चेम्बरमा पुन: श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — चेम्बर अफ कमर्सको अध्यक्षमा पुन: राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्बरको ६७ औं वार्षिक साधारणसभाबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठको पछिल्लो ‘इनिङ’ को यो दोस्रो कार्यकाल हो ।

पहिले अध्यक्ष भएर केही समय बाहिर बसेका श्रेष्ठ अघिल्लो कार्यकालदेखि नेतृत्व सम्हाल्न थालेका हुन् । अध्यक्ष श्रेष्ठसँगै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल, उपाध्यक्ष (वाणिज्य) कमलेशकुमार अग्रवाल, उपाध्यक्ष (उद्योग) महेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष (जिल्ला, नगर) दीपककुमार मलहोत्रा निर्वाचित भएका छन् । उपाध्यक्षमा (वस्तुगत) इच्छाराज तामाङ, उपाध्यक्ष (संस्थागत) नरेश श्रेष्ठ र उपाध्यक्ष (विशिष्ट मानार्थ) भाष्करराज राजकर्णिकार चुनिएका छन् ।
साधारणसभाबाट उद्योगतर्फ लोकमान्य गोल्छा, राजेन्द्रप्रसाद अर्याल, अञ्जान शाक्य, दीपक श्रेष्ठ, सुमितकुमार अग्रवाल सदस्यमा निर्वाचित भएका छन् । वाणिज्यतर्फ देवेन्द्रभक्त श्रेष्ठ, नीलकण्ठ चौलागाई, सन्तोषकुमार पाण्डे, किशोरकुमार अग्रवाल, किशोरकुमार अग्रवाल, नवराज ढकाल, राष्ट्रभूषण चाकुवजी सदस्यमा चुनिएका छन् । यस्तै राजु श्रेष्ठ, कैलाशचन्द्र गोयल, सुभासचन्द्र संघाई, दीपककाजी तुलाधर, मनोजकुमार केडिया, सुधीर मित्तल, अशोककुमार अग्रवाल, दीपेशरत्न तुलाधर पनि निर्वाचित भएको विज्ञप्तिमार्फत जनाइएको छ । मुलुकको संघीय संरचनाअनुसार चेम्बरले पनि सातै प्रदेशबाट प्रतिनिधि चयन गरेको जनाएको छ ।

Yamaha

प्रकाशित : पुस २९, २०७४ ०७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दरबार हाईस्कुल – मौलिकता मासिँदै

भत्काएर बनाउँदा जस्ताको तस्तै हुनेगरी डिजाइन दिएका थियौं तर त्यो डिजाइन एकाएक किन परिवर्तन गरियो ? – इ. सुरज खनाल
दामोदर न्यौपाने

काठमाडौँ — नेपालको पहिलो स्कुल दरबार हाइस्कुल भवनको भुईंचालोले दक्षिणतिरको भाग पूरै भत्कियो । पुरातत्त्वविदले भत्किएको भाग बनाउन सकिने र चर्किएको भाग रेक्ट्रोफिट गरेर बनाउन सकिने सुझाव दिए ।

