग विदेशी पर्यटकले खचाखच छन् । वसन्तपुरदेखि गुफापोखरीसम्मको क्षेत्रमा भने आन्तरिक पर्यटक बढेका छन् ।


तीनजुरे, कालापानी, पटेकडाँडा, हलीमेला, हयात्रुङ झरना, वसन्तपुरलगायत क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको आधार शिविरतर्फ जाने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । मौसम खुलेकाले पर्यटक आगमन बढेको लालीगुराँस होटलका सञ्चालक उदय तामाङले बताए ।


एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले क्षेत्रमा यो बेला गुराँस फुल्ने मौसम सुरु हुन लागेकाले विदेशी पर्यटकको संख्या बढेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्ष्मण तिवारीले बताए । जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो क्षेत्र परिवारसहित घुम्न अत्यन्तै राम्रो रहेको बेलायतबाट आएका डेभले बताए । उनीहरू काठमाडौंमा रहेको वाटर बाई नेचर ट्राभल्समार्फत चौथोपटक यहाँ आएका हुन् । शान्ति सुरक्षाको अवस्थामा सुधार आउँदै गएको र पूर्वाधारसमेत निर्माण भइरहेकाले पर्यटक लोभिन थालेको पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख अभयकुमार गुप्ताले बताए ।


तीनजुरे, मिल्के र जलजले क्षेत्रलाई गन्तव्य बनाएर आउने पर्यटकहरू काठमाडौंबाट विराटनगरसम्म हवाई मार्गबाट र त्यहाँबाट वसन्तपुरसम्म भाडाका सवारीमार्फत आउँछन् । कतिपय पर्यटक भने काठमाडौंबाट सोझै सवारीमार्फत वसन्तपुरसम्म आउँछन् । पर्यटक बढेपछि वसन्तपुरमा रहेको याक होटलका सञ्चालक पेम्बा छिरिङ भोटियाले ५ करोड रुपैयाँ लगानीमा सेवा विस्तार गरेका छन् ।


मकालुमा घटे

विश्वको पाँचौं हिमशिखर मकालु हिमाल आरोहरणका लागि आउने पर्यटकको संख्या घटेको छ । भूकम्पपछि पर्यटक आउन छाडेको मकालु बरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा १ हजार ५ सय ७६ विदेशी पर्यटक भित्रिएका थिए । यो वर्षको ६ महिनामा ४ सय २५ जना मात्रै पर्यटक भित्रिएको तथ्यांक मकालु बरुण राष्ट्रिय निकुञ्जमा छ ।


संखुवासभा र सोलुखुम्बु जिल्लामा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएका कारण यहाँ आउने बाहय र आन्तरिक पर्यटकको तथ्यांक निकुञ्जले राख्ने गरेको रेन्जर हिमाल पाठकले बताए । पर्यटकका लागि सेवा सुविधा र पर्याप्त सुरक्षा हुन नसक्दा पर्यटकको संख्यामा कमी भएको हो ।


विदेशी पर्यटक निकुञ्जको जैविक विविधता अध्ययन, विश्वकै होचो ४ सय ५७ मिटर उचाइको अरुण उपत्यकाको भ्रमण र मकालु हिमालय आरोहणका लागि आउने गरेका छन् । पर्यटकको संख्यामा कमी हुँदा स्थानीयस्तरमा भएका पर्यटन व्यवसाय धाराशायी बन्दै गएको नुमका दुर्गाबहादुर पराजुलीले बताए ।


निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा कम पर्यटक ०६२/०६३ मा आएका थिए । त्यसबेला मकालु क्षेत्रमा ७८ पर्यटक मात्र भित्रिएका थिए । त्यसैगरी ०७२/७३ मा ८ सय २८ र ०७१/ ७२ मा १ हजार २ सय ७० पर्यटक आएका थिए । मकालु हिमाल आरोहणका लागि अमेरिका, बेलायत, जर्मनी, जापान, भारतलगायतका दर्जनौं देशबाट पर्यटकहरू आउँछन् ।

(कुम्भराज राई, वेदराज पौडेल, विप्लव भट्टराई, चन्द्र कार्की र दीपेन्द्र शाक्यको सहयोगमा)

प्रकाशित : पुस २८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?