रानीपोखरीस्थित दरबार हाईस्कुल ।

भत्काएरै बनाउनुपरे प्राचीन शैलीमा बनाउन सुझाव दिए । आर्किटेक्ट इन्जिनियरहरूको संस्था सोनाले दुई वर्षपहिले प्राचीन शैलीको नक्सा बनाएर बुझायो तर पुनर्निर्माण प्राधिकरणले त्यो नक्सा परिवर्तन गरेर मौलिक स्वरूप मासिने गरी नयाँ डिजाइनमा बनाउन अनुमति दिएको छ ।
पुनर्निर्माण प्राधिकरणले हाईस्कुलको पुनर्निर्माण बाह्य स्वरूप परम्परागत ढाँचामा रहने गरी यथाशीघ्र पुनर्निर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बुधबार बसेको सरोकारवालासहितको बैठकले यस्तो निर्देशन दिएको हो । यसको पुनर्निर्माण चीनले गर्ने भएको छ । ‘बाहिरी स्वरूप यथावत् देखिने गरी पुनर्निर्माण गर्ने तयारी भएको हो,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने । सम्पदा नासिने गरी अचानक भएको निर्णयको ‘साइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)’ ले आपत्ति जनाएको छ । इन्जिनियर प्रज्ज्वल हाडाको नेतृत्वमा सोनाले यसको विस्तृत डिजाइन तयार पारेर २०१६ मै बुझाएको थियो ।
हाडाले तयार पारेको डिजाइनमा ‘न्यु क्लासिकल आर्किटेक्ट’ अनुसार राणाकालको जस्तै पर्खाल र काठबाट पुनर्निर्माण गर्ने गरी डिजाइन गरिएको थियो । स्कुलमा २०२८ सालदेखि पुरातत्त्व विभागको अनुमतिमै कंक्रिट हाल्दै आएको हाडाले जानकारी दिए । ‘भत्काएर बनाउँदा जस्ताको तस्तै हुनेगरी डिजाइन दिएका थियौं,’ सोनाका सहसचिव आर्किटेक्ट इन्जिनियरसुरज खनाल भन्छन्, ‘तर त्यो डिजाइन एकाएक किन परिवर्तन गरियो ? हामी छक्क परेका छौं ।’
अलि खर्चिलो भए पनि परम्परागत शैलीबाट भवन बनाउन सकिने उनले बताए । राणकालीन शैलीमा बनाउँदा पनि भवन बलियो हुने उनले बताए । ‘चुना, सुर्की, काठलगायत प्राचीन सामग्री राखेर बनाएका भवन बलिया हुन्छन्,’ उनी भन्छन्, ‘बलिया हुँदैनन् भने किन हुँदैनन् भनेर अध्ययन हुनुपर्‍यो । सम्पदा जोगाइराख्नु राज्यको दायित्व हो ।’
प्राधिकरणले विद्यालयको पुनर्निर्माण कार्य अविलम्ब सम्पन्न गर्न शिक्षा मन्त्रालय, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरिदिने र शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले चिनियाँ पक्षसँग आवश्यक समन्वय र सहजीकरण गरी यथाशीघ्र पुनर्निर्माण कार्य अघि बढाउने सहमति बैठकले गरेको छ । बैठकमा शिक्षा सचिव मधुप्रसाद रेग्मी, प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, निमित्त सचिव यमलाल भुसाल, सहप्रवक्ता डा. भीष्मकुमार भुसाल, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल, खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मा, अर्थमन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखाका उपसचिव युवराज पाण्डे, परराष्ट्र मन्त्रालयका चीन डेस्क हेर्ने उपसचिव कुमार राईलगायत सहभागी थिए ।
बैठकले अपांगमैत्रीसमेत हुने गरी भित्री संरचनामा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिनेखालका कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपतको समयमा तत्काल उद्धार गर्न सकिने र आवश्यक सुरक्षाका उपायसमेत सुनिश्चित गर्ने गरी भूकम्प प्रतिरोधी संरचना तयार गर्ने निर्णय गरेको जानकारी भुसालले दिए । दुई साताअघि काठमाडौं महानगरले स्कुलको पुनर्निर्माण गर्ने सम्बन्धमा आयोजना गरेको ‘जुरी’ बैठकमा मौलिकता मासेर आधुनिकीकरण गर्ने ड्रइङ डिजाइनको विरोध गरेको थियो । १० हजार ‘स्क्वायर फिट’ भन्दा बढीको नक्सा पास गर्नुपर्दा ‘जुरी’ मा छलफलका लागि लानुपर्ने व्यवस्था छ । जुरीमा आर्किटेक्ट इन्जिनियरको संस्था, स्ट्रक्चरल इन्जिनियरको संस्था, भवन विभाग, महानगरपालिकालगायतका इन्जिनियर सहभागी हुन्छन् । आर्किटेक्ट इन्जिनियरका तर्फबाट सोनाकी उपाध्यक्ष अञ्जु मल्ल प्रधान सहभागी भएकी थिइन् । उनले विरोध गरेपछि नक्साका विषयमा निर्णय हुन सकेको थिएन । ‘हामीले मौलिकता मास्ने निर्णय रोक्यौं भनेर मक्ख परेका थियौं,’ खनालले भने, ‘अहिले त ठीक उल्टो निर्णय पो आयो । पुरातत्त्व विभाग अनेक रूपमा सम्पदा मास्ने काममा उद्यत छ ।’
प्राधिकरणले बलियो बनाउन मौलिकता मास्ने निर्णय गर्नुपरेको जनाएको छ । ‘अत्यन्तै ठूलो संरचना बनाउनुपर्दा परम्परागत निर्माण सामग्री संकलन गर्न कठिन छ,’ भुसाल भन्छन्, ‘परम्परागत प्रविधिबाट हालको न्यूनतम शैक्षिक मापदण्ड र शिक्षण सिकाइ पूर्वाधारको आवश्यकता पूरा गर्न कठिन हुने देखिएकाले परम्परागत ढाँचामा आधुनिक प्रविधिको उपयोग गर्दै पुनर्निर्माण गर्ने सहमति भएको हो ।’
पुरातत्त्व विभागले दरबार हाईस्कुलको मात्रै परम्परागत शैली मास्न सहमति दिएको होइन । थापाथली दरबार, न्युरोडस्थित सेनाको दरबारलगायतमा पनि मास्न अनुमति दिएको थियो । जंगबहादर बेलायतबाट फर्केको दुई वर्षपछि आफ्ना नातागोता छोराछोरी पढाउन विसं २०१० सालमा स्कुल खोले । अंग्रेजी पढाउन बेलायतबाट दुई जना शिक्षक पनि झिकाए । स्कुलको सञ्चालन र सुपरीवेक्षण गर्ने जिम्मा रोसलाई दिइएको थियो । पहिलो प्रधानाध्यापक क्यानिङ थिए । उनी पनि बेलायती नागरिक थिए । यी दुवै नागरकिलाई जंगबहादुरले भारतबाटल्याए । त्यतिबेला भारत बेलायतको उपनिवेश थियो ।
स्कुल दरबारको दाखचोकको भुईंतलामा थियो । त्यही भएर स्कुललाई दरबार स्कुल भन्न थालियो ।

प्रकाशित : पुस २९, २०७४ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT